coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलंकामा शृंखलाबद्ध विस्फोट, हमलामा नेपाली परेका छैनन्ः परराष्ट्र

कोलम्बो – श्रीलंकामा आइतबार विभिन्न गिर्जाघर र होटलमा गराइएको शृंखलाबद्ध आक्रमणमा परी कम्तीमा दुई सय सातजनाको मृत्यु भएको छ। इस्टर पर्वका अवसरमा गिर्जाघरहरुमा आयोजित धार्मिक कार्यक्रममा सहभागी र तीनवटा लक्जरी होटलमा रहेका व्यक्तिलाई लक्षित गरी गराइएका आक्रमणमा परी चार सय ५० जनाभन्दा बढी घाइते भएका छन्।

कम्तीमा आठवटा विस्फोटन भएको समाचारमा जनाइएको छ। इसाई धर्मावलम्बी कोच्चिकाडे, बट्टिकलोआ र नेगोम्बो जिल्लामा रहेका गिर्जाघरमा इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका बेला विस्फोटन गराइएको थियो।

राजधानी कोलम्बोस्थित सांग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोटन भएका थिए। राजधानी कोलम्बो र देशको पूर्वी क्षेत्रमा रहेको बट्टिकालोआआसपास चारवटा होटल र तीनवटा गिर्जाघरमा विस्फोटन भएको अधिकारीहरुले बताएका छन्। देशमा भएका शृंखलाबद्ध विस्फोटनका घटनापछि श्रीलंकामा अर्को सूचना जारी नभएसम्मका लागि देशव्यापी कफ्र्यु घोषणा गरिएको छ। सामाजिक सञ्जाल र म्यासेजिङ सेवा पनि अस्थायी रूपमा बन्द गरिएको छ।

विस्फोटनमा संलग्न रहेको आशंकामा तीनजना पक्राउ परेको विवरण बाहिरिए पनि आक्रमण कसले गरेको थियो भन्ने विषय भने अझै प्रस्ट भइनसकेको बताइएको छ। श्रीलंकाली सरकारले सुरुमा सातजना पक्राउ परेको बताएको थियो। प्रहरीले भने अन्य कयौं पक्राउ परेको भए पनि उनीहरुसँग सोधपुछ नभएको जनाएको छ। कसले के उद्देश्यले आक्रमण ग¥यो भन्ने विषयमा केही थाहा नभएको प्रहरीले जनाएको छ।
श्रीलंकाली रक्षामन्त्री रुवान विजेवर्दनेका अनुसार आक्रमणकारीको पहिचान भइसकेको छ। आक्रमणकारी धार्मिक अतिवादी भएको उनले बताए। उनले आइतबार बिहान भएका अधिकांश विस्फोटनमा आत्मघाती आक्रमणकारी प्रयोग भएको बताउँदै सबै आक्रमण एउटै समूहले गराएको दाबीसमेत गरे।


इसाई धर्मावलम्बी इस्टर पर्वका अवसरमा गिर्जाघरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका बेला विस्फोटन गराइएको थियो।

मारिनेमा विदेशी नागरिक पनि
मृत्यु हुनेमध्ये अधिकांश श्रीलंकाली नागरिक भएको अनुमान गरिए पनि अधिकारीहरुका अनुसार करिब ३० को संख्यामा विदेशी नागरिक पनि मारिएका छन्। मारिनेमा डच, पोर्चुगाली, बेलायती र चिनियाँ नागरिक पनि रहेको विवरण बाहिरिएको छ।

‘इस्टर सन्डे’ आक्रमणमा मारिनेमध्ये एकजना डच नागरिक पनि रहेको डच विदेशमन्त्री स्टेफ बल्कले पुष्टि गरेका छन्। त्यसैगरी चीनको ‘पिपल्स डेली’ पनि आक्रमणमा एक चिनियाँ नागरिक मारिएको र अन्य चारजनाको अस्पतालमा उपचार भइरहेको विवरण प्रकाशित गरेको छ। पोर्चुगलको विदेश मन्त्रालयले पनि आफ्ना एक नागरिक आइतबारको आक्रमणमा मारिएको जनाएको छ।
टर्कीको राज्य सञ्चालित सञ्चारमाध्यम एनादोलुका अनुसार त्यहाँका दुईजना नागरिक पनि मारिएका छन्। एनादोलुका अनुसार इन्जिनियर ती टर्किस नागरिक श्रीलंकाको एउटा प्रोजेक्टमा काम गरिरहेका थिए।

श्रीलंकाका राष्ट्रपति मैथ्रिपला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन अनुरोध गरेका छन्। उनले कायरतापूर्वक गरिएको आक्रमणका दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। उनले जनतालाई शान्त रहन र अनुसन्धान अधिकारीलाई सहयोग गर्न पनि आग्रह गरेका छन्।
त्यस्तै शृंखलाबद्ध विस्फोटनको घटनालाई ‘कायरतापूर्ण आक्रमण’ को संज्ञा दिँदै श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले सबै नागरिकलाई ‘एकताबद्ध रहन र धैर्य गर्न’, आग्रह गरेका छन्। उनले तत्काल राष्ट्रिय सुरक्षा परिषद्को बैठकसमेत डाकेका छन्।

विश्वभरबाट निन्दा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री इमरान खान, बेलायती प्रधानमन्त्री थेरेसा मे, युरोपेली काउन्सिलका अध्यक्ष डोनाल्ड टस्क, युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्कर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतका विश्व नेताले श्रीलंकामा गराइएको विस्फोटनको निन्दा गरेका छन् र पीडितप्रति सहानुभूति प्रकट गरेका छन्।

देशैभर कफ्र्यु
शृंखलाबद्ध बम विस्फोटनछि श्रीलंकाभर कफ्र्यु लगाइएको छ भने व्यापक मात्रामा सुरक्षा कारबाही सञ्चालन गरिएको छ। ‘हाम्रो देशमा सञ्चालन भइरहेको अतिवादी समूहविरुद्ध आवश्यक सबै कदम हामी चाल्नेछौं,’ कफ्र्यु घोषणा गर्दै रक्षामन्त्री रुवान विजेवर्दनेले भने। बौद्धमार्गीबहुल श्रीलंकामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन्। गिर्जाघरहरुमा विस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी थिए।

प्रकाशित: ९ वैशाख २०७६ ०१:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App