६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

मंगलबार अमेरिकामा मध्यावधि निर्वाचन, नेपाली मुलका समेत उम्मेदवार

तस्बिर : एजेन्सी

अमेरिका - नेपाली समय अनुसार मंगलबार साँझबाट अमेरिकामा हात्ति र गधा निर्वाचन चिन्ह (डेमोक्रयाट गधा र रिपव्लिकन हात्ति) बीचको चुनावी प्रतिस्पर्धा हुँदैछ। अन्य साना दलहरु पनि निर्वाचनमा छन तर खासै चर्चा हुँदैन र प्रभाव राख्दैन।

मंगलबार हुन लागेको मध्यावधि निर्वाचन संसारको चासोको विषय बन्नु स्वाभाविक हो। यस मानेमा यो मध्यावधि निर्वाचन हो की राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई बर्षे कायकालको मुल्यांकन यहि निर्वाचनको परिणामले नाप्नेछ। अझ उनले लिएको आप्रवासीप्रतिको अनुदार नीति कसिलो बनाउँदै लैजाने क्रममा यो निर्वाचन हुँदैछ। पछिल्लो पटक जन्मको आधारमा दिइँदै आएको नागरिकता खारेज गर्ने राष्ट्रपति ट्रम्पको घोषणासंगै मध्य अमेरिकी मुलुक एलसाल्भाडोर, होन्डुरस हुँदै मेक्सिकोबाट अमेरिका छिर्न खोजिरहेको लर्कन रोक्न सीमामा सेना खटाउने आदेश भैरहँदा मंगलबार हुने निर्वाचनमा कसको पल्लाभारी होला यसै भन्न सकिन्न।

विभिन्न पोलहरुले डोमोक्र्याटलाई फाईदा पुग्ने विवरणहरु सार्वजनिक गरेका छन। ४ सय ३५ सीट तल्लो सदन अर्थात कांग्रेसमा र माथिल्लो सदन सिनेट दुवैमा हाल रिपव्लिकन बहुमत कायम छ। कांग्रेसमा रिपव्लिकनको २ सय ३५ सीट रहेको छ भने डेमोक्र्याटको एक सय ९३ सिट र ७ जना स्वतन्त्र रहेका छन्। यो बहुमत सीट कांग्रेसमा डेमोक्र्याटले आफ्नो स्थान बनाउन सकेन भने ट्रम्पलाई लगाम लगाउने प्रयास निरर्थक रहनेछ र आप्रवासन नीति थप कसिलो बन्ने निश्चित छ।

उता सिनेटमा एकसय सीटमध्ये ५१ सीटसहित रिपव्लिकन स्पष्ट बहुमतमा छ भने डेमोक्र्याट ४७ सीटमा सीमित छ। २ सिट स्वतन्त्र रहेका छन्। यस पटक विभिन्न कारणले खाली भएको ३५ सीट मात्र सिनेटरका लागि मतदान हुँदैछ। डेमोक्र्याटहरुले भने झै ट्रम्पको चार बर्षे कार्यकालमध्ये दुई बर्षे कार्यकालको मुल्यांकन र आगामी दिनमा उनलाई असहयोग गर्ने हो भने यो निर्वाचनमा सफलता हात पार्नुपर्ने छ। राष्ट्रपतिलाई कानुन बनाउने, प्रस्ताव पास गर्ने र विभिन्न खर्च अधिकार प्रदान गर्ने तल्लो सदनमा मात्रै डेमोक्र्याट बलियो भए राष्ट्रपतिलाई अंकुस लगाउन सकिने छ।अन्यथा अमेरिकी सविधानले राष्ट्रपतिलाई असिमित अधिकार दिन्छ। तर यो निर्वाचनमा आप्रवासनप्रति अनुदार बन्दै गएको गोरा जातीहरु थप बलियो र एकता बन्दै गएको विभिन्न अनुसन्धानहरुले पनि देखाएको छ भने अर्कोतर्फ राष्ट्रपतिका कारण रिपव्लिकन पार्टी कमजोर हुँदै गएको भन्ने आवाज पार्टीभित्रै उठिरहेको पनि चर्चा अमेरिकामा छ। यो दुवैखाले अवस्थामा हुने निर्वाचनको परिणाम कुर्न अझै कम्तिमा २४ घण्टा कुर्नुपर्नेछ।

त्यसैगरी ३६ वटा राज्यमा गभर्नरको निर्वाचन पनि मंगलबार नै हुँदैछ। साथै केहि स्थानीय तहको काउन्सील म्यानको निर्वाचन पनि हुँदैछ। अमेरिकी राजनीतिमा मुलत अर्थतन्त्र, रोजगारी, आप्रवासन र स्वास्थ्य विमा सधैझै यसपाली पनि चुनावी एजेण्डा बनेको छ।

नेपाली मुलका उम्मेदवारहरु
मंगलबार हुने निर्वाचनमा नेपाली मूलका अमेरिकीहरूले पनि उम्मेदवारी दिएका छन्। पहिलो पटक उपल्लो स्थानमा उम्मेदवारी दिएका नेपाली मूलका एचबि भण्डारी डेमोक्रेटिक पार्टीको उम्मेदवारको रूपमा मेरिल्याण्ड राज्यको विधायिकाको तल्लो सदनको लागि उम्मेदवार भएका छन्। भण्डारीले डेमोक्रेटिक पार्टीको प्रारम्भिक निर्वाचनमा विजयी भई मंगलबार हुने निर्वाचनमा उम्मेदवारी दिन पाएका हुन्। डेमोक्र्याटहरुको बाहुल्यता भएको क्षेत्रबाट निर्वाचन लडेका कारण पनि उनको जित्ने संभावना रहेको नेपाली मतदाताहरु बताउँछन्। भण्डारी अमेरिकी राजनीतिमा उपल्लो तहमा उम्मेदवारी दिने पहिलो नेपाली मुलका हुन्।

त्यस्तै मदलसा गुरुङले न्यु हयाम्प्सायरबाट डेमोक्र्याट पार्टीबाट तल्लो सदनमा उम्मेदवारी दिएकी छिन्। मदलसा गुरुङले मेर्रिमैकबाट प्रतिनिधित्व गर्न उम्मेदवारी दिएकी हुन। त्यस्तै, भर्जिनियाबाट प्रदीप ढकालले स्थानीय इकाइको निर्वाचनमा आपनो उम्मेदवारी दिएका छन्। उनले हरन्दककन सिटीमा टाउन काउन्सिल पदमा उम्मेदवारी दिएका हुन्।

अमेरिकामा नेपालीको जनसंख्या बढेसंगै उत्साहका साथ निर्वाचनमा भाग लिइरहेका छन्। एक तथ्यांक अनुसार ३२ हजार भन्दा बढी नेपालीहरुले अमेरिकी नागरिकता लिएको अनुमान छ। जुन संख्या अमेरिकमा रहेका ३ लाख नेपालीको तुलनामा निकै कम हो। नागरिकता लिने समय पुगेर पनि कैयन नेपालीले अमेरिकन नागरिकता लिएका छैनन्। राजनीतिमा संलग्नता देखाएको नेपाली समुदायले अमेरिकी निर्वाचनमा विस्तारै चासो बढाउँदै लगेको देख्न पाईन्छ।

अमेरिकमा केन्द्रीय, राज्य तथा स्थानीय सबै तहका निर्वाचनहरू नेपालमा राज्य र स्थानीय सरकारले गराउँछन्। नेपालमा जस्तो केन्द्रिय निर्वाचन आयोगले मात्रै गराउने चलन यहाँ छैन। अमेरिकामा यहाँको नागरिकता लिएका सबै नेपालीहरूलाई अन्य नागरिक सरह निर्वाचनमा उम्मेदवार हुन र चुनावमा भोट दिन अधिकार हुन्छ। 

प्रकाशित: २० कार्तिक २०७५ १३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App