coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा सरकारी कार्यालय बन्दको रेकर्ड

वासिङ्टनस्थित ह्वाइट हाउसको क्याबिनेट रुममा सीमा सुरक्षाबारे स्थानीय नेताहरुसँग छलफल गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (बीचमा)। तस्बिर : एजेन्सी

वासिङ्टन– बजेट अभावमा आंशिक रूपमा भइरहेको अमेरिकी संघीय कार्यालय बन्दले नयाँ रेकर्ड कायम गरेको छ।अमेरिकी इतिहासमै खर्चबन्दीका कारण लामो समयसम्म संघीय कार्यालय बन्द भएको यो पहिलो घटना हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउन माग गरेको बजेट देशको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स्मा बहुमत रहेको विपक्षी डेमोक्रेटले पास गर्न अस्वीकार गरेपछि पछिल्लो खर्चबन्दी सुरु भएको थियो। आफ्नो महत्वकांक्षी योजनाका लागि बजेट प्राप्त नहुने भएपछि राष्ट्रपति ट्रम्पले बजेटमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि अमेरिकामा खर्चबन्दी भएको थियो, जसका कारण आठ लाखभन्दा बढी कर्मचारीले तलब नपाउने भएका छन्। 

लामो समयसम्म अमेरिकी संघीय कार्यालयहरु आंशिक रूपमा बन्द भए पनि तत्कालै यो समस्या हल हुने सम्भावना पनि न्यून रहेको छ। समस्या समाधान गर्ने हेतुले बुधबार अमेरिकी राष्ट्रपति ट्रम्प र विपक्षी डेमोक्रेट नेताहरुबीचको बैठक पनि निष्कर्षविहीन बन्न पुगेको थियो।  ट्रम्पले बैठक छोडेर हिँडेपछि बैठक निष्कर्षविहीन बनेको डेमोक्रेटहरुले आरोप लगाएका छन् भने रिपब्लिकनहरुले भने डेमोक्रेटहरुले अराजकता प्रस्तुत गरेकाले वार्ता सफल नभएको बताउने गरेका छन्। 

अमेरिकी संघीय कार्यालय बन्द भएको शनिबार २२औं दिन पुगेको छ। यसअघि तत्कालीन राष्ट्रपति बिल क्लिन्टनको कार्यकालमा सन् १९९५–१९९६ मा २१ दिन संघीय कार्यालयहरु बन्द भएका थिए। समस्या लम्बिएपनि अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउनका लागि बजेट प्राप्त नभएसम्म आफूले बजेट पास नगर्ने अडानमा अमेरिकी राष्ट्रपति ट्रम्प रहेका छन्। यद्यपि उनले माग गरेको ५७ अर्ब अमेरिकी डलर दिन नसकिने डेमोक्रेटहरुले बताउँदै आएका छन्। खर्चबन्दीका कारण अमेरिकी संघीय कार्यालयका एक चौथाई कार्यालय बन्द रहेका छन्। संघीय कार्यालय बन्द भएका कारण कारागार सुरक्षाकर्मी, विमानस्थल कर्मचारी र एफबिआईसहितका कर्मचारीले शुक्रबार वर्षको पहिलो तलब गुमाए। 

यसैबीच सीमामा पर्खाल लगाउनका लागि आवश्यक पर्ने बजेटका लागि राष्ट्रपति ट्रम्पले देशको संसद् छल्न राष्ट्रिय संकटकाल लगाउने भन्ने हल्लामा भने केही मत्थर देखिएको छ। ट्रम्पले केही दिनअघि आफूले देशमा संकटकाल लगाएर भए पनि सीमामा पर्खाल लगाउने बजेट प्राप्त गर्ने चेतावनी दिएका थिए। अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउने राष्ट्रपति ट्रम्पको निर्वाचन अभियानको महत्वपूर्ण प्रतिबद्धता रहेको थियो। 

उनले यस समस्याबाट बाहिर निस्कनका लागि संकटकाल मात्रै उत्तम विकल्प भएको बताएका थिए। यद्यपि आफू यो समस्या संसद्ले नै समाधान गरोस् भन्ने पक्षमा रहेको जिकिरसमेत गरेका थिए। उनले यदि संसद्ले आफ्नो माग पूरा गर्न नसके आफूले संकटकाल लगाएर भए पनि गर्ने र त्यो नै सही विकल्प हुने समेत बताएका थिए। आफ्नो महŒवकांक्षी योजना लागू गर्नका लागि यदि राष्ट्रपति ट्रम्पले संसद् छल्न खोजे त्यसले संकट पैदा गर्ने अमेरिकी संविधानका जानकारहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। 

राष्ट्रपति ट्रम्पले देशमा संकटकाल लगाएर आफ्नो योजना पारित गर्न खोजे डेमोक्रेटहरुले त्यसको कानुनी उपचार खोज्ने चेतावनी दिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। उता, सरकारी खर्चबन्दीका कारण वर्षको पहिलो तलब नपाएपछि कामदारहरुले शुक्रबार खाली ‘पेस्लिप’ सामाजिक सञ्जालमा राखेर विरोध जनाएका छन्। यसैबीच अमेरिकाका दुवै सदनले शुक्रबार सरकारी कर्मचारीलाई आश्वस्त पार्ने खालको एउटा विधेयक भने पारित गरेका छन्। उनीहरुले सरकारी कार्यालय बन्द अन्त्य भएपछि ती कर्मचारीहरुले अहिले नपाएको तलबसमेत पाउने खालको विधेयक पारित गरेको बिबिसीले जनाएको छ। राष्ट्रपति ट्रम्पले पनि शुक्रबार देशको दुवै सदनले पारित गरेको विधेयकमा हस्ताक्षर गर्ने अनुमान गरिएको छ। अमेरिकी कानुनअनुसार राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्रै त्यो विधेयक कार्यान्वयनमा आउने छ। 

यद्यपि शुक्रबार सीमा सुरक्षाबारे राज्य र स्थानीय नेताहरुसँग भएको राउन्ड टेबल छलफलमा राष्ट्रपति ट्रम्पले सीमामा पर्खाल लगाउनका लागि आवश्यक बजेट पारितका लागि सहयोग गर्न डेमोक्रेटसँग माग गरेका थिए।

प्रकाशित: २९ पुस २०७५ ०५:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App