७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

नेता किमले पाए ट्रम्पले पठाएको यस्ताे ‘गजबको पत्र’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको पत्र पढ्दै उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन। तस्बिर : एएफपी

सोल – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको व्यक्तिगत पत्र पाएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ।

ट्रम्पले पठाएको पत्रलाई किमले ‘गजब’को भन्दै प्रशंसा गरेको र पत्रमा लेखिएको ‘चाखलाग्दो व्यवहोराबारे गहन ढंगले सोचविचार गर्ने’ आशय व्यक्त गरेको उत्तर कोरियाली समाचार एजेन्सी केसिएनएले जनाएको छ। उनले पत्रमा के विषयवस्तु उल्लेख गरिएको छ भन्ने बारेमा भने कुनै जानकारी नदिएको समाचारमा जनाइएको छ।

पत्र पढिसकेपछि नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पको ‘असाधारण साहस’को पनि प्रशंसा गरेको केसिएनएलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। जुन महिनाको सुरुतिर उत्तर कोरियाली नेता किमले आफूलाई ‘एउटा सुन्दर चिठी’ पठाएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका थिए। नेता किमलाई ट्रम्पले कसरी र कहिले पत्र पठाए भन्नेबारे भने खुलासा गरिएको छैन। यस विषयमा ह्वाइट हाउसले पनि कुनै प्रतिक्रिया नदिएको बिबिसीले उल्लेख गरेको छ। गत फेब्रुअरी महिनाको २७ र २८ तारिखका दिन भियतनामको हनोईमा भएको अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको दोस्रो शिखर बैठक विनाकुनै निष्कर्ष टुंगिएको थियो। त्यसपछि अमेरिका र उत्तर कोरियाबीचको वार्ता अनिश्चित छ।

उत्तर कोरियाले परमाणु कार्यक्रम परित्याग गर्नु पर्ने अमेरिकाको चाहना र आफूविरुद्ध लगाइएका प्रतिबन्ध फुकुवा हुनु पर्ने उत्तर कोरियाको अडानका कारण दुई देशबीच हनोईमा भएको शिखर बैठक निष्कर्षविनै टुंगिएको थियो। यद्यपि गत साता चिनियाँ राष्ट्रपति सी जिनफिङले गरेको उत्तर कोरियाको दुई दिने राजकीय भ्रमणपछि भने परमाणु निःशस्त्रीकरणको विषयमा वासिङ्टन र प्योङयाङबीच अवरुद्ध वार्ता पुनः सुरु हुन सक्ने आशा बढेको विभिन्न विश्लेषकहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। ट्रम्प र किमबीचको सम्बन्धमा अहिले केही सुधार भएको देखिएको छ। अर्को साता अमेरिकी राष्ट्रपति ट्रम्प दक्षिण कोरियाली नेता मुन जाय–इनलाई भेट्न सोल भ्रमणमा गइरहेका कारण पछिल्लो समय पनि महत्वपूर्ण रहेको छ।

परम्परागत दुई शत्रु राष्ट्र अमेरिकाका राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किमबीच पहिलो पटक सन् २०१८ को जुन १२ का दिन सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो। त्यसबेला नेता किमले आफू कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरण गर्नेबारे अमेरिकासँग मिलेर काम गर्न तयार रहेको बताएका थिए।

सम्झौताबमोजिम उनले केही संकेत पनि देखाएका थिए। यद्यपि हनोई बैठकमा उनले लामो समयदेखि प्योङयाङमाथि लाग्दै आएको आर्थिक प्रतिबन्ध हट्नुपर्ने अडान राखे। उता, अमेरिकी राष्ट्रपति ट्रम्पले भने उत्तर कोरियाले पूर्ण रूपमा आणविक कार्यक्रम अन्त्य नगरेसम्म प्रतिबन्ध यथावत् नै रहने बताएपछि दुई देशबीचको बैठक विनानिष्कर्ष टुंगिएको थियो।

त्यसपछि केही समय दुई देशबीचको सम्बन्ध लगभग शून्य नै रह्यो। तर केही समययता अमेरिकी राष्ट्रपति ट्रम्पले किमबारे राम्रा टिप्पणी गरेका छन्। यसै महिनाको सुरुमा उनले किमको नेतृत्वसँग प्रचुर सम्भावना रहेको बताएका थिए। ट्रम्पले नेता किमको बारेमा व्यक्त गरेको सकारात्मक प्रतिक्रिया र नेता किमले ट्रम्पद्वारा पठाइएको पत्रलाई लिएर व्यक्त गरेको खुसीले दुई देशबीचको सम्बन्ध थप सुधार हुनसक्ने तर्फ अनुमान गरिएको बिबिसीले जनाएको छ।

प्रकाशित: ९ असार २०७६ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App