८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

संकटकालबारे प्रतिक्रिया दिएको भन्दै सम्पादक पक्राउ

खार्तुम – सरकारले संकटकाल लगाउनु गलत भएको भन्दै प्रतिक्रिया दिएका सुडानको एउटा प्रसिद्ध पत्रिकाका सम्पादकलाई देशको सुरक्षा निकायले पक्राउ गरेको उनको पारिवारिक स्रोतलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएएफपीले उल्लेख गरेको छ। 

सुडानका राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा संकटकालको घोषणा गर्दै सरकारको विघटन गर्नु सही कदम नभएको भन्दै सम्पादकले टेलिभिजनमार्फत् प्रतिक्रिया दिएको आरोपमा सुरक्षा निकायले उनलाई पक्राउ गरेको उनको पारिवारिक स्रोतले शनिबार जानकारी गराएको छ। सुडानको प्रसिद्ध पत्रिका ‘अल–तायर दैनिक’का प्रधान सम्पादक ओस्मान मिर्घानीलाई सुरक्षाकर्मीले शुक्रबार राति उनकै कार्यालयबाट पक्राउ गरेको उनका भाइ अली मिर्घानीले एएफपीलाई जानकारी दिएका छन्। 

सम्पादक मिर्घानीले बसिरको तीन दशक पुरानो शासनविरूद्ध केही सातादेखि भइरहेको आन्दोलनलाई दबाउन संकटकालको घोषणा गर्ने पछिल्लो कदम गलत भएको बताएलगत्तै सुरक्षाकर्मीले उनकै कार्यालयबाट गिरफ्तार गरेका थिए। ‘राष्ट्रपतिले संकटकालको घोषणा गरेपछि मेरो दाजुले यसबारे अरबी सञ्चारमाध्यमार्फत प्रतिक्रिया दिनुभएको थियो। त्यसपछि उहाँलाई कार्यालयमा छापामारी पक्राउ गरिएको थियो। अहिलेसम्म उहाँलाई कहाँ लगिएको र कुन अवस्थामा राखिएको छ भन्नेबारे केही बताइएको छैन,’ भाइ अली मिर्घानीले बताए। ‘सुडानी राष्ट्रिय गुप्तचर तथा सुरक्षा सेवाका अधिकारीले शनिबारका लागि छापिएका अल–तैयरका सबै पत्रिका नियन्त्रणमा लिएको छ,’ उनले बताए। यसबारे प्रतिक्रियाका लागि प्रहरी तथा अन्य सुरक्षा अधिकारीले उपलब्ध हुन नचाहेको एएफपीले जनाएको छ। 

स्काई न्यूज अरेबियाले मिर्घानीसँग शुक्रबार लिएको अन्तर्वातामा के बसिरको नयाँ कदमले आन्दोलित जनताको आक्रोशलाई साम्य गर्नेछ भनी गरिएको प्रश्नमा उनले राष्ट्रपतिको पछिल्लो कदमले झन् आन्दोलनको नयाँ तरंग ल्याउने र ‘यसले जनतालाई सरकार हटाउन थप दबाब दिनुपर्ने सन्देश दिने’ बताएका थिए। अमेरिकाबाट इञ्जिनीयरिङ गरेका मिर्घानीले स्वदेश फर्केर पत्रकारिता सुरु गरेका थिए। उनलाई सुरक्षाकर्मीले समाचार छापेकै कारण पटकपटक नियन्त्रणमा लिई छोडेका थिए। रिपोर्टर्स विदाउट बोडर्स नामक सञ्चारमाध्यम नियमक संस्थाले बताएअनुसार सुडानमा आन्दोलन सुरु भएको दिन गत डिसेम्बर यता कम्तिमा ७९ पत्रकारलाई पक्राउ गरिएको छ। 

सुडान विश्वको प्रेस स्वतन्त्रता सूचीमा १८० मुलकमध्ये १७४ औं स्थानमा पर्छ। आन्दोलनलाई नियन्त्रणमा राख्न राष्ट्रिय संकटकाल घोषणा गरिएको छ। आन्दोलनका क्रममा अहिलेसम्म ३१ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ भने मानव अधिकारवादी संघसंगठनको तथ्याङ्कअनुसार आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाको मृत्यु भएको छ।  सुडानको सरकारले पाउरोटी, पेट्रोलियम पदार्थ लगायतका सामानमा अत्यधिक मूल्य वृद्धि गरेपछि यसको विरोधमा आन्दोलन सुरु भएको थियो।

सन् १९८९ मा इस्लामिक समूहको सहयोगमा राज्य विद्रोह गरी सत्तामा पुगेका ७५ वर्षीय राष्ट्रपति बसिर पछिल्लो आन्दोलनका कारण निकै कमजोर भएको बताउने गरिएको छ।  

प्रकाशित: १२ फाल्गुन २०७५ ०३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App