१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

सिरिया द्वन्द्व : ‘फौज फिर्ता लाने प्रक्रिया ढिलो गर्दै ट्रम्प’

केही दिनअघि अप्रत्याशित रूपमा इराक भ्रमणमा निस्केका बेला अमेरिकी फौजसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। फाइल तस्बिर : एजेन्सी

वासिङ्टन – सिरियाबाट अमेरिकी फौज फिर्ता लाने योजना बनाए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इस्लामिक स्टेट (आइएस)लाई परास्त गर्न प्रतिबद्ध रहेको एक उच्च रिपब्लिकन नेता लिन्डसे ग्राहमले बताएका छन्। सिरियाबाट अमेरिकी फौज फिर्ता लाने प्रक्रियालाई ढिलाइ गरिएको र अमेरिकी राष्ट्रपति ट्रम्पसँग आइतबार भेटेपछि उनी आइएसलाई परास्त गर्नुपर्छ भन्नेमा प्रतिबद्ध रहेको विषयमा पुनः विश्वस्त भएको सिनेटर ग्राहमले बताए। 

अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियाबाट अमेरिकी फौज फिर्ता लैजाने योजना सार्वजनिक गरेपछि वासिङ्टनका प्रमुख गठबन्धन राष्ट्र र ग्राहमजस्ता वरिष्ठ रिपब्लिकन नेताबाट उनको योजनाको कडा शब्दमा आलोचना भएको थियो। वरिष्ठ रिपब्लिकन सिनेटरको प्रतिक्रियाबारे अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भने तत्काल कुनै प्रतिक्रिया जनाएको छैन।

‘मलाई लाग्छ अहिले हामी रोकिएको अवस्थामा छौं जहाँ हामी राष्ट्रपतिले जनताले धेरै तिरुन् र धेरै गरुन् भनेर अघि सारेको उद्देश्यलाई कसरी उचित ढंगले प्राप्त गर्न सकिन्छ भनेर पुनः मूल्यांकन गरिरहेका छौं,’ ग्राहमले बताए। यस विषयमा उनले विस्तृत व्याख्या नगरे पनि फौज फिर्ता ल्याउनेबारेको कार्यकारी आदेशबारे सोच्न ३० दिनभन्दा बढी समय दिने भनेर सैन्य अधिकारीलाई दिइएको आश्वासनलाई उद्धृत गरेको हुनसक्ने ‘द न्युयोर्क टाइम्स’ले जनाएको छ। सिरियाबाट आतंकवादी समूह इस्लामिक स्टेट परास्त भइसकेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले डिसेम्बर १९ का दिन करिब दुई हजार अमेरिकी फौज स्वेदश फर्काउने घोषणा गरेका थिए। यद्यपि राष्ट्रपतिले दाबी गरेजस्तो इस्लामिक स्टेटका लडाकु परास्त नभइसकेको भन्दै आलोचकहरुले उनको योजनाको आलोचना गर्दै आइरहेका छन्।

उनीहरुले राष्ट्रपति ट्रम्पको निर्णयले केही हदसम्म घुँडा टेकेको सो आतंकवादी समूह पुनः जीवित हुने र त्यसले देशको राष्ट्रिय सुरक्षामा चेतावनी सिर्जना गर्ने बताउँदै आएका छन्। सिरियाको उत्तरपूर्वी क्षेत्रमा नियन्त्रण जमाएको इस्लामिक स्टेटलाई त्यहाँबाट परास्त गर्नका लागि अमेरिकी फौजको ठूलो योगदान भए पनि देशको केही स्थानमा अझै पनि सो समूहको दबदबा कायम नै रहेको छ। 

राष्ट्रपति ट्रम्पले सिरियाबाट अमेरिकी फौज फिर्ता ल्याउने भनेर गरेको घोषणाप्रति असहमति जनाउँदै दुई जना उच्च अमेरिकी अधिकारीले पदबाट राजीनामा दिइसकेका छन्। त्यसरी राजीनामा दिनेमा अमेरिकी रक्षामन्त्री जिम म्याटिस र इस्लामिक स्टेटसँग लडेका उच्च अमेरिकी अधिकारी ब्रेट म्याकगर्क रहेका छन्। 

क्याप्सन ः केही दिनअघि अप्रत्याशित रूपमा इराक भ्रमणमा निस्केका बेला अमेरिकी फौजसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। फाइल तस्बिर : एजेन्सी

 

प्रकाशित: १७ पुस २०७५ ०३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App