१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

धाँधली भएको पूर्वप्रधानमन्त्री थाक्सिनको दाबी

बैंकक – थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले आइतबारको निर्वाचन धाँधलीले भरिएको आरोप लगाएका छन्। सन् २००६ मा पदच्युत गरिएका थाक्सिन हाल स्वघोषित रूपमा निर्वासनमा रहेका छन्। आइतबार सम्पन्न निर्वाचनमा सहभागी हुन बञ्चित गरिएका थाक्सिनले पटकपटक स्थगन भएर सम्पन्न भएको निर्वाचनमा पनि धाँधली भएकाले आफूलाई चिन्तित बनाएको बताएका छन्। 

सन् २०१४ मा थाक्सिनकी बहिनी यिङ्लक सिनावात्रालाई सैन्य ‘कू’ मार्फत् हटाइएदेखि थाइल्यान्डमा आइतबार पहिलो पटक निर्वाचन भएको थियो। थाइल्यान्डको निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक मत परिणामअनुसार सेना समर्थित पालाङ प्रचा रथ पार्टी (पिपिआरपी)ले ठूलो मात्रामा पपुलर मत प्राप्त गरेको छ। तर थाक्सिनसँग सम्बन्ध रहेको विपक्षी दल फेउ थाईले भने देशको संसद्को धेरै सिट जितेको छ। फेउ थाईले थाइल्यान्डमा सन् २००१ पछि सम्पन्न भएका सबै निर्वाचन जितेको छ। 

यद्यपि देशको निर्वाचन आयोगले अन्तिम नतिजा भने सार्वजनिक गरिसकेको छैन र वर्तमान थाई संविधानअनुसार शक्तिशाली सेनाका लागि कुल ७५० सिटमध्ये २५० सिट छुट्याइएकाले पनि कुन दलले नयाँ सरकार बनाउँछ भन्ने अन्यौल अझै पनि कायम नै रहेको बिबिसीले उल्लेख गरेको छ। 

निर्वाचन आयोगले आइतबार सम्पन्न मतदानको अन्तिम मत परिणाम आउँदो मे महिनामा सार्वजनिक गर्ने बताइसकेका कारण पनि थाइल्यान्डको राजनीति थप पेचिलो बनेको छ। मे महिनासम्म थाइल्यान्डका दलहरुले हप्तौंसम्म नयाँ सरकार बनाउनका लागि छलफल चलाउने अनुमान गरिएको छ। गठबन्धन सरकार बनाउने बारे पनि सेना समर्थित पिपिआरपी र विपक्षी फेउ थाईले आ–आफ्नै तहबाट छलफल सुरु गरेको बताएका छन्। 

दलहरु गठबन्धन सरकार बनाउने बारे छलफल चलाए पनि आइतबारको निर्वाचन निष्पक्ष नभएको र धाँधलीयुक्त भएको आरोपका घटना पनि सार्वजनिक भइरहेका छन्। निर्वाचनमा भएको मतदानको प्रतिशत पनि झुटो भएको बताइएको छ। यसैगरी मतदाता संख्या र मत पत्र पनि फरक पाइएको बिबिसीले उल्लेख गरेको छ। सरकारी अधिकारीहरुले भने बाहिर आएजस्तो अवस्था नभई ‘मानवीय त्रुटी’ का कारणमात्रै आंकडा फरक आएको दाबी गरेका छन्। 

थाक्सिनलाई सन् २००६ मा सैन्य कूमार्फत् सत्ताबाट हटाइएको थियो। शक्तिको दुरुपयोग गरेको आरोपमा देशमा पक्राउ पर्ने डरले हाल उनी स्वघोषित रूवमा निर्वासनमा रहेका छन्। उनी निर्वासनमा रहे पनि थाइल्यान्डमा उनको प्रभाव कायम नै रहेको छ। 

‘लामो समयपछि भएको निर्वाचनमा पनि असंख्य धाँधलीका विवरण बाहिरिएका छन् जसले मेरो देशको राजनीति र निर्वाचन प्रणाली कति पछाडि छ भनेर चिन्तित बनाएको छ,’ बिबिसी हङकङसँग बोल्दै थाक्सिनले बताए। ‘पेटचाबुन प्रान्तबाट बाहिरिएको दृश्यमा एउटा स्थानीय कार्यालयमा मतपेटिका बाहिर लगेको र त्यसपछि फेरी भित्र ल्याएको देखिएको छ,’ निर्वाचनमा भएको धाँधलीको एउटा उदाहरण उद्धृत गर्दै थाक्सिनले बताए। 

उनले कैयौं निर्वाचन क्षेत्रमा मतदाताले मतदान गरेको भन्दा बढी मतपत्र भेटिएको दाबीसमेत गरेका छन्। सोही कारणले नै पिपिआरपी तेस्रो दलबाट उक्लिएर पहिलो दल बनेको उनको जिकिर छ। ‘कतिपय निर्वाचन क्षेत्रमा पराजित भइसकेको पिपिआरपीले जितेको छ। यस्तो अवस्थाले हाम्रो देशको विश्वसनियता घटिरहेको मैले देखेको छु,’ थाक्सिनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। 

 

प्रकाशित: १३ चैत्र २०७५ ०२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App