८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भेनेजुएला तानाशाह शासनमा रहेको छ : विपक्षी नेता

कराकस – भेनेजुएलाका विपक्षी नेता एवं राष्ट्रिय सभाका अध्यक्ष जुवान गुआइडोले भेनेजुएली नागरिक निकोलास मादुरोको नेतृत्वमा तानाशाही व्यवस्थामा बाँच्न बाध्य भएको आरोप लगाएका छन्।

गत बुधबार राजधानी कराकसमा आयोजित सरकार विरोधी प्रदर्शनमा आफूले आफैंलाई देशको कार्यवाहक राष्ट्रपति घोषणा गरेका विपक्षी नेता गुआइडोले जनता तानाशाही सरकारमा बाँच्न बाध्य भएको भन्दै नयाँ निर्वाचनको माग समेत गरेका छन्। आफूले आफैंलाई राष्ट्रपति घोषणा गरेका गुआइडोलाई अमेरिकालगायत २० भन्दा बढी राष्ट्रले मान्यता दिइसकेका छन्।

राष्ट्रपति निकोलास मादुरोलाई भने रुस, मेक्सिको र चीनलगायतका राष्ट्रले समर्थन गरेका छन्। अमेरिकाले भेनेजुएलामा गैरकानुनी हस्तक्षेप गरेको रुसले आरोप पनि लगाएको छ। भेनेजुएलामा पछिल्लो समय उत्पन्न भएको राजनीतिक तनावका कारण ४० भन्दा बढीको मृत्यु भइसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

बिबिसी मुन्दोसँग राजधानी कराकसमा बोल्दै विपक्षी नेता गुआइडोले आफू अन्तरिम वा कार्यवाहक राष्ट्रपति भएको दाबीको प्रतिरक्षा गरेका छन्। राष्ट्रपति अवैधानिक भएका बेला राष्ट्रिय सभाका अध्यक्षले कार्यवाहक राष्ट्रपतिको भूमिका निभाउन पाउने संवैधानिक व्यवस्थाबमोजिम आफू कार्यवाहक राष्ट्रपति भएको उनको दाबी थियो।

‘भेनेजुएलामा हामीले मादुरो शासनबाट कि त पूरा शोषण र अत्याचार सहिरहनु पर्यो या हाम्रा जनताका लागि स्वतन्त्रता, प्रजातन्त्र र स्थायित्व छनोट गर्नु पर्यो,’ उनले बताए। मादुरो प्रशासनले सडकमा गरीब युवालाई मारिरहेको आरोपसमेत उनले लगाए।

‘मेरो कर्तव्य निष्पक्ष निर्वाचनको माग गर्नु हो किनभने देशमा शक्तिको दुरुपयोग भइरहेको छ र हामी तानाशाही शासनमा बाँच्न बाध्य भइरहेका छौं,’ गुआइडोलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

देशमा नयाँ निर्वाचन गर्नका लागि आफूले अन्तरिम नेताका रूपमा काम गर्न चाहेको दाबी थियो। यद्यपि उनको घोषणाले विश्व समुदायलाई दुई ध्रुवमा विभाजित गरेको छ। गत बुधबार दशौं हजार भेनेजुएली नागरिक मादुरोविरुद्धको प्रदर्शनमा सहभागी भएपछि गुआइडोले यस साता पनि प्रदर्शनमा उत्रन भेनेजुएली नागरिकलाई आह्वान गरेका छन्।

गत मे महिनामा भएको निर्वाचनमा जित हासिल गरेका मादुरोले यसै महिनाको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपति पदको शपथ लिएपछि भेनेजुएलामा उनीविरुद्धमा प्रदर्शन सुरु भएको थियो। सो निर्वाचनमा विपक्षी दलले भाग लिएका थिएनन्। विपक्षीको सहभागिताबिना र पूर्ण रूपमा धाँधली गरेर सम्पन्न गराइएको निर्वाचन अवैधानिक भएको भन्दै विपक्षी नेता एवं राष्ट्रिय सभाका अध्यक्ष गुआइडोले देशको संविधानअनुसार कार्यवाहक राष्ट्रपतिको शपथ लिएको बताउँदै आएका छन्। उनका अनुसार राष्ट्रपतिको गैरउपस्थितिमा भेनेजुएलाको संविधानअनुसार राष्ट्रिय सभाका अध्यक्ष कार्यवाहक राष्ट्रपति हुने गर्दछ।

भेनेजुएला बृहत् आर्थिक संकटबाट गुज्रिरहेको राष्ट्र हो। मुद्रास्फ्रिति र औषधी र खाद्यान्नजस्ता अति उपभोग्य सामानको अभावका कारण लाखौं भेनेजुएली नागरिक अन्य राष्ट्रमा शरणार्थी जीवन बिताउन बाध्य भइरहेका छन्।

प्रकाशित: १६ माघ २०७५ ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App