१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

अल्जेरियाका राष्ट्रपतिले दिए राजीनामा

पदबाट राजीनामा दिएका अल्जेरियाका राष्ट्रपति अब्देलाजिज बोतेफ्लिका । तस्बिर: एजेन्सी

अल्जियर्स– बुढ्यौलीका कारण अशक्त अल्जेरियाका राष्ट्रपति अब्देलाजिज बोतेफ्लिकाले आफ्नो पदबाट तत्काल लागू हुनेगरी राजीनामा दिएको सरकारी सञ्चार माध्यमले जनाएको छ।

लामो समय अल्जेरियाको राष्ट्रपति रहेका ८२ वर्षीय बोतेफ्लिकाले पद त्याग्नु पर्ने भन्दै जनप्रदर्शन हुँदै आएका थिए। पद त्याग गर्नेबारे राष्ट्रपतिको घोषणालगत्तै मानिस सडकमा भेला भएर खुशीया ली मनाएका थिए। अल्जेरियाको राजधानी अल्जियर्सका मुख्य चोक र सडकमा देशको झण्डासहित ठूलो संख्यामा अल्जेरियन नागरिक भेला भएका थिए।

टेलिभिजन फुटेजमा राष्ट्रपति बौतेफ्लिकाले आफ्नो राजीनामा संवैधानिक परिषद्का प्रमुख तायिब बेलाइजलाई बुझाएको देखाइएको थियो। अशक्तताका कारण सार्वजनिक समारोहमा समेत उपस्थित हुन छाडेका राष्ट्रपति अब्देलाजिजले राजीनामा गर्नुपर्ने माग गर्दै केही समयदेखि देशव्यापी विरोध प्रदर्शनसमेत हुँदै आएका थिए।

देशव्यापी प्रदर्शन बढ्दै गएपछि राष्ट्रपतिका विश्वासपात्र एवं उच्च पदस्थ व्यक्तिहरुले समेत राजीनामा दिएका थिए। विगत २० वर्षदेखि अल्जेरियाको राष्ट्रपति रहेका अब्देलाजिजलाई सन् २०१३ मा हृदयाघात समेत भएको थियो।

‘केही महत्वपूर्ण निर्णय’ गरेपछि राजीनामा गर्ने यसअघि बताए पनि देशव्यापी विरोध बढ्दै गएपछि बाध्य भएर उनले मंगलबार पदबाट राजीनामा दिएका हुन्।

राष्ट्रपति अब्देलाजिजले गत फेब्रुअरीमा आफू पुनःराष्ट्रपतिमा उठ्न सक्ने बताएपछि राष्ट्रव्यापी प्रदर्शन तीव्र भएको थियो। उनले निरन्तर चौथो कार्यकालसम्म अल्जेरियाको राष्ट्रपतिका रूपमा काम गरेका थिए। 

राष्ट्रपतिले गत महिना राष्ट्रपतिमा उम्मेदवार नहुने घोषणा गरेका थिए तर अप्रिलका लागि तयारी गरिएको राष्ट्रपतिको चुनाव एकाएक स्थगित गरेपछि जनतामा झन् आक्रोश बढेको थियो। गत मंगलबार अल्जेरियाका सेनाप्रमुख जनरल अहमद सलाहले राष्ट्रपति स्वयंले राजीनामा गर्नुपर्ने अथवा संसद्ले राष्ट्रपतिलाई संविधान बमोजिम विस्थापित गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए। सेनाप्रमुख सलाहलाई सन् २००४ मा राष्ट्रपति अब्देलाजिजले नै नियुक्त गरेका थिए। हालै मात्र हटाइएका प्रधानमन्त्री अहमद औहाइयाले पनि गत बुधबार राष्ट्रपतिको राजीनामा माग गरेका थिए। 

अल्जेरियाको संविधानअनुसार राष्ट्रपतिले राजीनामा बुझाएको अवस्थामा राष्ट्रियसभाका सभामुखले अन्तरिम राष्ट्रपतिका रुपमा कार्य गर्न सक्ने छन्। संविधानअनुसार नै अल्जेरियामा अन्तरिम राष्ट्रपतिले ९० दिनभित्र राष्ट्रपतिको चुनाव गराउनुपर्नेछ।

प्रकाशित: २१ चैत्र २०७५ ०५:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App