४ माघ २०७७ आइतबार
अन्तर्राष्ट्रिय

‘साउदीको उच्च तहबाटै खशोग्गीको हत्या’

अङ्करा- साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्या साउदी अरबकै उच्च तहको संलग्नतामा भएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आरोप लगाएका छन्। 

टर्कीस्थित साउदी वाणिज्य दूतावासमा गएका बेला साउदी अरबको उच्च नेतृत्वकै निर्देशनमा खशोग्गीको हत्या भएको उनको दावी छ। टर्कीकी महिलासँग बिहेका लागि आवश्यक कागजात लिन खशोग्गी गत अक्टोबर २ मा वाणिज्य दूतावास गएका थिए।

राष्ट्रपति एर्दोगानले पहिलो पटक प्रत्यक्षरूपमा साउदी सरकारलाई खशोग्गीको हत्याको आरोप लगाएका हुन्। अमेरिकी पत्रिका द वाशिङटन पोस्टमा प्रकाशित उनको एउटा लेखमा भनिएको छ, “हामीलाई थाहा छ खशोग्गीको हत्या गर्ने आदेश साउदी सरकारको उच्च तहबाटै आएको हो।” 

राष्ट्रपति एर्दोगानले खशोग्गीको हत्यामा राजा सलमानको संलग्नता रहेको कुरामा भने आफूलाई विश्वास नलागेको बताए। उनले साउदी अरबसँगको टर्कीको मित्रवत् सम्बन्धमा यही घटनाका कारण असर पर्न नहुनेमा पनि जोड दिएका छन्।

टर्कीका अनुसन्धानकर्ताले निर्वासित जीवन विताइरहेका पत्रकार खशोग्गी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास गएका बेला घाँटी अठ्याएर हत्या गरिएको दावी गरेका छन्। शुरूमा साउदी अरबले ढाकछोप गर्न खोजेको खशोग्गी हत्या प्रकरणले साउदी अरब र अन्य देशको सम्वन्धमा समेत असर पारेको छ। 

खशोग्जीले स्तम्भ लेख्ने गरेको वाशिङटन पोस्टमै लेख लेख्दै एर्दोगानले साउदी अरबमा पक्राउ परेका १८ सन्दिग्धमध्ये नै दोषी भएको दावी गरेका छन्। दशकौँसम्म साउदी राजपरिवारको निकट रहेर सरकारको सल्लाहकारका रूपमा पनि काम गरेका पत्रकार खशोग्गीको पछिल्लो समय राजपरिवारसँगको सम्बन्ध विग्रिएको थियो। 

राजपरिवारबाट टाढा भएपछि उनले अमेरिकामा निर्वासित जीवन विताउदै वाशिङ्टन पोष्टमा लेख लेख्दै आएका थिए। मासिकरुपमा स्तम्भ लेख्न थालेपछि उनले साउदी युवराज मोहम्मद बिन सलमानका नीतिको आलोचना गर्ने गरेका थिए। त्यही आलोचक भएकाले उनको हत्या भएको कतिपयको आशंका छ। 

प्रकाशित: १७ कार्तिक २०७५ १७:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App