६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

तत्काल आपतकाल घोषणा नगर्ने राष्ट्रपति ट्रम्पको भनाई

अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको विरोध गर्दै क्यालिफोर्नियामा निकालिएको र्‍यालीका सहभागी। तस्बिर : एजेन्सी

वासिङ्टन - संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संघीय कार्यालय आंशिक बन्द भइरहेको सन्दर्भमा त्यसलाई खुलाउन आफूले तत्काल आपतकालीन स्थितिको घोषणा नगर्ने बताएका छन्। बजेट अभावमा एक चौथाईसंघीय कार्यालय बन्द भएको आइतबार २३औं दिनमा प्रवेश गरेको छ। राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्न माग गरेको ५७ अर्ब अमेरिकी डलर बजेट संसद्ले पारित नगरे बजेट नै स्वीकृत नगर्ने अडान राख्दै आएका छन्।

अमेरिकी तल्लो सदनमा बहुमतमा रहेको विपक्षी डेमोक्रेट पार्टीले पर्खाल निर्माणका लागि राष्ट्रपतिले माग गरेको रकम कुनैपनि हालतमा पारित गर्न नसक्ने बताउँदै आएको छ। सो दलले पर्खाल निर्माणको कार्य अनुत्पादक र खर्चिलो भएको भन्दै मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीबाट अमेरिकाको आन्तरिक सुरक्षामा कुनै खतरा नरहेको दाबी गरिरहेका छन्।

राष्ट्रपति ट्रम्पले भने मध्यअमेरिकी मुलुकबाट अमेरिका प्रवेश गरेका आप्रवासीका कारण अमेरिकाको आन्तरिक सुरक्षामा ठूलो खतरा रहेको भएकाले अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउन आवश्यक रहेको जिकिर गर्दै आएका छन्। सीमामा पर्खाल लगाउने भन्ने योजना राष्ट्रपति ट्रम्पको राष्ट्रपतीय उम्मेद्वार रहँदाको प्रमुख राजनीतिक प्रतिबद्धतासमेत हो।  उनले मध्य अमेरिकाबाट संयुक्त राज्य अमेरिकामा लागूऔषध भित्रिएको, हत्याहिंसा बढेको, सामाजिक विकृति र विसंगति बढेको आरोप लगाउँदै पर्खाल निर्माणको औचित्यता रहेको प्रमाण पेश गर्दै आए पनि गत नोभेम्बरमा सम्पन्न भएको अमेरिकी मध्यावधि निर्वाचनबाट अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा बहुमत पुर्‍याएको डेमोक्रेट पार्टीले भने ट्रम्पको योजनाको विरोध गर्र्दै आएको छ।

आपतकालीन स्थिति घोषणा गरी पर्खाल निर्माणका लागि आवश्यक बजेट छुट्याउन किन ढिलाई गरेको भनी फक्स न्युजले राखेको जिज्ञासामा राष्ट्रपति ट्रम्पले भने, ‘म विपक्षी डेमोक्रेट पार्टीका सांसदलाई अझै केही समय दिन चाहन्छु। मेरो विचारमा उनीहरुले अवश्य जिम्मेवारीका साथ निर्णय लिनेछन्।’ बजेट अभावमा अमेरिकामा संघीय कार्यालय यति लामो अवधिसम्म बन्द भएको यो पहिलो घटना हो। अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको कार्यकालमा सन् १९९५–९६ मा २१ दिनसम्म अमेरिकी संघीय कार्यालय बन्द भएका थिए।

राष्ट्रपति ट्रम्पले आफ्नो प्रस्ताव ठीक रहेको भन्दै शनिबार धेरैपटक ट्विट गरेका थिए। दक्षिणी सीमामा जारी ठूलो मानवीय संकट अन्त्य गर्न पनि बजेट आवश्यक रहेको उनको भनाइ छ। ‘डेमोक्रेट सांसदले यो समस्या १५ मिनेटमा सुल्झाउन सक्छन्,’ ट्रम्पको एउटा ट्विट उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले लेखेको छ। ‘डेमोक्रेट साथीलाई पर्खेर हामी ह्वाइट हाउसमा बसेका छौं। हामी पनि लामो छुट्टीमा जान चाहन्छौं। म पर्खालसहितको बजेटमा हस्ताक्षर गर्न ह्वाइट हाउसमा प्रतिक्षारत छु,’ लगत्तै अर्को ट्विटमा राष्ट्रपति ट्रम्पले लेखेका छन्। सीमामा पर्खाल लगाउन आवश्यक पर्ने बजेटको विषयमा राष्ट्रपति ट्रम्प र डेमोक्रेटबीचको विवादका कारण बजेट स्वीकृत नभएको परिणामस्वरुप आठ लाख कर्मचारी तलबविहीन भएका छन्। बजेट अभावमा संघीय जाँच ब्युरो, एयर ट्राफिक कन्ट्रोलर र संग्रहालयमा कार्यरत कर्मचारीले यस वर्षको पहिलो तलब शुक्रबार पाएनन्। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा शुक्रबार भएको सीमा सुरक्षासम्बन्धी एक बैठकमा राष्ट्रपति ट्रम्पले भनेका थिए, ‘यदि डेमोक्रेटले बजेट पारित नगर्ने हो भने म राष्ट्रिय आपतकाल घोषणा गर्नेछु। मसँग त्यस्तो घोषणा गर्ने पूर्णअधिकार छ।’

ट्रम्पले सो कदम आफ्नै लागि घातक हुने थाहा पाएका छन् किनभने त्यस्तो कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्ने निश्चित छ। विपक्षी डेमोक्रेट पार्टीले राष्ट्रपतिबाट बिना आधार आपतकाल घोषणा गरिए सो कदम संविधान उल्लङ्घनको घटना हुने बताउँदै आएका छन्।

प्रकाशित: ३० पुस २०७५ ०३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App