१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

‘दोस्रो अमेरिका–उत्तर कोरिया बैठकले ठोस निर्णय दिनुपर्छ’

दक्षिण कोरियाली विदेशमन्त्री काङ क्युङ–ह्वा। तस्बिर : रोयटर्स

सोल – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच हुने दोस्रो शिखर बैठकले ठोस नतिजा दिनुपर्ने दक्षिण कोरियाले बताएको छ। फेब्रुअरी महिनाको अन्त्यतिर हुने अनुमान गरिएको ट्रम्प–किम शिखर बैठकले कोरियाली प्रायःद्वीपलाई निःशस्त्रीकरण गर्नेबारे ठोस नतिजा दिनुपर्ने दक्षिण कोरियाका एक उच्च कूटनीतिज्ञले बुधबार बताएकी छन्।

दक्षिण कोरियाकी विदेशमन्त्री काङ क्युङ–ह्वाले स्विजरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको सभामा यस्तो धारणा व्यक्त गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। डाभोसमा भइरहेको सम्मेलनमा विदेशमन्त्री काङले समग्र विश्व समुदायले उत्तर कोरियाले उसको आणविक हतियार तथा क्षेप्यास्त्र कार्यक्रम त्यागोस् भन्ने माग गरिरहेको बताइन्। उनले विश्व जगतको मागलाई ध्यानमा राखेर उत्तर कोरियाले कोरियाली प्रायःद्वीपलाई निःशस्त्रीकरण गर्न र दीर्घकालीन शान्ति स्थापना गर्नका लागि साँच्चिकै ठूलो निर्णय गर्नुपर्नेमा समेत जोड दिएको रोयटर्सले उल्लेख गरेको छ।

गत वर्षको जुन १२ का दिन एसियाली मुलुक सिंगापुरमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किमबीच ऐतिहासिक शिखर बैठक भएको थियो। सो बैठक कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीचको पहिलो शिखर बैठक भएकाले ऐतिहासिक बनेको थियो।

बैठकमा उत्तर कोरियाली नेता किमले कोरियाली प्रायःद्वीपलाई आणविक हतियाररहित बनाउन आफू प्रतिबद्ध रहेको बताएका थिए। त्यसको बदलामा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको सुरक्षाको ग्यारेन्टी अमेरिकाले लिने बताएका थिए। दुई नेताबीच सो शिखर बैठकमा कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरण गर्नका लागि मिलेर काम गर्ने सहमतिसमेत भएको थियो।

सहमतिबमोजिम नै उत्तर कोरियाले आफ्नो आणविक परीक्षण केन्द्र ध्वस्त बनाएको दाबी गर्दै आएको छ। यद्यपि उसले आफूमाथि लाग्दै आएको प्रतिबन्ध नहटे आणविक कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएपछि दुई देशबीच पुनः केही समस्या देखिएको थियो। तर उत्तर कोरियाली नेता किमले नयाँ वर्षको उपलक्ष्यमा गरेको सम्बोधनमा आफू कुनै पनि बेला अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट गर्न तयार रहेको बताएपछि पुनः दुई नेताबीच भेट हुने कार्यक्रम तय भएको छ।

यसबीच उत्तर कोरियाली विशेष दूतले बैठकबारे नेता किमले लेखेको पत्र अमेरिकी राष्ट्रपति ट्रम्पलाई हस्तान्तरण गरेको समाचार बाहिरिएको छ भने फेब्रुअरी महिनाको अन्त्यतिर ट्रम्प र किमबीच बैठक गर्ने गरी तयारी भइरहेको बताइएको छ। यद्यपि बैठक कहाँ हुने भन्नेबारे भने दुवै देशका अधिकारीहरु छलफलमा रहेको विवरण प्राप्त भएको छ।

प्रकाशित: १० माघ २०७५ ०६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App