६ चैत्र २०८० मंगलबार
अन्तर्राष्ट्रिय

‘इरानी अस्त्र प्रणालीमा अमेरिकी साइबर हमला’

इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कर्पस्को रकेट तथा क्षेप्यास्त्र प्रणाली । तस्बिर : बिबिसी

वासिङ्टन – राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई आक्रमण गर्ने निर्णय फिर्ता लिएलगत्तै अमेरिकाले बिहीबार इरानी अस्त्र प्रणालीमा साइबर हमला गरेको अमेरिकाबाट प्रकाशित समाचारमा जनाइएको छ ।

अमेरिकी साइबर हमलाले इरानी रकेट तथा क्षेप्यास्त्र नियन्त्रण गर्ने कम्प्युटर प्रणालीलाई निसाना बनाएर तिनलाई विफल तुल्याइदिएको ‘वासिङ्टन पोस्ट’ पत्रिकाले जनाएको छ । अमेरिकी ड्रोनलाई गोली हानी खसाल्ने र अमेरिकी भनाइमा खाडीको जलक्षेत्रमा तेल ट्यांकहरुलाई आक्रमण गर्ने इरानी कदमविरुद्ध साइबर आक्रमण गरिएको ‘न्युयोर्क टाइम्स’ पत्रिकालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

विभिन्न समाचारसूत्रले अमेरिकी सञ्चारमध्यमलाई बताएअनुसार साइबर आक्रमण गर्ने योजना केही साताअघि नै बनाइएका थिए । ओमानको खाडीमा तेल बोक्ने ट्यांकरहरुलाई निसाना बनाउँदै आक्रमणहरु भएपछि त्यसो गर्ने सुझाव दिइएको विवरण बाहिरिएको छ । ती आक्रमणले अमेरिकी ड्रोन र खाडीमा ट्यांकरहरुलाई आक्रमण गर्ने इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कर्पस्ले प्रयोग गर्ने अस्त्र प्रणालीलाई निसाना बनाएको बताइएको छ । ‘वासिङ्टन पोस्ट’ र एपी समाचार संस्थाले बताएअनुसार साइबर आक्रमणले इरानी कम्प्युटर प्रणालीलाई काम नलाग्ने बनाइ दिएको छ । ‘न्युयोर्क टाइम्स’का अनुसार ती आक्रमणले कम्प्युटर प्रणालीलाई निश्चित अवधिको लागि अफ्लाइन अर्थात् सम्पर्कविहीन तुल्याइदिएको थियो ।

शनिबार अमेरिकी गृह मन्त्रालयले इरानले अमेरिकी कम्प्युटर प्रणालीमा साइबर आक्रमण गर्ने प्रयास गरिरहेको बताएको थियो । ‘वासिङ्टन पोस्ट’का अनुसार इरानले अमेरिकी जलसेनाका जहाजका कम्प्युटर प्रणाली ह्याक गर्ने अर्थात् अनधिकृत रूपमा प्रवेश गर्ने प्रयास गरिरहेको थियो ।अमेरिकाले गरेको भनिएको साइबर हमलाका कारण इरानी अस्त्र प्रणालीमा क्षति पुगे–नपुगेकोबारे भने स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन ।

इरानविरुद्ध अमेरिकाले विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ । इरानमाथिको प्रतिबन्ध महŒवपूर्ण भएको ट्रम्पको भनाइ छ । इरानलाई परमाणु अस्त्र बनाउनबाट रोक्नका लागि प्रतिबन्ध आवश्यक रहेको र तेहरानले कोर्स परिवर्तन नगरेसम्म प्रतिबन्ध कायम नै रहने ट्रम्पले जिकिर गर्दै आएका छन् । इरान र विश्वका छ शक्तिशाली राष्ट्रबीच सन् २०१५ मा भएको परमाणु सम्झौताबाट अमेरिकापछि हटेपछि अमेरिका र इरानबीच तनाव चुलिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको सम्झौता अपर्याप्त रहेको भन्दै गत वर्ष एकतर्फी रूपमा सो सम्झौताबाट हात झिकेका थिए ।

सम्झौताबाट हात झिकेलगत्तै अमेरिकाले इरानविरुद्ध प्रतिबन्ध लगाएको थियो । अमेरिकी प्रतिबन्धका कारण इरानले आर्थिक कठिनाइ खेपिरहेको छ । आणविक सम्झौतापछि आणविक कार्यक्रम रोकेको इरानले गत साता आफ्नो परमाणु अस्त्र कार्यक्रम अघि बढिरहने बताएको थियो । त्यहीबीचमा उसले गत बिहीबार मानवरहित अमेरिकी ड्रोनलाई खसालिदिएको थियो । आफ्नो हवाई क्षेत्रभित्र प्रवेश गरेकाले देशको अखण्डता जोगाउनका लागि अमेरिकी ड्रोन खसालेको तेहरानको दाबी छ । अमेरिकाले भने आफ्नो ड्रोन अन्तर्राष्ट्रिय हवाई क्षेत्रभित्रै उडिरहेको अवस्थामा तेहरानले खसालेको आरोप लगाइरहेको छ ।

ड्रोन खसालेपछि इरानमाथि हमला गर्न दिएको निर्देशन अन्तिम समयमा रोकेको बताएका अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार आफूले इरानसँग युद्ध नचाहने तर कुनै द्वन्द्व भएमा इरानलाई ‘सखाप पारिने’ चेतावनी दिएका थिए । इरानलाई सखाप पार्ने चेतावनी दिए पनि ट्रम्पले साइबर हमलाका विषयमा भने कुनै प्रतिक्रिया दिइसकेका छैनन् । शुक्रबार उनले इरानमा एक सय ५० जनाको ज्यान जाने जोखिम रहेको तथ्यांक जानकारी पाएलगत्तै आफूले गर्न लागेको परम्परागत सैन्य आक्रमणको योजनालाई अन्तिम समयमा रोकेको बताएका थिए । ट्रम्पले शनिबार आफू इरानसँग पुनः  वार्ता गर्नको लागि तयार रहेको बताएका थिए । 

प्रकाशित: ९ असार २०७६ ०३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App