१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पेन्सन पाउने उमेरमा वृद्धि गर्ने निर्णयविरुद्ध प्रदर्शन

रुसी सरकारले ल्याएको पेन्सन सुधारसम्बन्धी योजनाका विरोधमा राजधानी मस्कोमा आयोजित प्रदर्शनमा सहभागी। तस्बिर : एजेन्सी

मस्को (बिबिसी) – पेन्सन पाउने उमेरमा वृद्धि गर्ने सरकारी प्रस्तावविरुद्ध आक्रोश पोख्न रुसका कैयौं सहरमा हजारौं मानिसले प्रदर्शन गरेका छन्। 

राजधानी मस्कोमा आयोजित प्रदर्शनमा उपस्थित भएका प्रदर्शनकारीले ‘हामी पेन्सनमा बाँच्न चाहन्छौं, काममा मर्न हैन’ भन्ने नारा लेखिएको ब्यानर बोकेका थिए। 

रुसी सरकारले पुरुषलाई ६० वर्षपछि दिँदै आएको पेन्सन ६५ वर्षपछि र महिलालाई ५५ वर्षपछि दिँदै आएको पेन्सन ६३ वर्षपछि दिनेबारेको प्रस्ताव ल्याएको छ। सरकारले खस्किँदो कार्यक्षमतासँग लड्न सहयोग हुने उद्देश्यसहित यस्तो चाहना राखिएको समेत बताएको छ। सरकारले यस्तो बताए पनि मजदुरसम्बन्धी काम गर्ने युनियनहरुले भने पेन्सनको दाबी गर्नका लागि कैयौं मानिस सरकारले भनेको उमेरसम्मै नबाँच्ने चेतावनी दिएका छन्। 

विश्व स्वास्थ्य संगठनअनुसार रुसी पुरुषको औसत आयु केबल ६६ वर्ष र महिलाको ७७ वर्ष रहेको छ। सरकारले ल्याएको विवादास्पद योजनाको विरोधमा राजधानी मस्कोमा मात्रै १२ हजारभन्दा बढी मानिसले प्रदर्शन गरेको बताइएको छ। 

देशका दर्जनौं सहरमा सरकारले स्वीकृत प्रदान गरेका कैयौं -याली भएको बताइएको छ। त्यसैगरी देशको सुदुर पूर्वी सहर र साइबेरियामा पनि सरकारी योजनाविरुद्धमा प्रदर्शन भएको बिबिसीले जनाएको छ। 

देशव्यापी रूपमा आयोजना गरिएको प्रदर्शन रुसी कम्युनिस्ट पार्टी (सिपिआरएफ)ले आयोजना गरेको भए पनि विभिन्न ट्रेड युनियन र राष्ट्रवादी समूहले पनि प्रदर्शनमा साथ दिएको बिबिसीले उल्लेख गरेको छ। 

हामी बाँच्दैनौं
प्रदर्शनमा सहभागी प्रदर्शनकारीले रातो झन्डा र वामपन्थी संकेत बोकेका थिए। प्रदर्शनमा सहभागीले युद्धका गीत गाएका थिए। रुसका कम्युनिस्टले सन् १९४६ मा नाजीलाई हराएकोबारेको कथा प्रत्येक -यालीमा ल्याउने गरेका छन्। त्यसैले यस प्रदर्शनमा पनि उनीहरुले युद्धको गीत गाएका छन्। प्रदर्शनकारीले ‘हामी त्यति धैरै बाँच्दैनौं र सरकारले यस्तो गर्न हुँदैन’ जस्ता नारा लगाएको बिबिसीले जनाएको छ। 

प्रदर्शनमा सहभागी कैयौं अधिकारवादीले मृत्यु भेषभुषा लगाएका थिए। त्यसमध्ये एक प्रदर्शनकारीले त मानिसको हड्डीमात्रैको स्वरुपमा प्रदर्शन गरेका थिए। उनीहरुले सरकारको सुधारको कार्यक्रम रुसी नागरिकका लागि मृत्युको वाक्य भएको आरोपसमेत लगाएका छन्। 

मस्को जत्रो सहरका लागि १२ हजार मानिसले प्रदर्शन गर्नु ठूलो कुरा नभए पनि पेन्सन सुधारविरुद्ध भएको मध्ये हालसम्मकै यो सबैभन्दा ठूलो प्रदर्शन भएको बिबिसीले जनाएको छ। 

‘सरकारको पेन्सन योजना प्रत्येक रुसी नागरिकलाई उडाउन हो,’ रुसी कम्युनिस्ट पार्टी (सिपिआरएफ)का नेता जेन्नाडे ज्युगानोभले शनिबार राजधानी मस्कोमा भेला भएका प्रदर्शकारीसामु बताए। 

प्रदर्शनकारीले सरकारले धनी मानिससँग पैसा लिइरहेको हुनसक्ने भएकाले सर्वसाधारण काम गर्ने वर्गका मानिसबाट चोर्न नहुने बताएका छन्। 

राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारुढ युनाइटेड रसिया पार्टीको समर्थन रहेको पेन्सन सुधार प्रस्तावविरुद्ध करिब ३० लाख मानिसले हस्ताक्षर संकलन गरेको फ्रान्सेली समाचार एजेन्सी रोयटर्सले जनाएको छ। पेन्सन सुधार योजनालाई राष्ट्रपति पुटिनको २० वर्षीय शासन सत्ताका दौरान अत्यन्तै खतरनाक एवं चुनौतीपूर्ण सुधारका रूपमा लिइएको छ।

प्रकाशित: १३ श्रावण २०७५ ०४:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App