७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

‘उत्तर कोरियाले साना हतियार परीक्षण ग-यो’

टोकियोको एउटा रेस्टुरेन्टमा आइतबार खाना खाने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प (बायाँ) र जापानी प्रधानमन्त्री सिन्जो आबे। तस्बिरः एजेन्सी

टोकियो– उत्तर कोरियाले पछिल्लो समय गरेको क्षेप्यास्त्र परीक्षणप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्योङयाङले आणविक हतियार नभई साना हतियारको परीक्षण गरेको बताएका छन्।

आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बल्टनको भनाइविपरीत ट्रम्पको भनाइ आएको हो। भ्रमणका लागि आइतबार जापान आर्लिएसँगै राष्ट्रपति ट्रम्पले एक ट्विट गर्दै उत्तर कोरियाले केही समय अघि गरेको परीक्षण साना हतियारको भएको जिकिर गरेका हुन्।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बल्टनले शनिबार उत्तर कोरियाले हतियार परीक्षण गरेर संयुक्त राष्ट्रसंघले जारी गरेको प्रस्तावको उल्लंघन गरेको आरोप लगाएका थिए।

यसैबीच राजकीय भ्रमणका लागि आइतबार जापान पुगेका राष्ट्रपति ट्रम्पले आइतबार जापानी प्रधानमन्त्री सिन्जो आबेसँगै मिलेर गल्फ खेलेको बताइएको छ। दुवै नेताले आइतबार सँगै बसरे बिहानको नास्ता गरेका थिए। नास्ता गरिसकेपछि राष्ट्रपति ट्रम्प र जापानी प्रधानमन्त्री आबे राजधानीबाहिर रहेको चिबा सहरमा रहेको गल्फ कोर्टमा गल्फ खेल्न गएका थिए। राजकीय भ्रमणका रहेका राष्ट्रपति ट्रम्पले जापानसँग अमेरिकाको असमान व्यापार सम्बन्ध रहेकाले आफूले त्यसको समाधानार्थ टोकियोसँग नयाँ सम्बन्ध कायम गर्न चाहेको पनि बताएका छन्।

‘उत्तर कोरियाले केही साना हतियार उडाएको छ, जसले मेरा केही मानिस र अन्यलाई विचलित बनाए पनि मलाई केही भएको छैन,’ ट्रम्पले बताए। ‘उत्तर कोरियाली अध्यक्ष किमले मसँग गरेको प्रतिबद्धता कायम गर्छन्न् भन्नेमा म विश्वस्त छु।’

राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बल्टन र जापानसँग अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई बाझिएको यो पहिलो घटना भने हैन। गत साता जापानी प्रधानमन्त्री आबेले पनि उत्तर कोरियाले गरेको हतियार परीक्षण अति नै निन्दनीय भएको भन्दै उसको कदमको आलोचना गरेका थिए।

बल्टन र आबे दुवैले ब्यालेस्टिक क्षेप्यास्त्र र आणविक हतियार परीक्षण गरेर उत्तर कोरियाले संयुक्त राष्ट्रसंघीय प्रस्तावको उल्लंघन गरेको आरोप लगाउँदै आएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्प र उनको राष्ट्रिय सुरक्षा सल्लाहकार बल्टनबीचको टकराव उनीहरुबीच अमेरिकी विदेशनीतिलाई लिएर रहेको गलत बुझाइ भएको कतिपय विश्लेषकहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। भेनेजुएला र इरानसँगको सम्बन्धलाई लिएर पनि ट्रम्प र बल्टनबीच बुझाइ फरक रहेको बताइएको छ।

उत्तर कोरियाले के परीक्षण गरेको थियो?
सन् २०१८ को जुन १२ का दिन भएको राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीचको पहिलो ऐतिहासिक शिखर बैठकपछि दुई परम्परागत शत्रु राष्ट्र संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा केही सुधार भएको थियो। सो बैठकका बेला उत्तर कोरियाली नेता किमले कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरण गर्न मिलेर काम गर्नेबारे अमेरिकी राष्ट्रपति ट्रम्पसँग सहमति गरेका थिए। सोही सहमतिबमोजिम उनले देशको प्रमुख आणविक परीक्षण केन्द्र ध्वस्त गर्ने प्रक्रिया पनि सुरु गरेका थिए। तर गत फेब्रुअरी २७ र २८ का दिन भियतनामको राजधानी हनोईमा भएको ट्रम्प–किम दोस्रो शिखर बैठक बिना कुनै सम्झौता टुंगिएपछि भने दुई देशबीचको सम्बन्धमा दरार उत्पन्न भएको थियो।

आफूमाथि लागेको प्रतिबन्ध हटाउन उत्तर कोरियाले आग्रह गरे पनि अमेरिकाले भने उसले संचालन गरेको आणविक कार्यक्रम पूर्ण रूपमा अन्त्य नगरेसम्म प्रतिबन्ध नहट्ने बताएपछि दुई देशबीचको शिखर बैठक बिना निष्कर्ष टुंगिएको थियो। बैठक अन्त्य भएर दुई देशबीच कूटनीतिक तनाव बढिरहेकै बेला प्योङयाङले केही साताअघि कैयौं हतियार परीक्षण गरेको थियो।

आफूमाथि लागेको प्रतिबन्ध हटाउन उत्तर कोरियाले आग्रह गरे पनि अमेरिकाले भने उसले संचालन गरेको आणविक कार्यक्रम पूर्ण रूपमा अन्त्य नगरेसम्म प्रतिबन्ध नहट्ने बताएपछि दुई देशबीचको शिखर बैठक बिना निष्कर्ष टुंगिएको थियो।

यही महिनाको सुरुवातमा उत्तर कोरियाले छोटा दूरीका कैयौं क्षेप्यास्त्र परीक्षण गरेको थियो। उसले देशको होडो प्रायःद्वीपबाट उत्तरी भेगतर्फ ती क्षेप्यास्त्र परीक्षण गरेको थियो। उत्तर कोरियाली समाचार एजेन्सी केसिएनएले जनाएअनुसार नेता किम आफैंले ती परीक्षणलाई प्रत्यक्ष रूपमा अवलोकन गरेका थिए। ती परीक्षण गत अप्रिलमा प्योङयाङले रण्नीतिक महत्त्वका हतियार परीक्षण गरेको बताएको केही समयपछि भएको थियो। उसले यी हतियार परीक्षण गरेर आफूले गरेका कुनै प्रतिबद्धता नतोडेको पनि बताएको छ। प्योङयाङले यस्तो बताए पनि ती हतियार जापानका लागि भने टाउको दुखाईको विषय भएको बताइएको छ।

गत साता राजधानी टोकियोमा बोल्दै प्रधानमन्त्री आबेले अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बल्टनकै भाषामा समर्थन जनाएका थिए। उनले उत्तर कोरियाले पछिल्लो समय गरेको क्षेप्यास्त्र प्रक्षेपणले राष्ट्रसंघीय प्रस्तावको ठाडो उल्लंघन गरेको र अति नै निन्दनीय भएको बताएका थिए।

उत्तर कोरियाले सन् २०१७ मा जापानको आकासमाथि कैयौं क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। त्यसबखत अमेरिकी राष्ट्रपति ट्रम्पले आवश्यक परे उत्तर कोरियाको आणविक हतियारलाई खसालिदिने चेतावनीसमेत दिएका थिए।

प्रकाशित: १३ जेष्ठ २०७६ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App