१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

ब्रेक्जिट प्रस्ताव तेस्रो पटक अस्वीकृत

शुक्रबार बेलायती संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री थेरेसा मे। तस्बिर :एजेन्सी

लन्डन – युरोपेली संघ (इयू)बाट बेलायतको बर्हिगमन (ब्रेक्जिट)बारे प्रधानमन्त्री थेरेसा मेले अघि सारेको प्रस्ताव तेस्रो पटक पनि अस्वीकृत भएको छ। बेलायती संसद् हाउस अफ कमन्समा शुक्रबार अपराह्न भएको मतदानमा प्रधानमन्त्री मेको प्रस्ताव तेस्रो पटक अस्वीकृत भएको हो।  

दुई पटकसम्म आफ्नो प्रस्ताव अस्वीकृत भएपछि प्रधानमन्त्री मेले बिना कुनै सम्झौता युरोपेली संघ (इयू) बाट बाहिरिने बारेको प्रस्ताव शुक्रबार देशको तल्लो सदन ‘हाउस अफ कमन’मा प्रस्तुत गरेकी थिइन्। प्रधानमन्त्री मेले शुक्रबार संसद्मा पेश गरेको प्रस्तावमा मतदान हुँदा विपक्षमा ३४४ मत आएको थियो भने प्रधानमन्त्रीको पक्षमा २८६ मत मात्र प्राप्त भएको थियो। यसअर्थ मेको प्रस्ताव ५८ मतले पराजित भएको थियो।

प्रधानमन्त्री मेको प्रस्ताव विफल भएसँगै इयूबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)मा थप ढिलाई हुने सम्भावना बढेको छ। सहमतिबमोजिम इयूबाट बेलायत गत शुक्रबार अर्थात् मार्च २९ तारिखमै बाहिरिनुपर्ने थियो तर प्रधानमन्त्री मेले गत साता युरोपेली नेताहरु समक्ष केही समय दिन आग्रह गरेकी थिइन्। बेलायती संसद्को उक्त कदमलगत्तै युरोपेली परिषद् अध्यक्ष डोनाल्ड टस्कले अप्रिल १० मा ब्रसेल्समा आपतकालीन बैठक बोलाएका छन्। इयूले बेलायतसम्बन्धी निर्णयका लागि अप्रिल १२ को नयाँ मिति तोकेको छ। सो मितिमा दुई वटा विकल्प रहने बताइएको छ। सो विकल्पअनुसार बिना सम्झौता बेलायत इयूबाट बाहिरिने छ वा नयाँ विधिका साथ लामो समयावधि बेलायतसमक्ष उपलब्ध हुनेछ।

यसैबीच, युरोपेली संसद्को निर्वाचन आगामी मे महिनामा हुँदैछ। प्रधानमन्त्री मेले सो चुनावमा बेलायती जनतालाई मतदान गराउने कुरा अस्वीकार्य हुने स्पष्ट गरेकी छन्। इयूबाट बाहिरिने विषयमा सन् २०१६ मा बेलायतमा भएको जनमतसंग्रहमा भाग लिइसकेका जनतालाई पुनः युरोपेली संसद्को निर्वाचनमा सहभागी गराउनु ठीक नहुने प्रधानमन्त्री मेले बताएकी छन्। बेलायती सांसदहरुले प्रधानमन्त्री मेले इयूसँग गरेको सम्झौतालाई अस्वीकृत गरिसकेका छन्। फ्रान्स र जर्मनीले बेलायतले आफ्नो धारणा सुस्पष्ट रूपमा अगाडि ल्याउनुपर्ने जोड दिँदै आएका छन्।

यसैबीच संसद्मा तीन पटकसम्म ब्रेक्जिटसम्बन्धी प्रस्ताव असफल भए पनि बेलायती प्रधानमन्त्री मे र उनको मन्त्रिपरिषद्ले चौथो पटक पनि ब्रेक्जिट सम्झौतासम्बन्धी प्रस्ताव संसद्मा ल्याउने तयारी गरिरहेको बुझिएको छ। ५८ मतले शुक्रबार आफूले ल्याएको प्रस्ताव असफल भएपछि प्रधानमन्त्री मेले ब्रेक्जिटबारे वैकल्पिक उपाय अघि सानुपर्ने बताएकी थिइन्। सोमबार हुने दोस्रो तहको निर्वाचनमा बेलायती संसद्मा प्रतिनिधित्व गर्ने सबै दलले अन्य विकल्पमाथि मतदान गर्ने अनुमान गरिएको छ।

प्रकाशित: १७ चैत्र २०७५ ०५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App