१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

प्रदर्शन नगर्न थाई सेना प्रमुखको चेतावनी

थाई सेना प्रमुख जनरल अपिराट कोङसोमपोङ। तस्बिर : एजेन्सी

बैंकक – देशमा भर्खरै सम्पन्न भएको निर्वाचन धाँधलीयुक्त भएको भन्दै देशमा प्रदर्शन हुने संकेतपछि थाइल्यान्डको सेनाले त्यसो नगर्न मंगलबार चेतावनी दिएको छ। देशको राजसंस्थालाई सम्मान गर्न अपिल गर्दै थाई सेना प्रमुख जनरल अपिराट कोङसोमपोङले यदि प्रदर्शन जारी रहे त्यसले देशको लोकतन्त्रलाई नै धरापमा पार्न सक्नेतर्फ पनि संकेत गरेका छन्।

पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई पदच्युत गर्न वफादार रहेको सेना र राजसंस्था समर्थकहरुबाट आइरहेको अभिव्यक्तिको शृंखलामा सेना प्रमुखको चेतावनी पनि थपिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। मार्च २४ मा भएको आमनिर्वाचनको अन्तिम मत परिणाम अझै सार्वजनिक भइसकेको छैन। सेना समर्थित पालाङ प्रचारत पार्टी र विपक्षी दुवै पार्टी आफूले निर्वाचन जितेको दाबी गर्दै आइरहेका छन्। थाइल्यान्डमा सन् २०१४ पछि भएको आम निर्वाचनको अन्तिम मत परिणाम आउन अझै कैयौं साता लाग्न सक्ने बताइएको छ।

थाई सेनाका जनरल अपिराट कोङसोमपोङले निर्वाचनमा सेना तटस्थ रहने बताए पनि उनकै पूर्ववर्ति प्रयुथ चान–ओचा जन निर्वाचित प्रधानमन्त्रीका रूपमा सत्तामा रहन खोजिरहेका छन्। तिनै प्रयुथ चान–ओचाले सन् २०१४ मा सैनिक ‘कू’मार्फत् थाक्सिन सिनावात्राकी बहिनी यिङ्लक सिनावात्रालाई सत्ताच्युत गरी शक्ति हातमा लिएका थिए। ‘जनरल प्रयुथ आफ्नै बाटोमा हिँड्नु पर्छ र सेना आफ्नै बाटोमा,’ अपिरटले बताएका छन्। देशको सेना राजनीतिमा संलग्न हुन नसक्ने उनको दाबी छ।

यसैबीच सेना प्रमुख अपिरटले देशमा कुनै पनि प्रकारको जनप्रदर्शन हुन नदिने स्पष्ट पारेका छन्। यसअघि पूर्वप्रधानमन्त्री थाक्सिन समर्थक र विरोधीले प्रदर्शन गर्दा राजधानी बैंकका सडक कैयौं महिनासम्म ठप्प भएका थिए। ‘थाई नागरिकले आफ्ना वेमेल सडकबाट समाधान गरुँन् भन्ने म चाहँदिन,’ अपिरटले सञ्चारकर्मीहरुसँग बताए। उनले निर्वाचनमा जितेका र हारेका दुवैले आफ्ना असमझदारी संसद्मार्फत् समाधान गर्नुपर्नेमा जोड दिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। उनले राजनीतिज्ञप्रति कडा शब्दसमेत बोलेका छन्। उनले प्रजातान्त्रिक सिद्धान्तभन्दा थाई नरेशलाई सबैभन्दा माथि राख्ने संस्कृतिलाई अघि बढाउन थाक्सिनको दल र गठबन्धनलाई चेतावनीसमेत दिएको रोयटर्सले उल्लेख गरेको छ।‘यो सही हैन,’ अपिरटले राजनीतिज्ञहरुलाई उद्धृत गर्दै बताए। ‘राजा राज्य प्रमुख हुने प्रजातन्त्र थाइल्यान्डमा रहेको छ,’ उनले बताए। सन् २००६ मा पदच्युत गरिए पनि थाक्सिन समर्थक दलले सन् २००१ पछिका लगभग सबै निर्वाचन जितेका छन्।

प्रकाशित: २० चैत्र २०७५ ०४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App