७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

राष्ट्रपति मादुरोले गरे ट्रम्पको आलोचना

भेनेजुएली राष्ट्रपति निकोलास मादुरो । तस्बिर : एजेन्सी

कराकस – संघर्षरत भेनेजुएली राष्ट्रपति निकोलास मादुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा शब्दमा आलोचना गरेका छन् । 

उनले ट्रम्प नेतृत्वको सरकार ‘अतिवादीको झुण्ड’ भएको बताउँदै आफ्नो देशमा पछिल्लो समय उत्पन्न भएको संकटपछि अमेरिका दोषी रहेको जिकिर गरेका छन् । 

अमेरिकाले हस्तक्षेप प्रमाणित गर्नका लागि सहायता सामग्रीको बहाना बनाइरहेकाले त्यस्तो सहायता सामग्री भेनेजुएलामा प्रवेश गर्न नदिने राष्ट्रपति मादुरोले बिबिसीसँगको अन्तर्वार्ताका क्रममा बताए । ‘भेनेजुएलालाई आफ्नो पहुँचमा राख्नका लागि उनीहरुले युद्धको बहाना खोजिरहेका छन्,’ अन्तर्वार्तामा मादुरोले बताए । 
विपक्षी नेता उवान गुआइडोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिनुअघि नै अमेरिका र भेनेजुएलाबीचको कूटनीतिक सम्बन्धमा समस्या उत्पन्न भइसकेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुआइडोलाई अन्तरिम नेताको मान्यता दिएपछि त यो विवाद झनै बढेर गएको छ । ट्रम्पले भेनेजुएला समस्याको समाधानका लागि सैन्य हस्तक्षेपको विकल्प बाँकी नै रहेको बताएपछि त झन भेनेजुएला आक्रोशित हुँदै अमेरिकासँगको कूटनीति सम्बन्ध नै तोडिदिएको छ । 
बिबिसीसँगको अन्तर्वार्तामा भेनेजुएलाका राष्ट्रपति मादुरोले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा रहेका अतिवादीहरुलाई विश्व जनमतले परास्त गर्नेमा आफू आशावादी रहेको बताए । आफ्नो कदम भेनेजुएलालाई आफ्नो नियन्त्रणमा लिने योजना बनाइरहेको अमेरिकी साम्राज्यविरुद्धको राजनीतिक लडाइँ भएको राष्ट्रपति मादुरोले राजधानी कराकसमा बिबिसीसँगको अन्तर्वार्तामा बताए । 

जनवरी महिनाको अन्त्यतिर मादुरो नेतृत्वको सरकारको विरोधमा राजधानी कराकसमा गरिएको प्रदर्शनका क्रममा भेनेजुएलाका विपक्षी नेता एवं राष्ट्रिय सभाका अध्यक्ष उवान गुआइडोले आफूले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । 
उनले अन्तरिम राष्ट्रपति घोषणा गरेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई भेनेजुएलाको अन्तरिम नेताको मान्यता दिएका थिए । ट्रम्पको बाटो पछ्याउँदै क्यानडाले पनि गुआइडोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको मान्यता दिएको थियो । 
बेलायत, फ्रान्स, स्पेनलगायतका युरोपेली संघ आबद्ध राष्ट्रहरुको भने सुरुमा आठ दिनको समयसीमा दिएर मादुरोलाई तत्काल राष्ट्रपतीय निर्वाचनको नयाँ मिति तोक्न भनेका थिए । मादुरोले राष्ट्रपति निर्वाचनको मिति नतोके विपक्षी नेता गुआइडोलाई समर्थन गर्ने चेतावनी दिएका थिए । युरोपेली राष्ट्रको चेतावनीलाई वेवास्ता गर्दै राष्ट्रपति मादुरोले राष्ट्रपतीय निर्वाचन नभई संसदीय निर्वाचन गर्न भने आफू तयार रहेको बताएपछि युरोपेली संघ आबद्ध अधिकांश राष्ट्रले पनि विपक्षी नेता गुआइडोलाई नै भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन् । गुआइडोलाई अन्तरिम नेताको मान्यता दिने राष्ट्रको संख्या ४० पुगेको छ ।
उता, राष्ट्रपति मादुरोको पक्षमा भने रुस, चीन, टर्की र मेक्सिकोलगायतका राष्ट्र देखिएका छन् । 
राष्ट्रपति मादुरोमाथि चाँडै नै राष्ट्रपतीय निर्वाचनको मिति घोषणा गर्न आन्तरिक तथा बाह्य दबाब बढिरहेको छ । भेनेजुएला लामो समयदेखि आर्थिक संकटबाट  गुज्रिरहेको राष्ट्र हो । मानवअधिकार उल्लङ्घन तथा व्यापक भ्रष्टाचारको अभियोग खेपिरहेको मादुरो सरकारलाई देशको शक्तिशाली सेनाको भने समर्थन रहेको छ । गत वर्ष सम्पन्न भएको निर्वाचनमा विजयी भएको भन्दै मादुरोले दोस्रो कार्यकालका लागि यसै वर्षको जनवरी महिनाको सुरुमा शपथ लिएपछि भेनेजुएलाको पछिल्लो राजनीतिक संकट सतहमा आएको हो । विपक्षी दलले बहिष्कार गरेको गत वर्ष सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट विजयी भएका मादुरो अवैधानिक राष्ट्रपति भएकाले देशको संविधानअनुसार आफूले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेको विपक्षी नेता गुआइडोको कथन रहेको छ । 
भेनेजुएलाको संविधानअनुसार राष्ट्रपतिकौ गैरउपस्थिति वा वैधानिक राष्ट्रपति नभएका बेला देशको राष्ट्रिय सभाका अध्यक्ष अन्तरिम राष्ट्रपति बन्छन् । त्यसरी अन्तरिम राष्ट्रपति बन्ने राष्ट्रिय सभाका अध्यक्षको प्रखुख कार्य नै लोकतान्त्रिक तरिकाले नयाँ राष्ट्रपतीय निर्वाचन सम्पन्न गराई नवनिर्वाचित राष्ट्रपतिलाई सत्ता हस्तान्तरण गर्नु रहेको हुन्छ ।
विपक्षी नेता उवान गुआइडोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिनुअघि नै अमेरिका र भेनेजुएलाबीचको कूटनीतिक सम्बन्धमा समस्या उत्पन्न भइसकेको थियो ।
 

प्रकाशित: १ फाल्गुन २०७५ ०५:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App