१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

क्लिन्टन सन् २०२० मा राष्ट्रपतिको उम्मेदवार नबन्ने

वासिङ्टन - अमेरिकी पूर्वविदेश मन्त्री एवं सन् २०१६ मा डेमोक्रेट पार्टीबाट राष्ट्रपतिकी उम्मेद्वार हिलारी क्लिन्टनले आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारीका लागि दाबी नरहने बताएकी छन् । आफू उम्मेद्वार नरहे पनि निर्वाचनमा सक्रियका साथ सहकर्मीको प्रचारप्रसारमा लाग्ने उनले बताइन् । 

प्रसिद्ध अमेरिकी टेलिभिजन ‘न्युज १२’ द्वारा सोमबार प्रसारण गरिएको अन्तर्वार्तामा सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको प्रतिस्पर्धामा डोनाल्ड ट्रम्पसँग पराजित बनेकी हिलारीले भनिन्, ‘ म राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्दिनँ तर म सक्रियताका साथ डेमोक्रेटिक पार्टीको पक्षमा प्रचारप्रसारमा लाग्नेछु ।’ देशमा हुने निर्वाचनमा को उम्मेद्वार हुन्छ भन्ने सवाललाई लिएर सोधिने प्रश्नले आफूलाई साँच्चै समस्यामा पार्ने गरेको क्लिन्टनले बताइन् । 

‘ट्रम्प प्रशासनले गर्न नसकेका वास्तविक समस्या र प्रतिबद्धता पूरा नभएका विषयको लामो सूची छ त्यसैले कुनै कुरालाई ग्यारेन्टीसाथ नलिनुस्,’ उनले डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदका आकांक्षीहरूलाई संकेत गर्दै भनिन् । 
सन् २०१६ को डेमोक्रेटिक उम्मेद्वार रहेको बेला क्लिन्टन अमेरिकाको इतिहासमै पहिलो पटक महिला राष्ट्रपति बन्ने अनुमान गरिएको थियो । तर उनले आश्चर्यजनक रूपमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पराजय भोग्नु प¥यो । 
न्युज १२ ले के तपाईं भविष्यमा सार्वजनिक पदका लागि पुनः प्रतिस्पर्धा  गर्नुहुन्छ भनेर गरेको प्रश्नमा जबाफ दिँदै उनले भनिन्, ‘मलाई लाग्दैन मैले त्यस्तो गर्छु ।’

सन् २०२० मा हुने अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्पलाई पुनः टक्कर दिन क्लिन्टन उम्मेद्वार हुने अनुमानकै बीच पहिलो पटक उनले त्यो अनुमान विपरीत आफ्नो भनाइ अन्तर्वार्तामार्फत् राखेको बिबिसीले उल्लेख गरेको छ । उनले सन् २०२० मा राष्ट्रपतीय उम्मेद्वारी घोषणा गरिसकेको केही मानिसँग कुराकानी गरेको र सबैलाई सोच विचार गरेर निर्णय लिन आग्रह गरेको बताइन् । 

अमेरिकी इतिहासमै क्लिन्टन अमेरिकी प्रमुख दलको तर्फबाट उम्मेद्वार बन्न सफल पहिलो महिला हुन् । उनी देशको सर्वोच्च पदमा आसिन हुने चौतर्फी अनुमान गरिएको थियो । तर सबैको अनुमानविपरीत ट्रम्पले बाजी मारेका थिए । उनको धनी अमेरिकी व्यापारिकसँग मात्रै नजिकको सम्बन्ध रहेको र युवा मतदातासम्म पहुँच नपुगेकाले निर्वाचनमा पराजय भोग्नु परेको कतिपय आलोचकहरुले बताउने गरेका छन् ।

 

प्रकाशित: २२ फाल्गुन २०७५ ०२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App