८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

पत्रकार खसोग्गीसम्बन्धी हत्या रेकर्डिङ हस्तान्तरण

हत्या गरिएका पत्रकार जमाल खसोग्गीको तस्बिरसहित टर्कीको इस्तानबुलस्थित साउदी अरबको महावाणिज्य दूतावासबाहिर प्रदर्शन गर्दै प्रदर्शनकारी। तस्बिर : एजेन्सी

अंकारा (बिबिसी) – टर्कीले पत्रकार एवं लेखक जमाल खसोग्गीको हत्यासँग सम्बन्धित रेकर्डिङ हस्तान्तरण गरेको छ।

उसले खसोग्गी हत्याबारेको रेकर्डिङ संयुक्त राज्य अमेरिका, बेलायत, साउदी अरब र अन्य देशलाई दिएको बताएको छ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बारम्बार पत्रकार खसोग्गीको हत्या कसले गरेको हो भनेर साउदी अरबलाई जानकारी रहेको बताउने गरेका छन्।

साउदी राजपरिवारका आलोचक खसोग्गीको टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा अक्टोबर २ का दिन हत्या भएको थियो । सुरुमा अस्वीकार गरे पनि व्यापक आलोचना पछि साउदीले पत्रकार खसोग्गीको आफ्नै वाणिज्य दूतावासमा हत्या भएको स्वीकार गरे पनि त्यसमा राजपरिवारकै संलग्नता रहेको भन्ने आरोप भने अस्वीकार गर्दै आइरहेको छ । उसले पत्रकार खसोग्गीको वाणिज्य दूतावासमा भएको झगडाका क्रममा मृत्यु भएको र त्यसमा आफ्ना खराब एजेन्टहरुको संलग्नता रहेको बताउने गरेको छ । उसले सुरुमा पत्रकार खसोग्गी वाणिज्य दूतावासबाट सकुशल बाहिरिएको बताउने गरेको थियो।

साउदीले उसको युवराज मोहम्मद बिन सलमानले खसोग्गीलाई खतरनाक इस्लामिस्ट भनेको भन्ने विवरणबारे पनि प्रतिक्रिया दिन अस्वीकार गर्ने गरेको छ।

कुनैबेला साउदी राजपरिवारका निकट रहेका र हाल अमेरिका निवासी पत्रकार खसोग्गी वासिङ्टन पोस्टका स्तम्भकार थिए । टर्कीस् प्रेमिकासँग वैवाहिक बन्धन बाँधिनका लागि पूर्वपत्नीसँग गरेको सम्बन्धविच्छेदको कागजात मिलाउन इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा गएका बेला उनको हत्या भएको थियो । लामो समयसम्म दूतावासबाट नबाहिरिएपछि उनको प्रेमिकाले उनी बेपत्ता भएको विवरण सार्वजनिक गरेकी थिइन् । टर्कीले उनको त्यही हत्या भएको र त्यसमा साउदीकै संलग्नता रहेको बताएको थियो । साउदीले भने त्यसको प्रतिवाद गरिरहेको थियो । विश्वभरबाट दबाब बढेपछि रियादले पनि पत्रकार खसोग्गीको हत्या भएको स्वीकार गरेको थियो । तर खसोग्गीको हत्या वा मृत्यु कसरी भयो भन्नेबारे भने एकमत छैन । सुरुमा टर्कीका सञ्चारमाध्यमले स्रोतलाई उद्धृत गर्दै उनको हत्या भएको विवरण पुष्टि गर्ने अडियो रेकर्ड टर्कीसँग रहेको जनाएका थिए । उनीहरुका अनुसार पत्रकार खसोग्गीलाई यातना दिएर हत्या गरिएको हो । यद्यपि गत साता टर्कीले खसोग्गी वाणिज्य दूतावास प्रवेश गर्नेबित्तिकै हत्या भएको र उनको शवको टुक्राटुक्रा पारिएको बताएको थियो । पत्रकार खसोग्गी हत्यामा संलग्न भनेर हालसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । उता, टर्कीले भने यो मुद्दालाई साउदीले यतिकै टुंग्याएको बताएको छ । खसोग्गीलाई के भएको थियो भनेर साउदीले पटकपटक बोली फेर्ने गरेको छ । उसले १८ जना शंकास्पद व्यक्ति पक्राउ गरिएको र उनीहरुविरुद्ध साउदीमै मुद्दा चलाइने बताउने गरेको छ । टर्कीले भने ती १८ जनालाई सुपुर्दगी गर्न माग गरिरहेको छ । खसोग्गीको हत्यामा साउदीको संलग्नता रहेको छ भनेर टर्कीले भने सार्वजनिक रूपमा बताएको छैन।

‘हामीले पत्रकार खसोग्गीको हत्यासँग सम्बन्धित रेकर्डिङ साउदी अरब, वासिङ्टन, जर्मनी, फ्रान्स र बेलायतलाई दिएका छौं,’ शनिबार टेलिभिजनमार्फत् दिएको सम्बोधनमा टर्कीका राष्ट्रपति एर्दोगानले बताए।

‘उनीहरुले यहाँ भएको वार्तालाप सुने र थाहा पाए,’ उनले बताए । अन्य देशले भने रेकर्डिङ सुनेको भन्ने विषय सार्वजनिक गरेका छैनन्।

खसोग्गीकी प्रेमिका हातिस सेन्जिजले हत्यारालाई कानुनी कठघरामा ल्याएर न्याय प्रदान गर्नका लागि विश्व नेतासमक्ष आग्रह गरेकी छन्।

प्रकाशित: २५ कार्तिक २०७५ ०४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App