४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

पाकिस्तानमा मतदान सकियो, दिनभरी कम्तीमा ३५ को मृत्यु

इस्लामावाद- हिंसात्मक घटनाहरूका बीच संसदीय निर्वाचनअन्तर्गत पाकिस्तानमा बुधबार मतदान सम्पन्न भएको छ। 

नयाँ संसद र सरकार गठनका लागि भएको मतदानका क्रममा दिनभरी भएका विभिन्न हिंसात्मक घटनाहरूमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। 

स्थानीय समय अनुसार बिहान ८ बजे शुरु भएको मतदान बेलुका ६ बजे अन्त्य भएको घोषणा गरिएको थियो। निर्वाचनको मतपरिणाम भने २४ घण्टाभित्रमा सार्वजनिक हुनसक्ने बताइएको छ। 

राष्ट्रियसभा, संसद्को तल्लो सदन र चारवटा प्रान्तीय विधानसभाका लागि बुधबार मतदान भएको हो। 

पाकिस्तानमा प्रतिनिधिसभा अर्थात संसद्को तल्लो सदन ३४२ सदस्यीय रहेको छ भने त्यसमध्ये २७२ स्थान प्रत्यक्ष निर्वाचित, ६० स्थान महिला आरक्षित र १० स्थान धार्मिक अल्पसंख्यकका लागि छुट्याइएको छ। प्रतिनिधिसभाको लागि तीन हजार ४५९ जना उम्मेदवार रहेका छन्। 

यसैगरी खैबर पाख्तुनख्वा, पञ्जाव, बलुचिस्तान र सिन्ध प्रान्तको प्रान्तीयसभाका लागि ५७७ सिट रहेको र आठ हजार ३९६ उम्मेदवार रहेका छन्। 

यस निर्वाचनका लागि करिब १० करोड ६० लाख मतदाताले आफ्नो नाम निर्वाचन आयोगमा दर्ता गराएकोमा करिब छ करोड पुरुष रहेको जनाइएको छ। 

जनसंख्याका हिसाबले दक्षिण एसियाको दोस्रो ठूलो देशका रूपमा रहेको पाकिस्तानको यस पटकको निर्वाचनलाई महत्वका साथ हेरिएको छ। 

यस निर्वाचनको पूर्वसन्ध्यामा यहाँको सत्तारुढ दल नेशनल मुस्लिम लिगका नेता एवं पूर्वप्रधानमन्त्री नवाज शरिफलाई भ्रष्टाचारको अभियोगमा जेल सजाय सुनाइएको छ। 

निर्वाचनको मुखैमा आएर उहाँलाई दश वर्षको जेल सजाय सुनाइएपछि यहाँको निर्वाचनमा प्रजातान्त्रिक दलहरूको सहभागिता र स्वस्थ एवं निस्पक्ष निर्वाचनका विषयमा आशङ्का पनि उत्पन्न भएको छ। 

निर्वाचनका कारण बुधबार दिनभरी भएका विभिन्न हिंसात्मक घटनाहरूमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको बताइएको छ।

प्रकाशित: ९ श्रावण २०७५ १६:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App