८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इमरान खानद्वारा गठबन्धन सरकार बनाउन छलफल तीब्र

पूर्वक्रिकेटर एवं पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई)का अध्यक्ष इमारान खान। तस्बिर : एजेन्सी

इस्लामाबाद – आमनिर्वाचनको पूर्ण मत परिणाम सार्वजनिक भएसँगै पाकिस्तानका सम्भावित नयाँ प्रधानमन्त्री इमरान खानले गठबन्धन सरकार बनाउनका लागि छलफल तीब्र गरेका छन्। 

प्रवक्ताले जनाएअनुसार गठबन्धन सरकार बनाउनका लागि शनिबार कम्तीमा एउटा सानो दल र स्वतन्त्र राजनीतिज्ञसँग इमरान खानले छलफल गरेका हुन्।  

विपक्षी दलले निर्वाचनमा धाँधली भएको आरोप लगाए पनि ठूलो दलको नेताको हैसियतमा पूर्वक्रिकेटर खानले गठबन्धन सरकार बनाउनका लागि छलफललाई तीब्रता दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। 

खानको दलले अपेक्षा गरेभन्दा बढी एक करोड ६८ लाख मत पाएको बताइएको छ। उनको दल भ्रष्टाचारको अभियोगमा जेलमा रहेको पूर्वप्रधानमन्त्री नवाज सरिफको दललाई हराउँदै गत साता भएको आमनिर्वाचनमा पहिलो भएको हो। पूर्वप्रधानमन्त्री सरिफको दलले एक करोड २८ लाख मत प्राप्त गर्दै दोस्रो भएको अधिकारीहरुले बताएका छन्। 

पूर्वक्रिकेटर खानको दलले कुल दुई सय ७२ सिट संख्यामध्ये एक सय १६ सिट मात्रै जितेकाले पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई)लाई सरकार बनाउन आवश्यक बहुमत पुगेको छैन। खानले दोस्रो र तेस्रो भएका दुवै दललाई भ्रष्टचारी भएको आरोप लगाउँदै ती दलसँग सरकार बनाउनेबारे अस्वीकार गरिसकेका छन्। 

खानको दल पिटिआईका अधिकारीका अनुसार गठबन्धन सरकार बनाउने प्रयासस्वरुप उनीहरुले स्वतन्त्र उम्मेदवारहरु र कम्तीमा एउटा दलसँग छलफल गरेका छन्। 

‘राष्ट्रिय सभामा हामी यथेष्ट संख्यामा छौं। एमक्युएमसँग पनि छलफल चलिरहेको छ,’ पिटिआईका वरिष्ठ प्रवक्ता फैसल जाभेद खानलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। 

मुट्टाहिडा कुवामी मुभमेन्ट (एमक्युएम) पाकिस्तानी राजनीतिमा लामो समयदेखि प्रभाव पार्ने दल हो। लामो समयदेखि पार्टीको नेतृत्व गरिरहेका अल्ताफ हुसेनसँग पार्टी टुक्रिएपछि गत साताको आम निर्वाचनमा उक्त दलले ६ सिटमा जित हासिल गरेको छ। 

पिटिआईका अनुसार नेता खानले अगस्ट १४ तारिखको आसपास प्रधानमन्त्री पदको सपथ लिनेछन् । अगस्ट १४ पाकिस्तानको स्वतन्त्रता दिवस हो। 

पिटिआईका प्रवक्ता नाइम अल हकका अनुसार पाकिस्तानको अत्यन्तै धेरै जनसंख्या भएको पञ्जाब राज्यमा पनि उनको दलले सरकार बनाउँदै छ। ‘आइतबारसम्ममा सुखद् समाचार पाउनु हुनेछ,’ पत्रकार सम्मेलनका क्रममा प्रवक्ता हकले पत्रकारहरुलाई बताए। 

जेल जीवन बिताइरहेका पूर्वप्रधानमन्त्री सरिफको दल पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन)ले निर्वाचनमा धाँधली भएको आरोप लगाएपछि निर्वाचनको अन्तिम मत परिणाम आउन केही ढिलाइ भएको थियो। पुनः निर्वाचन नभए सडक आन्दोलनमा उत्रने केही साना धार्मिक दलले चेतावनी दिँदै आएका छन्। गत साताको बुधबार सम्पन्न भएको निर्वाचनमा धाँधली वा केही गैरकानुनी काम भएको रहेछ भने त्यसलाई अनुसन्धान गरिने इमरान खानले बताएका छन्। सरिफको दल र अन्य केही पार्टीले निर्वाचनमा खानलाई सहयोग पुग्ने हिसाबले धाँधली भएको आरोप लगाइरहेका छन्। उनीहरुले देशको शक्तिशाली सेनाले खानलाई सहयोग गर्न देशैभर चुनावी प्रक्रियामा चलखेल गरेको आरोप लगाउँदै आएका छन्। निर्वाचनको पर्यवेक्षण गरको युरोपेली संघले निर्वाचनमा त्यति धेरै खेल्ने मैदान नभएको बताएको छ। अमेरिकाले पनि युरोपेली संघकै आवाजलाई समर्थन गरेको छ। सरकार बनाउनका लागि आवश्यक पर्ने एक सय ३७ सिटमा जित हासिल गर्न नसकेपछि खानको दलले धार्मिक दलहरु र स्वतन्त्र उम्मेदवारसँग मिलेर गठबन्धन सरकार बनाउने प्रयासको थालनी गरेका हुन्। भर्खरै गठन भएका दुई साता दलले पनि खानको पिटिआईसँग मिलेर सरकार बनाउनेबारे सकारात्मक संकेत दिएका छन्। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको नयाँ गठबन्धन ग्रान्ड डेमोक्र्याटिक अलाइन्स (जिडिए)सँग दुई सिट रहेको छ। दक्षिणी बलोचिस्तान प्रान्तमा भर्खरै गठन भएको नयाँ समूह बलोचिस्तान अवामाी पार्टी (बिएपी)ले चार सिटमा जित हासिल गरेको छ। 

पाकिस्तानको निर्वाचन आयोगले शनिबार कुल २७२ मध्ये २७० सिटको अन्तिम मत परिणाम सार्वजनिक गरेको छ । दुई सिटमा निर्वाचन स्थगित गरिएको थियो। कैयौं स्थानमा पुनः मत गणना भइरहेकाले अन्तिम मत परिणाममा केही फेरबदल आउन सक्ने रोयटर्सले जनाएको छ। 

पाकिस्तानको संविधानअनुसार थप ७० सिट महिला र गैर मुसलमान अल्पसंख्यकका लागि छुट्याइएको हुँदा गठबन्धन सरकार बनाउने अंकगणित केही झन्झटिलो रहेको छ। पार्टीको प्रस्तुतिअनुसार ती सिट बाँडिने हुँदा यो विषय थप जटिल भएको हो। ७० सिट पनि जोडिएपछि गठबन्धन सरकार बनाउनका लागि एक सय ७२ सिट आवश्यक पर्ने रोयटर्सले जनाएको छ। 

प्रकाशित: १३ श्रावण २०७५ ०४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App