१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

ट्रम्पको पत्रले उत्तर कोरियाली नेता किम दंग

सोल – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको पत्र पढेर उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन निकै सन्तुष्ट भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। गत साता किमको सन्देश लिएर ट्रम्पलाई अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भेटेका नेता किमका निकटम सहयोगी किम योङ–चोलको हातमा ट्रम्पले सो पत्र पठाएका थिए।

किम अत्यन्तै सन्तुष्ट भएको भनिएको पत्रमा भएका विषयवस्तुबारे भने प्रष्ट पारिएको छैन। तर उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसिएनएले यसबारे दिएको समाचारबाट नेता किम सन्तुष्ट भएको संकेत देखिन्छ। ‘किम जोङ–उनले राष्ट्रपति ट्रम्पको सकारात्मक सोचाइमा आफूहरुलाई विश्वास भएको बताएका छन्। साथै संयमतापूर्वक र असल नियतका साथ पर्खदै अनि सँगसँगै दुई देशले हासिल गर्नुपर्ने लक्ष्यतर्फ अघि बढ्ने पनि उनले बताएका छन्,’ उत्तर कोरियाली समाचार एजेन्सी केसिएनएले उल्लेख गरेको छ। किमले अमेरिका–उत्तर कोरियाबीचको दोस्रो शिखर सम्मेलन’का लागि देखाएको अस्वाभाविक दृढता एवं इच्छाशक्तिका निम्ति राष्ट्रपति ट्रम्पले पत्रमा उच्च प्रशंसा गरेको केसिएनएको रिपोर्टमा जनाइएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच फेब्रुअरी महिनाको अन्त्यमा दोस्रो पटक भेट हुने तयारी भइरहेको ह्वाइट हाउसले जनाएको छ। यसअघि दुई नेताबीचको पहिलो ऐतिहासिक शिखर बैठक गत वर्षको जुन १२ का दिन एसियाली मुलुक सिंगापुरमा भएको थियो। सिंगापुर बैठकका बेला ट्रम्प र किमबीच उत्तर कोरियालाई कसरी आणविक निःशस्त्रीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो। कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरण गर्नेबारे दुई नेताबीच मिलेर काम गर्ने सहमति भए पनि त्यस विषयमा उल्लेख्य प्रगति भने भएको छैन। यद्यपि दुई नेताबीच हुने दोस्रो शिखर बैठकको भने तयारी तीव्र गतिमा भइरहेको छ।

ट्रम्पसँग पहिलो बैठक गर्नुअघि चीन भ्रमणमा गएका नेता किम हालैमात्र पनि चीनको भ्रमणमा जानुले निकट भविष्यमै अमेरिका–उत्तर कोरियाबीच शिखर बैठक हुने अनुमान चलिरहेकै बेला ह्वाइट हाउसले फेब्रुअरी महिनाको अन्त्यमा दुई नेताबीच बैठक हुने बताएको छ। यद्यपि दोस्रो शिखर बैठक कहाँ र कुन मितिमा हुने भने खुलाइएको छैन। केही राजनीतिक विश्लेषकहरुले भने बैठक भियतनाममा हुनसक्ने बताएका छन्। 

प्रकाशित: ११ माघ २०७५ ०५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App