८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

पूर्व पाकिस्तानी राष्ट्रपति जर्दारी पक्राउ

इस्लामाबाद – पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जर्दारी सोमबार राजधानी इस्लामाबादमा पक्राउ परेका छन्। सम्पति शुद्धिकरणसम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको बताइएको छ।देशको उच्च अदालतले जर्दारी र उनकी बहिनीका लागि पूर्वपक्राउ जमानत लम्ब्याउन अस्वीकार गरेपछि प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो।

जर्दारी र उनको बहिनीविरुद्ध झुटा बैंक खातामार्फत आर्थिक अवस्था लुकाएको आरोप लाग्दै आएको छ। पहिले पनि जर्दारीले भ्रष्टाचारको मुद्दामा जेल सजाय भोगेको भए पनि उनी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति रहेका थिए।उनको पत्नी पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोको हत्यापछि उनी राष्ट्रपतिका रूपमा चुनिएका थिए।

इस्लामाबाद उच्च अदालतले जर्दारीका लागि पूर्वपक्राउ जमानत थप गर्न अस्वीकार गरेसँगै राष्ट्रिय उत्तरदायित्व ब्युरो (एनएबी) का सदस्यहरु उनको निवासमा गएको फुटेज पाकिस्तानी मिडियाले देखाएका छन्।फुटेजमा उनले आफ्ना छोरा बिलावाल भुट्टो जर्दारीसँगै निवासस्थान छोडेको देखिएको छ।जर्दारीका छोरा बिलावाल हाल पाकिस्तानको प्रमुख विपक्षी दल पाकिस्तान पिपल्स पार्टी (पिपिपी) का वर्तमान अध्यक्ष रहेका छन्।

राष्ट्रिय उत्तरदायित्व ब्युरोका सदस्यहरु जर्दारीलाई पक्राउ गर्न इस्लामाबादस्थित उनको निवासमा पुगेलगत्तै पिपिपीका समर्थक त्यहाँ भेला भएका थिए।उनीहरुले जर्दारी निवास बाहिर पाकिस्तानको पारिवारिक राजनीतिक वंशलाई उद्धृत गर्दै ‘भुट्टो जिन्दाबाद ! को नारासमेत लगाएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

पाकिस्तानको राजनीतिमा जर्दारीलाई अत्यन्तै विवादित व्यक्तिका रूपमा चित्रण गर्ने गरिएको छ।उनले सन् १९९० को दशक र २००० को दशकमा जेल जीवन बिताएका थिए र उनलाई ‘मिस्टर १० प्रतिशत’को उपनामसमेत दिइएको थियो।उनले सरकारी कन्ट्याक्टहरुबाट १० प्रतिशत कमिसन लिने गरेको आरोप लागेकाले उनको उपनाम नै ‘मिस्टर १० प्रतिशत’ राखिएको थियो।

जर्दारीमाथि के आरोप लागेको छ ?
जर्दारी र उनको बहिनीले अर्बौं रुपियाँ लुकाउनका लागि झुटा बैंक खाता प्रयोग गरेको अनुसन्धानमा संलग्न अधिकारीहरुले बताएका छन्।यो मुद्दामा दर्जनौं कम्पनी र सयौं मानिस संलग्न रहेको पाकिस्तानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

पछिल्लो ‘झुटा बैंक खाता’ मुद्दामा आफूले केही गलत नगरेको पूर्वराष्ट्रपति जर्दारीले बताउँदै आएका छन्।‘झुटा बैंक खाता’सम्बन्धी यस मुद्दालाई लिएर उनीविरुद्ध सन् २०१५ देखि अनुसन्धान जारी रहेको छ।

इस्लामाबाद उच्च अदालतको सोमबारको फैसला आउनुपूर्व उनी र सांसदसमेत रहेकी उनकी बहिनी फार्याल ताल्पुरलाई दिइँदै आएको अन्तरिम जमानत कैयौं पटक लम्बाइएको थियो।जर्दारी र फार्याल दुवैजना सोमबार बिहानै कडा सुरक्षा व्यवस्थाबीच उच्च अदालतमा हाजिर भएका थिए।एउटै मुद्दामा दोषी ठहर भएको भए पनि सोमबार साँझसम्म फार्याल भने पक्राउ नपरेको बिबिसीले उल्लेख गरेको छ।

जर्दारी पक्राउ पर्नुमा सरकारको कुनै हात नरहेको पाकिस्तानी विदेशमन्त्री इजा साहले सोमबार देशको संसद्मा बताए।आफ्ना नेताका पिता पक्राउ परेपछि पिपिपीका प्रवक्ताले भने सबै समर्थकलाई शान्त रहन अपिल गरेका छन्।

प्रकाशित: २८ जेष्ठ २०७६ ०२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App