७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

जापानी प्रधानमन्त्री आबे इरानमा

जापानी प्रधानमन्त्री सिन्जो आबे (बायाँ) र इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी बिहीबार इरानको राजधानी तेहरानमा भेटवार्ता गर्दै।तस्बिर : एजेन्सी

तेहरान – जापानका प्रधानमन्त्री सिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई बिहीबार इरानको राजधानी तेहरानमा भेट गरेका छन्। प्रधानमन्त्री आबे संयुक्त राज्य अमेरिका र इरानबीच जारी द्वन्द्व र तनाबलाई मत्थर पार्ने उपायको खोजी गर्न इरानको भ्रमणमा रहेका छन्।

आबेको यो भ्रमण सन् १९७९ को इस्लामिक क्रान्तिपछि जापानी प्रधानमन्त्रीको पहिलो भ्रमण हो। अमेरिकासँग अतिनिकट सम्बन्ध रहेको जापानको इरानसँग पारम्परिक सम्बन्ध रहेको छ। इरानका सर्वोच्च नेता खामेनीको आधिकारिक ट्विटरमा जापानका प्रधानमन्त्री सिन्जो आबेसँगको भेटवार्ताका तस्बिर राखिएका छन्।गत वर्षको मे महिनामा संयुक्त राज्य अमेरिकाले सन् २०१५ को ऐतिहासिक इरानी आणविक सम्झौता त्याग्ने घोषणा गरेपछि वासिङ्ट र तेहरानबीचको सम्बन्ध चिसिएको छ।अमेरिकाले सो आणविक सम्झौताको आडमा इरानले आणविक हातहतियार निर्माणलाई गुप्त रूपमा विकास गरिरहेको आरोप लगाउँदै आएको छ।

हाल संयुक्त राज्य अमेरिकाले इरानमाथि कडा नाकाबन्दीको घोषणा गर्नुका साथै सम्भावित इरानी आक्रमण हुनसक्ने भन्दै मध्यपूर्वमा सैनिक उपस्थिति बाक्लो बनाएको छ। अमेरिकी प्रतिबन्धसँगै इरानी खनिज तेलको बिक्री रोकिएको छ जसबाट भारत, चीन, जापानसमेतका प्रमुख तेल आयातकर्ता मुलुकका अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने अनुमान गरिएको छ ।

इरानले यमनका विद्रोही हुथी समूहलाई राजनीतिक, आर्थिक तथा हातहतियार उपलब्ध गराएको आरोपसमेत लाग्ने गरेको छ जसलाई इरानले लगातार अस्वीकार गरिरहेको छ।हुथी विद्रोहीले छिमेकी मुलुक साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) समेतका मुलुकमा ड्रोन र क्षेप्यास्त्र आक्रमण गरिरहेको आरोप लाग्दै आएको छ ।

जापानी प्रधानमन्त्री आबेले अहिले मध्यपूर्वका मुलुकमा तनाब बढ्दै गएको र कुनै पनि समय भीषण द्वन्द्व सुरु हुन सक्ने बताएका छन्।उनले सशस्त्र युद्धको अवस्था आउन दिन नहुनेमा समेत जोड दिएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

आबेले जापानले तनाब न्यूनिकरण गर्न सबै प्रयास गर्ने बताउँदै यही एकमात्र उद्देश्यका साथ आफू तेहरान आइपुगेको जिकिर गरेका छन्।
तेहरानमा आयोजित पत्रकार सम्मेलनमा इरानी राष्ट्रपति रौहानीले संयुक्त राज्य अमेरिकाले इरानमाथि आर्थिक नाकाबन्दीजस्तो दबाब रोकेमा मध्यपूर्वमा सकारात्मक परिवर्तनको सम्भावना धेरै रहेको बताएका छन्। उनले अमेरिकाले इरानमाथि सैनिक हस्तक्षेत्र गरेमा त्यसको उचित जवाफ दिइने चेतावनी पनि दिएका छन्।

प्रकाशित: ३१ जेष्ठ २०७६ ०१:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App