७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

‘भेनेजुएली सेनासँग अमेरिका प्रत्यक्ष सम्पर्कमा छ’

न्युयोर्क – राष्ट्रपति निकोलास मादुरोलाई अस्वीकार गर्न आग्रह गर्दै भेनेजुएली सेनासँग अमेरिका प्रत्यक्ष सम्पर्कमा रहेको अमेरिकी राष्ट्रपति कार्यालयका एक वरिष्ठ अधिकारीले बताएका छन्। अमेरिकाले राष्ट्रपति मादुरोलाई अवेज्ञा गर्न आग्रह गर्दै भेनेजुएली सेनाका वरिष्ठ अधिकारीहरुसँग कुराकानी गरिरहेको ती अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ। 

उनले मादुरोलाई थप दबाब सिर्जना गर्नका लागि ह्वाइट हाउसले भेनेजुएलाविरुद्धमा नयाँ प्रतिबन्धको तयारी गरिरहेको पनि खुलासा गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले हाल मादुरोलाई समर्थन गरिरहेका भेनेजुएली सेनाका अधिकारीहरुले विद्रोह गरुन् भन्ने चाहेको ती अधिकारीले बताए। यद्यपि भेनेजुएलाका विपक्षी नेता एवं राष्ट्रिय सभाका अध्यक्ष उवान गुआइडोले १९ दिनअघि आफूले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरे पनि सेनाका केही सीमित अधिकारीले मात्रै विद्रोह गरेका छन्। सेनाको अधिकांश अधिकारी मादुरोकै पक्षमा रहेका छन्। 

‘सेनाभित्र विद्रोह हुनु भनेको ठूलो ढुंगो खस्नुभन्दा अघिको सानो ढुंगा खसाइका रूपमा हामीले लिने छौं,’ नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले रोयटर्ससँग बताएका छन्। ‘मादुरो शासनका पूर्वअधिकारीहरुसँ हामी अझै पनि छलफलमा रहेका छौं। यद्यपि त्यस्ता छलफल सीमित मात्रामा मात्रै भइरहेको छ,’ ती अधिकारीले रोयटर्ससँग बताए। 

भेनेजुएली कुन तहको सैन्य अधिकारीसँग के कस्तो विषयमा छलफल भइरहेको छ भन्ने विषयमा भने ती अधिकारीले नबताएको र अमेरिकाले गरेको त्यस्तो प्रयासले भेनेजुएली संकटलाई कसरी समाधान गर्छ भन्ने विषय पनि उनले नखोलेको रोयटर्सले उल्लेख गरेको छ। भेनेजुएलाको सेनामा मादुरोको राम्रो  पकड रहेको छ। विपक्षी नेता गुआइडोले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेको केही दिनमै सेनाले आफ्नो समर्थन मादुरोलाई रहेका प्रष्ट पारेको थियो। गत महिना भेनेजुएलाका विपक्षी नेता गुआइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेलगत्तै अमेरिकाले मान्यता दिएको थियो। अमेरिकाकै बाटो पछ्याउँदै क्यानडा र युरोपका शक्तिशाली राष्ट्रले पनि विपक्षी नेता गुआइडोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन्। रुस, चीन, मेक्सिको र टर्कीलगायतका राष्ट्र भने मादुरोको पक्षमा उभिएका छन्। 

 

प्रकाशित: २७ माघ २०७५ ०३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App