७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा आबे–किम वार्ताको समर्थन

टोकियोस्थित इम्पेरियल दरबारमा भेट गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प (बायाँ) र जापानी सम्राट नारुहितो। तस्बिर ः एजेन्सी

टोकियो – जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी प्रधानमन्त्री सिन्जो आबे र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच हुनसक्ने सम्भावित वार्ताको समर्थन गरेका छन्।

जापान र उत्तर कोरियाबीच प्रस्तावित बैठकलाई अमेरिकी राष्ट्रपति ट्रम्पले पूर्ण समर्थन गरेको जापानी प्रधानमन्त्री सिन्जो आबेले बताएका छन्। सो बैठकमा जापानले प्रष्टसँग उत्तर कोरियाली आणविक कार्यक्रम र जापानी नागरिकलाई गरिएको अपहरणबारे प्रश्न उठाओस् भन्ने चाहना पनि ट्रम्पले व्यक्त गरेको प्रधानमन्त्री आबेलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले भने उत्तर कोरियाबाट केही नयाँ चिज आओस् भन्ने आफ्नो चाहना रहेको बताएका छन्। चार दिने जापान भ्रमणका क्रममा रहेको ट्रम्प यस्तो धारणा सार्वजनिक गरेका हुन्।

दुई नेताबीच उत्तर कोरियाको निःशस्त्रीकरणबारे एउटै धारणा रहेको बताइएपनि केही समयअघि प्योङयाङले गरेको छोटा दूरीका आणविक क्षेप्यास्त्र परीक्षणबारे भने फरक धारणा बाहिरिएका छन्।

यसैबीच, जापानमा रहँदा त्यहाँका सम्राट नारुहितोलाई पनि उनले भेटवार्ता गरेका छन्। जापानी सम्राट नारुहितोलाई भेट्ने ट्रम्प पहिलो विदेशी नेता पनि बन्न सफल भएका छन्। नारुहितो र ट्रम्पबीच टोकियो दरबारमा सोमबार भेटवार्ता भएको जापानी अधिकारीहरुले जानकारी दिएका छन्। सो अवसरमा जापानी सेनाले ट्रम्पलाई उच्च सम्मान प्रकट गरेको थियो। त्यतिबेला ट्रम्पले कालो कोट र रातो टाई लगाएका थिए भने जापानी सम्राट नारुहितोले उज्यालो निलो टाई लगाएका थिए। भेटमा जापानी साम्राज्ञी र अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प पनि सहभागी रहेका थिए। जापानी साम्राज्ञी मासाकोले सेतो टोपी र ज्याकेट लगाएकी थिइन् भने मेलानियाले सेतो कपडा र अग्लो रातो हिल लगाएकी थिइन्।

राजप्रासादमा दुई नेताबीच झण्डै ५० मिनेट भेटवार्ता भएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।राज्यको गेस्ट हाउस अकासाका दरबारमा सोमबार नै अमेरिकी राष्ट्रपति ट्रम्प र जापानी प्रधानमन्त्री आबेबीच पनि भेटवार्ता भएको थियो। सोही भेटवार्ताका क्रममा आबेले प्रस्तावित जापान–उत्तर कोरिया वार्तालाई समर्थन गरेको बताएका थिए। अकासाका दरबारमा दुई नेताबीच व्यापारदेखि विदेशनीतिसम्मका विविध पक्षमा छलफल भएको बताइएको छ। उत्तर कोरियाको निःशस्त्रीकरणबारे अमेरिकी राष्ट्रपति ट्रम्प र आफ्नो धारणा एउटै रहेको पनि जापानी प्रधानमन्त्री आबेले बताएका छन्। उनले आफूहरु दुवैजनाले उत्तर कोरियाको निःशस्त्रीकरण बडो उत्सुकताका साथ हेर्न चाहेको बताएका छन्। दुई नेताबीच उत्तर कोरियाको निःशस्त्रीकरणबारे एउटै धारणा रहेको बताइएपनि केही समयअघि प्योङयाङले गरेको छोटा दूरीका आणविक क्षेप्यास्त्र परीक्षणबारे भने फरक धारणा बाहिरिएका छन्।
जापानी प्रधानमन्त्री आबेले उत्तर कोरियाको सो कदमको खुलेरै विरोध गरे पनि अमेरिकी राष्ट्रपति ट्रम्पले भने प्योङयाङले साना हतियारको मात्रै परीक्षण गरेको आइतबार बताएका थिए। जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पले टोकियोसँग रहेको असन्तुलित व्यापारलाई नयाँ सम्झौतामार्फत् सन्तुलित बनाउनु पर्नेमा जोड दिइरहेका छन्। उनले जापान भ्रमणका क्रममा नयाँ व्यापार सम्झौता गर्ने अनुमान पनि गरिएको छ। दुई नेताबीच सोमबारको बैठकमा इरानबारे पनि कुराकानी भएको बिबिसीले उल्लेख गरेको छ।

प्रकाशित: १४ जेष्ठ २०७६ ०६:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App