१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

दोस्रो कार्यकालका लागि नरेन्द्र मोदीले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं – दोस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ पद तथा गोपनियताको शपथ लिएका छन्। हालै सम्पन्न लोकसभा निर्वाचनमा अत्याधिक बहुमत पाएको भारतीय जनता पार्टी (भाजपा) र उसको नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका नेता मोदीलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले हजारौं आमन्त्रित व्यक्तिको सामु पद तथा गोपनियताको शपथ गराए।

राजधानी नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सम्पन्न भएको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति वेंकैया नायडु सहित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को सदस्य राष्ट्रका राज्य वा सरकार प्रमुख र किर्गिस्तानका राष्ट्रपति सुरन्बे जिनवेकभ र मौरिसस्का प्रधानमन्त्री प्रविन्द जुगनाउथको पनि विशेष उपस्थिति रहेको थियो।

बिमस्टेकको सदस्य राष्ट्रका रूपमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागिता जनाएका छन्। उनी बिहीबार नै भारत गएका हुन्। भर्खरै सम्पन्न भारतको तल्लो सदन लोकसभा निर्वाचनमा जित हासिल गरेपछि लगातार दोस्रो कार्यकालका लागि मोदीलाई राष्ट्रपति रामनाथ कोविन्दले प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ गराएका हुन्।

बिहीबार शपथ लिएकामा प्रधानमन्त्री नरेन्द्र मोदी, २४ जना क्याबिनेट मन्त्री, नौजना स्वतन्त्र प्रभारसहित राज्यमन्त्री र २४ राज्यमन्त्री छन्।

स्थानीय समय अनुसार साँझ सात बजेबाट सुरु भएको शपथ ग्रहण समारोहमा क्षेत्रीय नेता र बलिउड कलाकारसहित आठ हजार बढी निम्तालुको उपस्थिति रहेको थियो। मोदीको शपथ ग्रहण समारोहमा भारतको छिमेकी पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई भने निमन्त्रणा गरिएको थिएन भने देशभित्रकै केही विपक्षी नेता पनि समारोहका उपस्थित भएनन्। प्रधानमन्त्री मोदीबाहेक बिहीबार २४ क्याबिनेट मन्त्री, स्वतन्त्र प्रभारसहित नौ राज्यमन्त्री र २४ जना राज्यमन्त्रीलाई पनि राष्ट्रपति कोविन्दले पद तथा गोपनियताको शपथ गराएका छन्। क्याबिनेट मन्त्रीमा छ जनाबाहेक सबै पुरानै अनुहार दोहोरिएका छन् भने राज्यमन्त्रीमा पनि अधिकांश पुरानै अनुहार रहेका छन्। बिहीबार कुल ५८ जनाले शपथ लिएका छन्।

मोदी सरकारको अघिल्लो मन्त्रिपरिषद्मा रहेका विदेशमन्त्री सुषमा स्वराज र वित्तमन्त्री अरुण जेट्ली यसपटकको मन्त्रीमण्डलमा अटाएका छैनन्। अरुण जेट्लीले आफ्नो स्वास्थ्यको कारण देखाउँदै मन्त्री बन्न नसक्ने बुधबार नै बताएका थिए भने स्वराजले पनि यसपटक मन्त्री पद दोहो¥याउन चाहिन््न।  प्रधानमन्त्रीका रूपमा दोस्रो इनिङ सम्हालेका मोदीको मन्त्रीमण्डलमा पूर्व विदेश सचिव एस जयशंकरको नाम अप्रत्याशित रूपमा आएको छ। मोदीको यस पटकको मन्त्रिमण्डलमा स्वराज नदोहोरिएका कारण उनलाई जयशंकरले पदस्थापन गर्न सक्ने अनुमान गरिएको छ। यद्यपि बिहीबार शपथ लिएका मन्त्रीहरुको जिम्मेवारी भने सार्वजनिक गरिएको छैन।

अमेठीबाट कंग्रेस अध्यक्ष राहुल गान्धीलाई पराजित गरेर इतिहास रचेकी र ४२ वर्षपछि गान्धी परिवारलाई सो क्षेत्रबाट हराएकी स्मृति इरानी पनि क्याबिनेट मन्त्री बनेकी छन्।

मोदीको जनमत संग्रहका रूपमा लिइएको यस पटकको लोकसभा निर्वाचनका दौरान उनले धार्मिक आवरणमा देशलाई विभाजन गर्न खोजेको विपक्षी दलले आरोप लगाएका थिए। यद्यपि मोदीले आफ्नो व्यक्तिगत छवि र कास्मिरको विषयलाई लिएर गत फेब्रुअरी महिनाबाट सुरु भएको भारत पाकिस्तानको कटुतापूर्ण सम्बन्धलाई निर्वाचन अभियानमा प्रयोग गरेका थिए। मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)ले नेतृत्व गरेको एनडिए गठबन्धनले गत साता सार्वजनिक भएको आम निर्वाचनको मत परिणाममा कुल पाँच सय ४५ सिट रहेको देशको तल्लो सदन लोकसभामा तीन सय ५४ सिटमा जित हासिल गरेको थियो भने भाजपा एक्लैले तीन सय तीन सिटमा जित निकालेको थियो।

मन्त्रिपरिषद्को दोस्रो वरियतामा राजनाथ सिंहलाई राखिएको छ

मोदी आफैंले भने वराणासीबाट जित हासिल गरेका थिए। उनले करिब पाँच लाख मतान्तरले निर्वाचनमा जित हासिल गरेका हुन्। मोदी सन् १९७१ पछि भारतमा लगातार दुई पटक एकल पार्टीले बहुमत ल्याउने दलको नेतासमेत बनेका छन्। भारतको खस्कँदो अर्थतन्त्र र बढ्दो बेरोजगारी समस्या दोस्रो पटक प्रधानमन्त्रीको पद सम्हालेका मोदीका लागि चुनौती हुने विश्लेषकहरुले बताएका छन्।

प्रधानमन्त्री : नरेन्द्र मोदी
क्याबिनेट मन्त्री
राजनाथ सिंह : दोस्रो वरियताका मन्त्री
अमित शाह
नीतिन गडकरी  
डिभी सदानन्द गौडा  
निर्मला सीतारमण  
रामविलास पासवान
नरेन्द्र सिंह तोमर
रवि शंकर प्रसाद
हरसिमरत कौर बादल
थावर चन्द गहलोत
डाक्टर सुब्रमन्यम जयशंकर
डाक्टर रमेश पोखरियाल ‘निशंक’
अर्जुन मुन्डा
स्मृति जुविन इरानी
डाक्टर हर्सवर्धन
प्रकाश जावडेकर
पीयूष वेदप्रकाश गोयल
धमेन्द्र प्रधान
मुख्तार अब्बास नकवी
प्रह्लाद विनटेश जोशी
डाक्टर महेन्द्र नाथ पाण्डे
अरविन्द गणपत सावन्त  
गिरिराज सिंह
गजेन्द्र सिंह शेखावत
कुल २४ जना क्याबिनेट मन्त्री
स्वतन्त्र प्रभार राज्यमन्त्री
सन्तोष कुमार गंगवार
राव इन्द्रजित सिंह
श्रीपद यस्सो नाइक
डाक्टर जितेन्द्र सिंह
किरण रिजिजू
प्रह्लाद सिंह पटेल
राजकुमार सिंह
हरदीप सिंह पुरी
मनसुख एल मान्डविया वसावा
राज्यमन्त्री
फग्गन सिंह कुलस्ते
अश्वनी कुमार चौवे
अर्जुनराम  मेघवाल
अवकाश प्राप्त जनरल विके सिंह
कृष्ण पाल गुर्जर
दानवे राव साहेब दादाराव
गंगापुरण किसन रेड्डी
पुरुषोत्तम रुपाला
रामदास अठावले
साध्वी निर्रजन ज्योति
बाबुल सुप्रियो
संजीव कुमार बालिवान
धोत्रे संजय सामराव
अनुराग सिंह ठाकुर
सुरेश अंगाडी
नित्यान्द राय
रतनलाल कटारिया
वी मुरलीधरन
रेणुका सिंह सरुता
सोम प्रकाश
रामेश्वर तेली
प्रताप चन्द्र सारंगी
कैलाश चौधरी
देवश्री चौधरी

दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका मोदीको सरकारमा हरियाणा राज्यबाट तीनजना मन्त्री बनेका छन् भने कुल १९ जना नयाँ अनुहार देखिएका छन्।

को को थिए अतिथि ?
दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका मोदीको शपथको शपथ ग्रहण समारोहमा स्वदेशीबाहेक विदेशी अतिथि पनि निम्ताइएको थियो। मोदीको शपथ ग्रहण समारोहका प्रमुख विपक्षी तथा क्षेत्रीय नेताहरुसहित उद्योगपति, बलिउड कलाकार र प्रख्यात खेलकर्मीलाई निम्ताइएको थियो।

क्षेत्रीय संगठन बिमस्टेकको सदस्य राष्ट्र बंगलादेश, श्रीलंका, म्यानमार, नेपाल, भुटान, थाइल्यान्डका राष्ट्र वा सरकार प्रमुखलाई मोदीको शपथ ग्रहणका लागि निम्ताइएको थियो। यद्यपि भारतको छिमेकी राष्ट्र पाकिस्तानलाई भने निमन्त्रणा गरिएको थिएन। शपथ ग्रहण समारोहमा भारतको प्रमुख विपक्षी दल कंग्रेस आईका अध्यक्ष राहुल गान्धी र युपिए गठबन्धनकी अध्यक्ष तथा राहुलकी आमा सोनिया गान्धी पनि सहभागी भएका थिए।
भारतीय जनता पार्टीसँग पछिल्लो आम निर्वाचनमा प्रतिस्पर्धा गरेका क्षेत्रीय नेताहरुलाई पनि शपथ ग्रहण समारोहमा आमन्त्रण गरिएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार मोदीको शपथ ग्रहण कार्यक्रममा विश्वकै धनी व्यक्तिमध्येका एक बिल गेट्सलाई पनि आमन्त्रण गरिएको थियो।
विवादरहित बन्न सकेन शपथ ग्रहण समारोह

भाजपा अध्यक्ष अमित शाह पनि मन्त्री बनेका छन्। उनी मोदी सरकारको अर्थमन्त्री बन्ने बताइएको छ।

भारतीय जनता पार्टी (भाजपा) को कडा आलोचकमध्येकी एक पश्चिम बंगालकी मुख्यमन्त्री एवं त्रिनमुल कंग्रेसकी नेत्री ममता बनर्जीले मोदीको शपथ ग्रहण समारोहमा सहभागिता जनाइनन्। शपथ ग्रहणलाई बहिष्कार गर्नेमध्ये उनी पनि एक हुन्। पश्चिम बंगालमा भएको ‘राजनीतिक हिंसा’मा ५४ जना मानिस मरेको भनेर भाजपाले उद्धृत गरेको विवरण सञ्चारमाध्यममा आएका कारण आफूले प्रधानमन्त्री पदको शपथ ग्रहणमा सहभागिता नजनाएको बनर्जीले बताएकी छन्।

‘पश्चिम बंगालमा हिंसामा परी ५४ जना भाजापा कार्यकर्ता मरेको भन्ने विषय सरासर झुट हो,’ बनर्जीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि भएको शपथ ग्रहण समारोहमा पश्चिम बंगालमा भएको राजनीतिक हिंसामा परी मृत्यु भएका भाजपा कार्यकर्ता परिवारका सदस्यलाई राष्ट्रपति भवनमा निमन्त्रणा गरिएको भन्दै बनर्जीले कार्यक्रममा उपस्थिति नजनाएको बताइएको छ।

निर्वाचन अभियानको दौरान पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जी र भाजपा नेता मोदी एकअर्काविरुद्ध कडा रूपमा प्रस्तुत भएका थिए। पाकिस्तानी प्रधानमन्त्री इमारन खानलाई शपथ ग्रहण कार्यक्रम नबोलाइनुलाई सहजै रूपमा लिइएको छ। पाकिस्तान र भारतबीच पछिल्लो समय विकसित राजनीतिक तनावका कारण खानलाई मोदीको शपथमा निमन्त्रणा गरिएन। भारतीय अर्धसैनिक फौजका ४० भन्दा बढी सदस्यको ज्यान जाने गरी भारत प्रशासित कस्मिरमा गत फेब्रुअरीमा भएको आतंकवादी हमलामा पाकिस्तान आधारित लडाकु समूहको संलग्नता रहेको भन्दै भारतले आरोप लगाएपछि दुई देशबीचको तनाव जारी रहेका कारण पाकिस्तानलाई निमन्त्रण नगरिएको हो। यही मुद्दालाई भाजपाले चुनावी मसला बनाएको थियो। दशकौंपछि भारतीय सुरक्षा फौजमा यति धेरै क्षति हुने गरी गराइएको यो खतरनाक आक्रमण थियो जसले आणविक शक्ति सम्पन्न दुई राष्ट्रलाई युद्धको नजिक पु¥याएको थियो।

प्रकाशित: १७ जेष्ठ २०७६ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App