७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

हसिना चौथो पटक प्रधानमन्त्री बन्दै

ढाका- बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आइतबार सम्पन्न संसदीय आमनिर्वाचनमा विजय हासिल गरेका छन्। देशका विभिन्न भागमा हिंसात्मक घटनाबीच भएको बंगलादेशको चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै विपक्षी दलले पुनः चुनाव हुनुपर्ने माग गरेको छ। 

प्रधानमन्त्री हसिनाको अवामी लिग पार्टी र यसको गठबन्धनले ३०० सदस्यीय संसदमा २८८ स्थान जितेको छ। मुख्य विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ६ स्थानमा मात्र विजयी भएको निर्वाचन आयोगले जनाएको छ। यो विजयसँगै सत्तारुढ अवामी लिगको अध्यक्ष समेत रहेकी हसिना चौथो पटक प्रधानमन्त्री बन्ने भएकी छिन्। 

आइतबारको चुनावी हिंसाका क्रममा १७ जनाको मृत्यु भएको थियो। विपक्षीहरुले चुनाव निष्पक्ष रुपमा सम्पन्न हुन नसकेको र राज्य संयन्त्रको चरम दुरुपयोग भएको आरोप लगाएका छन्। 

सरकारले विपक्षी दल र यसका कार्यकर्तामाथि चरम दमन गरेको तथा चुनावमा त्रासका वातावरण निर्माण गरेको भन्दै विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले निर्वाचनको नतिजा खारेज गर्न निर्वाचन आयोग समक्ष आग्रह गरेको छ। “हामी स्वतन्त्र सरकारको नेतृत्वमा जतिसक्दो चाँडो नयाँ निर्वाचन गर्न माग गर्दछौं,” विपक्षी दलहरुको गठबन्धनको नेतृत्व गर्नुभएका कमल होसेनले बताए। 

चुनाव हुनु अघिदेखि नै बंगलादेशमा हिंसात्मक झडपका घटना भइरहेका थिए। सरकारले सुरक्षा व्यवस्था सुदृढ गर्न ६ लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेपनि मतदानका दिन सबैभन्दा बढी हिंसात्मक घटना भएका थिए। 

मतदानका दिन अवामी लिग र बीएनपीका कार्यकर्ताबीचको झडपमा १३ जनाको मृत्यु भएको थियो भने प्रहरीको गोली लागेर अरु तीन जनाको मृत्यु भएको थियो। झडपका क्रममा एक प्रहरी जवानको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। 

बीएनपीका प्रवक्ता सइद मोजेम होसेन अलालले कूल ३०० स्थानमध्ये २२१ स्थानमा धाँधली भएको जानकारी प्राप्त भएको बताए। 

बंगलादेश निर्वाचन आयोगका प्रवक्ता एस.एम. असादुज्जमानले आयोगमा केही ठाउँका बारेमा उजूरी प्राप्त भएको र त्यसबारे आयोगले छानबिन गरिरहेको जानकारी दिए। 

प्रधानमन्त्री हसिनाले चुनावको नतिजा सन्तोषजनक रहेको बताउँदै चुनाव स्वतन्त्र र स्वच्छ रुपमा सम्पन्न भएको दाबी गरे। एएफपी

प्रकाशित: १६ पुस २०७५ ०७:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App