८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

राष्ट्रसंघले गर्‍यो सहयोगको घोषणा

नैरोबी – संयुक्त राष्ट्र संघले अफ्रिकामा उत्पन्न भोकमरीमा परेका सर्वसाधारणलाई सघाउन चार करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।राष्ट्रसंघका आपत्कालीन सहायता संयोजक एवं उपमहासचिव मार्क लोककले सोमालिया, इथियोपिया र केन्याका सुख्खाग्रस्त क्षेत्रका जनतालाई सहयोग गरिने बुधबार बताए ।

अफ्रिकाका यी देशका कतिपय भेगमा सुख्खापनका कारण खाद्यान्नको चरम संकट उत्पन्न भएपछि राष्ट्रसंघको यस्तो घोषणा आएको बताइएको छ । उपमहासविच लोककले जारी गरेको विज्ञप्तिमा राष्ट्रसंघले निरन्तरको सुख्खाबाट प्रभावितको मृत्यु र मानवीय संकटमा सहयोग गर्न चाहेको उल्लेख छ । उनले राष्ट्रसंघको बजेटमध्ये सोमालियाका लागि तीन करोड छुट्याइएको जानकारी गराएका छन् । सोमालियामा आगामी सेप्टेम्बरसम्ममा चरम खाद्य असुरक्षाबाट करिब २२ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

यस्तै, करिब एक करोड अमेरिकी डलर सोमालियाको छिमेकी मुलुक इथियोपियामा खर्च हुने बताइएको छ । यहाँ सन् २०१६ र २०१७ को झैं विषम मौसमी अवस्था रहेको र सुख्खाबाट चरम खाद्य संकट उत्पन्न भएको छ ।
राष्ट्रसंघका उपमहासचिव लोककले तीन देशले भोग्नु परेको विषम खाद्य संकट र अन्य मानवीय सहायतामा ध्यान दिन अन्य दातृ निकायलाई पनि आग्रह गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।
करिब ५० लाख अमेरिकी डलर भने केन्या सरकारको खाद्य सुरक्षा कार्यक्रमका लागि उपलब्ध गराइने राष्ट्रसंघले जनाएको छ ।
 

प्रकाशित: २४ जेष्ठ २०७६ ०४:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App