८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

नेता किमको इच्छामा निर्भर

संयुक्त राज्य अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार।

वासिङ्टन – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच तेस्रो शिखर बैठकको सम्भावना रहेको एक अमेरिकी नेताले बताएका छन्। ह्वाइट हाउस राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बल्टनले ट्रम्प र किमबीच तेस्रो शिखर बैठकको सम्भावना रहेको र यो किमको इच्छामा निर्भर हुने बताएका हुन्।

उनले यदि ट्रम्प र किमबीचको शिखर बैठकका लागि प्योङयाङ तयार रहे वासिङ्टन पनि तयार रहेको र यसका लागि उत्तर कोरियाले नै वातावरण बनाउनुपर्ने मंगलबार बताए।अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किमबीच यसअघि सन् २०१८ को जुन १२ का दिन सिंगापुरमा र सन् २०१९ को फेब्रुअरी २७ र २८ का दिन भियतनाममा दुईवटा शिखर बैठक भइसकेका छन्।

दोस्रो शिखर बैठक सम्झौताबिनै टुंगिएपछि दुई देशबीच अर्को शिखर बैठक कहिले हुन्छ भन्ने निश्चित भएको छैन। ट्रम्प र किमबीचको पहिलो ऐतिहासिक शिखर बैठक अत्यन्तै सौहार्दपूर्ण रहेको भए पनि हनोई बैठक भने सफल हुन सकेन। पहिलो शिखर बैठकमा भएको सहमतिबमोजिम आफूले कोरियाली प्रायद्वीपलाई आणविक निःशस्त्रीकरण गर्नका लागि काम गरेकाले प्योङयाङमाथि लाग्दै आएको प्रतिबन्ध हटाउनुपर्ने माग नेता किमले हनोई बैठकमा गरेका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले भने प्योङयाङले पूर्ण रूपमा आणविक कार्यक्रम नत्यागेसम्म उसविरुद्धको प्रतिबन्ध कायम नै रहने बताएपछि दुई देशबीचको बैठक बिना निष्कर्ष टुंगिएको थियो।

अमेरिकासँगको बैठक बिना निष्कर्ष टुंगिएपछि उत्तर कोरियाले छोटा दूरीका कैयौं क्षेप्यास्त्र परीक्षण गरेको विषय पनि बाहिरिएका छन्। दुई देशबीच रोकिएको संवादको प्रक्रियालाई अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बल्टनको अभिव्यक्तिले बल पुग्नेमा विश्लेषकहरुले विश्वास व्यक्त गरेका छन्।
 

 

 

प्रकाशित: २९ जेष्ठ २०७६ ०३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App