१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

‘सिरियाबाट सबै अमेरिकी सेना फिर्ता हुँदैनन्’

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन हात मिलाउँदै। तस्बिर : एजेन्सी

जेरुसलेम – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सिरियामा तैनाथ अमेरिकी सेनाको फिर्तीका बारेमा विभिन्न पक्षसँग वार्ता सुरु भएको बताएका छन्। उनले अमेरिकी सैनिक फिर्ती अघि सहयोगी मुलुकको चासोलाई अमेरिकाले सुनिश्चित गर्नेसमेत स्पष्ट पारेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

इजरायल भ्रमणका क्रममा बोल्टनले व्यक्त गरेका धारणाले अमेरिकी सैनिक फिर्तीमा ढिलाइ हुने संकेत दिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले डिसेम्बर १९ मा सिरियामा तैनाथ दुई हजार अमेरिकी सैनिक तत्कालै फिर्ता हुने घोषणा गरेका थिए। अमेरिकी घोषणापछि सिरिया द्वन्द्वमा रहेका अमेरिकी गठबन्धनका मुलुकले चिन्ता व्यक्त गरेका थिए।

राष्ट्रपति ट्रम्पको उक्त घोषणासँगै त्यसप्रति असहमति जनाएर रक्षामन्त्री जिम म्याटिसले राजीनामा दिइसकेका छन्। चौतर्फी विरोधपछि ट्रम्प आफैँले निश्चित समयावधिमा आफ्ना सैनिक विस्तारै अमेरिका फिर्ता हुने बताएका छन्। राष्ट्रपतिका सुरक्षा सल्लाहकार बोल्टनले सैनिक फिर्ता हुनुअघि कतिपय शर्तमाथि विचार गरिने बताए। ‘हामीले राष्ट्रपतिको निर्णयमाथि छलफल गरिरहेका छौँ। उत्तरपूर्वी सिरियामा इस्लामिक स्टेट (आइएस) पराजित भइसकेकाले त्यहाँबाट सैनिक फिर्ता हुन सक्छन्। यहाँ अब आइएसबाट कुनै खतरा छैन,’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको भेटमा बोल्टनले बताए।

‘इजरायल र हाम्रा अन्य मित्र राष्ट्रको सुरक्षाको भरपर्दो स्थिति बन्नु पर्छ। साथै आइएस र अन्य आतंकवादी समूहसँग हामीसँगै लडेकालाई हामीले विशेष ध्यान दिनु आवश्यक छ,’ बोल्टनलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। इजरायलले मुख्य रूपमा अमेरिकी सैनिक फिर्तीबारे गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ। इरान समर्थित लडाकुले सिरियाको बाटो हुँदै इजरायलमाथि आक्रमण गर्ने खतरा रहेको इजरायलको भनाइ छ।

प्रधानमन्त्री नेतान्याहूले सिरियामा रहेका इरानी लडाकसविरुद्धको कारबाहीलाई निरन्तरता दिइने बताएका छन्। इजरायलले सिरियामा रहेका इरानी सैनिक पोस्टलाई लक्षित गरी सैयौं हवाई हमला गरिसकेको छ। सिरियामा रहेका हेजबोल्लाह समूहलाई तेहरानले आधुनिक हातहतियारसहित आर्थिक, प्राविधिक र राजनैतिक मद्दत गरिरहेको बताइन्छ। एनबिसी टेलिभिजनसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पका सुरक्षा सल्लाहकार बोल्टनले कुर्दिस गठबन्धनको सुरक्षालाई प्रत्याभूति नगरी अमेरिकी सैनिक फिर्ता नहुने बताएका हुन्। उनले सबै दुई हजार अमेरिकी सैनिक तत्काल फिर्ता नहुने पनि स्पष्ट गरेका छन्।

उनले उत्तरपूर्वी सिरियामा तैनाथ अमेरिकी सेना पहिलो चरणमा फिर्ता हुने बताए। सिरियाको दक्षिणी क्षेत्रको अल–तान्फ सैन्य अखडामा रहेका केही सैनिक भने तत्काल अमेरिका फिर्ता नहुने उनले स्पष्ट गरेका छन्।

प्रकाशित: २४ पुस २०७५ ०३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App