७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

प्रतिबन्धविरुद्ध बदला लिने साउदीको चेतावनी

पत्रकार जमाल खसोगीको तस्बिरसहित इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा गत साता प्रदर्शन गर्दै मानवअधिकारकर्मी। तस्बिर : एजेन्सी

रियाद – पत्रकार जमाल खसोगी बेपत्ता भएको विषयलाई जोडेर आफ्नो देशमाथि लगाइने कुनै पनि प्रकारको प्रतिबन्धको बदला लिने साउदी अरबले चेतावनी दिएको छ।

वासिङ्टन पोस्टका लागि लेख्ने पत्रकार खसोगी बेपत्ता हुनुमा साउदी अरब दोषी पाइए उसलाई सजाय दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ आएको भोलीपल्ट आइतबार साउदी अरबले आफूमाथि कुनै पनि प्रकारको प्रतिबन्ध लागे त्यसविरुद्ध कडा कदमसहितको बदला लिने चेतावनी दिएको हो।

कुनै बेला साउदी राजपरिवारको निकट रहेका र पछिल्लो समय कडा आलोचक बनेका पत्रकार खसोगी अमेरिकाका कानुनी वासिन्दा हुन्। उनको टर्कीको इस्तानबुलस्थित साउदीको वाणिज्य दूतावासमा हत्या भएको आरोप लगाइँदै आएको छ।

टर्कीले पत्रकार खसोगीको हत्या साउदी सरकारकै निर्देशनमै भएको आरोप लगाए पनि रियादले भने सो आरोप अस्वीकार गर्दै पत्रकार बेपत्ता भएको विषयमा अनुसन्धान भइरहेको बताउने गरेको छ।

‘साउदीविरुद्ध आर्थिक नाकाबन्दी लगाउने विषय होस् वा राजनीतिक दबाब दिने वा झुटो आरोप लगाउने विषय किन नहोस्, त्यस्तो कुनै पनि चेतावनी र नजरअन्दाज गर्ने विषय अस्वीकार गरिन्छ,’ साउदीको आधिकारिक प्रेस एजेन्सीले अज्ञात सरकारी स्रोतलाई उद्धृत गर्दै जनाएको छ।

‘यदि साउदीविरुद्ध कुनै पनि कदम चालिए, त्यसविरुद्ध कडा कदम साउदीले पनि चाल्नेछ किनभने साउदी अरब पनि विश्व अर्थतन्त्रको प्रमुख र प्रभावकारी अर्थतन्त्र हो,’ स्रोत उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले जनाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी आएको भोलीपल्टै विश्वको सबैभन्दा ठूलो तेल निर्यात राष्ट्र साउदीको सेयर बजारमा ३३ विलियन अमेरिकी डलरको गिरावट आएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। आइतबारको सेयर बजारको गिरावटलाई पत्रकार खसोगी मुद्दाले रियादले आर्थिक पीडा सहनुपर्ने संकेतका रूपमा लिइएको रोयटर्सले उल्लेख गरेको छ। तेलको मूल्यमा उथलपुथल आइरहेको बेला साउदीको इक्विटी इन्डेक्समा सन् २०१४ पछिकै सबैभन्दा ठूलो गिरावट आएको छ।

पत्रकार खसोगीको इस्तानबुलस्थित साउदीको वाणिज्य दूतावासमा हत्या गरी त्यहाँबाट उनको शवलाई अन्त कतै लगिएको टर्कीले आरोप लगाउँदै आएको छ। रियादले भने टर्कीको यस्तो आरोप अस्वीकार गर्दै आएको छ।

पत्रकार खसोगी बेपत्ता भएको विषयलाई लिएर साउदी अरबको जहाँनिया शासन परिवारका एक वरिष्ठ अधिकारी राजकुमार खालेद अल–फैसलले टर्कीका राष्ट्रपति तैयप एर्दोगानसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति एर्दोगान र राजकुमार फैसलबीच भेटवार्ता भएको पुष्टि भए पनि बैठकमा भएको विषयलाई भने बाहिर ल्याइएको छैन । मक्काका गभर्नरसमेत रहेका राजकुमार फैसलको परिवारसँग सम्बन्ध राख्ने एक स्रोतले शुक्रबार बताएअनुसार राजा सलमानका विशेष सल्लाहकारका रूपमा उनलाई टर्की पठाइएको थियो।

प्रकाशित: २९ आश्विन २०७५ ०४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App