८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

परिपक्व इमरान ! प्रतीक्षा मोदीको

काठमाडाैं - आणविक अस्त्र सुसज्जित भारत पाकिस्तानबीच देखिएको तनाव केही मत्थर हुने संकेत देखिएको छ। बुधबार पाकिस्तान सीमा क्षेत्र प्रवेश गरेको भारतीय वायुसेनालाई पाकिस्तानी सेनाले खसालेको थियो। त्यस क्रममा भारतीय वायुसेनाका पाइलट पाकिस्तानी सैन्य नियन्त्रणमा परेका थिए। पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका ती पाइलट अभिनन्दन वर्थमानलाई पाकिस्तानले रिहा गर्ने निर्णयसँगै स्थिति केही साम्य हुने अनुमान गरिएको छ।

भारतीय सेनाले फागुन २ गते भारतको काश्मिरस्थित पुलवामा जिल्लामा भएको आत्मघाती हमलाको जवाफ दिन मंगलबार पाकिस्तानको बालाकोटमा हमला गरेको थियो। पुलवामा भएको हमलामा करिब ४० भारतीय अर्धसैन्यको निधन भएको थियो।

बिहीबार पाकिस्तानको संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री इमरान खानले भारतीय पाइटललाई रिहा गर्ने बताएका थिए। संसद्मा बोल्दै खानले भनेका थिए, ‘हामी स्थितिलाई थप अन्योलग्रस्त बनाउन चाहँदैनौं, त्यसैले नियन्त्रणमा रहेका भारतीय सेनाका पाइलटलाई शुक्रबार मुक्त गर्दै छौं।’ पाकिस्तानको निर्णयलाई भारतले कमजोरी नसोचोस् भन्दै प्रधानमन्त्री खानले पाकिस्तानी सेनालाई युद्धको मूल्य थाहा भएको बताए। साथै उनले पाइलटलाई रिहा गर्दै आफ्नो तर्फबाट अवस्था साम्य पार्ने बताएका थिए।

भारतीय सेनाले फागुन २ गते भारतको काश्मिरस्थित पुलवामा जिल्लामा भएको आत्मघाती हमलाको जवाफ दिन मंगलबार पाकिस्तानको बालाकोटमा हमला गरेको थियो। पुलवामा भएको हमलामा करिब ४० भारतीय अर्धसैन्यको निधन भएको थियो।

पुलवामामा आक्रमणको जिम्मा लिएको आतंकवादी संगठन जैस–इ–महम्मदको इलाका रहेको बताउँदै भारतीय वायुसेनाले पाकिस्तानको बालाकोटमा आक्रमण गरेको बताएको छ। यस्तै बुधबार भएको आक्रमणलाई इंगित गर्दै प्रधानमन्त्री खानले संसद्मा विशेष समय लिएर बोल्दै भनेका थिए, ‘पाकिस्तानमाथि भएको आक्रमणको जवाफ दिन बुधबार दुई भारतीय सैन्य विमान खसाएका हौं।’ भारतीय सैन्य विमान खसाएपछि भारतीय पाइटल वर्थमानलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो।

भारतीय सेनाका पाइटललाई पाकिस्तानले फिर्ता गर्ने कदम स्वागतयोग्य भएको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक स्वरन सिंहले बताए। गएको ४८ घण्टामा दुवै देशको तर्फबाट कुनै हवाई र सैन्य आक्रमण नभएको बताउँदै स्थिति शान्तिउन्मुख रहेको उनको दाबी छ। सिंहले भने, ‘जेनभा अभिसन्धिअनुरूप हुन लागेको उक्त निर्णयले यस क्षेत्रमा मडारिन थालेको द्वन्द्वको त्रासलाई कम गरेको छ।

बढ्दो तनावबीच स्थितिलाई नियन्त्रण गर्न पाकिस्तानले दुई देशीय विदेशमन्त्रीको भेटघाट गराउने प्रयास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्। पाकिस्तानी पहललाई भारतले अस्वीकार गरेको बताइन्छ भने पाकिस्तानी नियन्त्रणमा रहेका आफ्ना पाइलटलाई बिनाशर्त फिर्ता गर्नुपर्ने भारतले बताएको थियो।

दुई देशबीचको बढ्दो तनाव नियन्त्रणमा लिन पाकिस्तानी प्रधानमन्त्री खानले चालेको कदमले शान्तिलाई महत्व दिएको दाबी गरिएको छ। भारत र पाकिस्तान दुवै सार्क सदस्य मुलुक हुन्। नेपाल सार्कको वर्तमान अध्यक्ष राष्ट्र भएको हैसियतले केही दिनअघि दुवै देशलाई संयम कायम गर्न आह्वान गर्दै नेपाल सरकारले प्रेस विज्ञप्ति निकालेको थियो।

पुलवामामा हमलापछि पाकिस्तानी प्रधानमन्त्री खानले पनि शान्तिलाई एक अवसर दिन आफ्ना भारतीय समकक्षीसँग आग्रह गरेका थिए। भारतमा आगामी अप्रिल–मेमा १७ औं लोकसभा निर्वाचन हुँदै छ। यही निर्वाचनलाई ध्यानमा राख्दै पाकिस्तानी प्रधानमन्त्रीले गरेको शान्ति प्रयास फलदायी नहुने बताउँछन् टोकियो विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका वरिष्ठ प्राध्यापक स्टेफन न्यागी। ‘अगामी अप्रिलमा हुने भारतको निर्वाचनले गर्दा पनि पाकिस्तानका तर्फबाट प्रयास गरिएको शान्ति प्रयास खासै फलदायी हुने देखिँदैन,’ न्यागी भन्छन्, ‘चुनावी एजेण्डामा कमजोर देखिएका भारतीय प्रधानमन्त्रीलाई पुलवामा हमलाका कारण चुनावी एजेण्डा प्राप्त भएको छ, जुन उनी सजिलै गुमाउन चाहँदैनन्।’

बिहीबार पाकिस्तानको संसद्मा बोल्दै पाकिस्तानी प्रधानमन्त्री खानले पनि आउँदै गरेको भारतको निर्वाचनलाई लक्ष्य गर्दै अभिव्यक्ति दिएका थिए। उनले भनेका थिए, ‘भारतमा केही समयपछि निर्वाचन आउँदै छ, पाकिस्तान–भारतबीचको हालको सम्बन्धलाई चुनावी एजेण्डा बनाउने प्रयास हुन सक्छ। तर हामी शान्तिको पक्षमा छौँ।’

मंगलबार बिहान भारतीय वायुसेनाले पाकिस्तानको बालाकोटमा गरेको सैन्य हमलापछि सोही दिन भारतमा आयोजित संसारकै ठूलो भागवत गीताको किताब विमोचन कार्यक्रममा प्रधानमन्त्री मोदीले ‘भारत अब सुरक्षित हातमा छ,’ भनेका थिए। सन् २००१ मा भएको भारतको संसद् हमला र सन् २००८ मा भएको मुम्बई हमलाको तत्कालीन समयमा भारतमा कांग्रेस आईको सरकार थियो। उक्त सरकारले पाकिस्तान समर्थित आतंककारीले गरेको आक्रमणको कुनै जवाफ नदिएको उल्लेख गर्दै भारतभित्र मोदी सरकारको कदमको प्रशंसा पनि गरिएको छ।

गत अगस्टमा भएको पाकिस्तानको निर्वाचनमा पाकिस्तानका पूर्वक्रिकेटर खानको पार्टी तारेक ए इन्साफ (पीटीआई)ले जितेपछि उनी प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। प्रधानमन्त्रीमा नियुक्त भएपछि वरिष्ठ व्यक्तिहरूले प्रयोग गर्ने हवाई सुविधा घटाउने, तीन कोठाको घरलाई प्रधानमन्त्री निवास बनाउँदै प्रधानमन्त्री निवासलाई विश्वविद्यालय बनाएर खानले अन्तर्राष्ट्रिय जगतमा निकै चर्चा कमाएका थिए। पछिल्लो समय बढ्दै गएको भारत–पाकबीचको तनावपूर्ण सम्बन्ध मत्थर पार्न उनले चालेको परिपक्व निर्णयको प्रशंसा भइरहेको छ। घटनापछि भारतीय प्रधानमन्त्री मोदीले चाल्ने कदमको प्रतीक्षा छ। उनले आगामी निर्वाचनलक्षित पाकिस्तान नीति अख्तियार गर्छन् या शान्तिउन्मुख कदम चाल्छन्। 

प्रकाशित: १७ फाल्गुन २०७५ १२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App