coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सुपुर्दगी विधेयकविरुद्ध हङकङमा आन्दोलन, प्रदर्शनकारीमाथि रबरको गोली प्रहार

हङकङ – हङकङमा सुपुर्दगीसम्बन्धी एउटा विवादास्पद विधेयकलाई लिएर जारी आक्रोशले हिंसाको रूप लिँदा सडकमा विरोध प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको छ । सुपुर्दगीसम्बन्धी विधेयकको विरुद्धमा सडकमा उत्रिएका प्रदर्शनकारीले सरकारी भवन वरपरका मुख्य सडकहरु अवरुद्ध पार्दै प्रहरीमाथि ढुङ्गामुढा गरेपछि रबरको गोली र अश्रुग्यास प्रहार गरिएको प्रहरीले बताएको छ।

हङकङ सरकारले मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारेको सो विधेयकलाई अघि बढाउँदैछ। विधेयक पारित भएसँगै मुख्य भूमि चीनतर्फ सुपुर्दगी प्रक्रिया अघि बढाउन सहज तुल्याउने छ।विधेयक जुन २० मा हुने अन्तिम मतदानपछि पारित हुने अनुमान गरिएको छ।यद्यपि विरोधका स्वर बाहिरिएपछि हङकङको विधायिका परिषद्ले उक्त विधेयकमाथिको दोस्रो छलफलमा केही ढिलाइ गरेको बिबिसीले उल्लेख गरेको छ।बेइजिङ समर्थक विधायिका परिषद्ले भनेको छ बुधवार हुने भनिएको परिषद्को बैठक अब ‘पछि कुनै समयमा’ हुनेछ।तर बैठक कहिले हुन्छ भन्नेबारेको समय भने निर्धारण गरिएको छैन।

हङकङमा प्रदर्शनकारीविरुद्ध रबरको गोली प्रयोग भएको दशकौंपछि यो पहिलो घटना हो।सुरक्षा फौजले बुधबार गरेको बल प्रयोगका कारण यो समाचार तयार पार्दासम्म २२ जना घाइते भएका छन्।भने कोही पनि घाइते चिन्ताजनक अवस्थामा भने नरहेको बताइएको छ।

प्रदर्शन कसरी सुरु भयो ?
सरकारले ल्याउन लागेको नयाँ विधेयकले हङकङभित्र रहेका चीन विरोधी विपक्षी राजनीतिक दल प्रभावित हुन सक्ने भन्दै गत जुन ९ का दिनदेखि हङकङमा प्रदर्शन सुरु भएको थियो।

विवादित सुपुर्दगी विधेयकमा हङकङमा रहेका वा भेटिएका शंकास्पद अपराधीलाई मुख्यभूमि चीनतर्फ पठाउनसक्ने व्यवस्था रहेको छ।सुपुर्दगीसम्बन्धी सो विधेयकमाथिको निर्धारित छलफल र मतदानअघि प्रदर्शनकारीले बुधबार सरकारी भवनहरुतर्फको आवागमन अवरुद्ध पार्ने प्रयास गरेका थिए।हजारौं सहभागी विरोध प्रदर्शन सुरुमा शान्तिपूर्ण नै देखिएको थियो।प्रदर्शन चर्कदै जाँदा सरकारी र विरोधी दुवै पक्ष आक्रमक बनेपछि सुरक्षा फौजले प्रदर्शनकारीविरुद्ध अश्रुग्यास, रबरको गोली आदि प्रयोग गरेको छ।प्रहरीले भने प्रदर्शनकारीले सरकारी भवनहरुमा आगजनीको प्रयास गरेपछि बल प्रयोग भएको जिकिर गरेको छ।

प्रहरीले प्रदर्शनकारीलाई परै राख्न प्लास्टिकको बारसहित कडा अवरोध सिर्जना गरेका थिए र अश्रुग्यास प्रहार हुनसक्ने चेतावनी सहितको ब्यानरसमेत देखाएका थिए।यद्यपि प्रहरीको सो चेतावनीयुक्त प्रयासले प्रदर्शनकारीलाई निरुत्साहित तुल्याउन सकेन र उनीहरुले पाएसम्मको बस्तुले प्रहरीलाई प्रहार गरे।प्रतिक्रियास्वरुप सुरक्षा फौजले प्रदर्शनकारीमाथि रबरको गोली र अश्रुग्यास प्रहार गरेको बताइएको छ।

प्रदर्शनकारीले जथाभावी प्रहार गरेको बस्तु लागेर एकजना प्रहरी घाइते भएको र सरकारी भवनहरुमा ताल्चा लगाइएको बिबिसीले उल्लेख गरेको छ ।
हङकङले ल्याउन लागेको सुपुर्दगीसम्बन्धी विधेयकलाई चीनले समर्थन गरेको बताइएको छ।यद्यपि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेङ सुहाङले हङकङमा मुख्यभूमि चीनबाट सुरक्षा फौज पठाइन सक्ने भन्दै आएका समाचार झुटो भएको बताएका छन्।उनले त्यस्ता समाचार जनतालाई आतंकित तुल्याउनका लागि ल्याइएको हल्लामात्रै भएकोसमेत बताए।

सुपुर्दगीसम्बन्धी कानुनमा संशोधन गर्न ल्याइएको उक्त विधेयकका आलोचकहरुले चीनको न्याय प्रणालीमा यातना, जथाभावी थुना र जबर्जस्ती झुटो बयान दिन लगाउने जस्ता अभ्यास हुने गरेको आरोप लगाइरहेका छन्।हङकङ सरकारले यो विधेयकका सम्बन्धमा कानुनी रूपमा बाध्यकारी मानवअधिकारसम्बन्धी प्रावधान र अन्य उपाय पनि अवलम्बन गरिने हुँदा आलोचकले गरेको चिन्ताको सम्बोधन हुने प्रतिबद्धता व्यक्त गरेको छ।तर यो विधेयकबारेको विवादले हङकङ सन् १९९७ मा बेलायतबाट चीनको मातहतमा आएयताकै सबैभन्दा ठूला विरोध प्रदर्शन निम्त्याइरहेको छ ।

नयाँ विधेयकमा हत्या र बलात्कारजस्ता अपराधका आरोपित वा संदिग्धलाई मुख्यभूमि चीन, ताइवान र मकाउबाट सुपुर्दगीका लागि अनुरोध गर्न पाइने प्रावधान रहेको छ र त्यसपछि प्रत्येक घटनाका आधारमा त्यस्ता सुपुर्दगी अनुरोधमाथि निर्णय गरिनेछ।

हङकङका अधिकारीहरुले त्यहाँको अदालतले नै सुपुर्दगी अनुरोधमा अन्तिम फैसला गर्ने र राजनीतिक तथा धार्मिक अपराधको आरोप लागेकाहरूलाई सुपुर्दगी नगरिने बताएका छन्।सरकारले जनतालाई आश्वस्त तुल्याउन केही छुटको व्यवस्था गर्ने बताएको छ।त्यस्ता प्रावधानमा अधिकतम सजाय कम्तीमा सात वर्षको कैद हुने कसुरका संदिग्धलाई मात्र सुपुर्दगी गरिने पनि रहेको छ।हङकङले बेलायत र अमेरिकालगायत अन्य २० वटा देशसँग सुपुर्दगी सम्झौता गरेको छ ।

 

प्रकाशित: ३० जेष्ठ २०७६ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App