७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारतलाई पाकिस्तानी प्रमको जवाफ : प्रमाण ल्याउ, हामी एक्सन लिन्छौं

इस्लामावाद– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले काश्मिरको पलुवामा घटनामा पाकिस्तानको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। 

पलुवामा घटनाबारे मंगलवार आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री खानले काश्मिरमा हुने हरेक आक्रमणमा भारतले पाकिस्तानलाई दोषारोपण गर्ने गरेको र पुलवामा घटनामा पनि कुनै प्रमाण विना आरोप लगाएको भन्दै आपत्ति जनाए। ‘यो नयाँ पाकिस्तान हो, नयाँ सोंच छ। हामी चाहँदैनौ कि कोही हाम्रो देशबाट बाहिर गएर आक्रमण गरोस वा बाहिरबाट आएर पाकिस्तानमा आक्रमण गरोस। हामी स्थायित्व चाहन्छौं’, उनले भने। 

यो घटनामा कुनै पाकिस्तानी संलग्न भएको प्रमाण ल्याउन भारतलाई चुनौती दिँदै खानले प्रमाणित भए कारवाही गर्ने स्पष्ट पारे। ‘यदि तपाईहरुसँग कुनै प्रमाण छ भने ल्याउनुस्, म ग्यारेन्टी गर्छु कि हामी एक्सन लिन्छौं’, उनले भने। यदि कसैले पाकिस्तानको भूमि प्रयोग गरेको भए त्यो आफूहरुको स्वार्थ विपरित हुने र त्यसलाई कारवाही गरिने उनको भनाई छ।

प्रधानमन्त्री खानले आतंकवादविरुद्ध वार्ता गर्न भारतलाई प्रस्ताव समेत गरे। ‘हामी चाहन्छौं यो क्षेत्रमा आतंकवाद अन्त्य होस, तपाईहरुसँग वार्ता गर्न तयार छौं।’, उनले भने। पाकिस्तानलाई आतंकवादबाट सबैभन्दा बढी नोक्सानी भएको, आफै १५ वर्षयता आतंकवादसँग लडिरहेको, ७० हजार मानिस मारिएको र सय अर्ब डलरभन्दा बढीको नोक्सान भएको उल्लेख गर्दै खानले प्रश्न गरे, ‘हामी किन अर्काे राज्यमा हमला गर्छाैं। आक्रमण गरेर हामीलाई के फाइदा?’ 

अफगानिस्तानको उदाहरण दिँदै उनले सैनिकबाट काश्मिर समस्या समाधान नहुने र भारतमा वार्ताका लागि नयाँ सोंचको आवश्यकता रहेको औल्याए। छलफल, वार्ताबाट समस्याको समाधान निस्किने उनको भनाई छ। 

भारतमा पाकिस्तानलाई सबक सिकाउनुपर्ने, बदला लिनुपर्ने भन्ने आवाजहरु आफूले सुनेको भन्दै यदि हमला भयो भने पाकिस्तानले तत्काल बदला लिने चेतावनी समेत दिए। ‘युद्ध सुरु गर्नु सहज छ, तर अन्त्य गर्न निकै कठिन हुन्छ’, उनले भने।

प्रधानमन्त्री खानले साउदी राजकुमारको भ्रमणमा आफू व्यस्त रहेका कारण आफूले पुलवामा घटनाबारे ढिलो प्रतिक्रिया दिएको पनि स्पष्ट पारे। 

पुलवामा गत विहीवार भएको आतंकवादी आक्रमणमा ४२ भारतीय सैनिकको मृत्यु भएको छ। यो घटनाको जिम्मेवारी पाकिस्तानी सशस्त्र संगठनले लिएको थियो। भारतले यो घटनाका लागि पाकिस्तान जिम्मेवार रहेको ठहर गर्दै सजाय भोग्नुपर्ने चेतावनी दिइसकेको छ। 

प्रकाशित: ७ फाल्गुन २०७५ ११:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App