coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मेक्सिको निर्वाचन : वामपन्थी उम्मेद्वार लोपेज अब्राडर विजयी

मेक्सिकोका नवनिर्वाचित राष्ट्रपति एन्ड्रेज म्यानुएल लोपेज अब्राडर ।

मेक्सिको सिटी– मेक्सिकोको राष्ट्रपतीय निर्वाचनमा वामपन्थी उम्मेदवार एन्ड्रेज म्यानुएल लोपेज अब्राडर विजयी भएका छन्।

राष्ट्रपति पदमा विजयी भएपछि अब्राडरले गहन परिवर्तन आइरहेको बताएका छन् । मेक्सिको सिटीका पूर्वमेयर एम्लो उपनामबाट परिचित अब्राडरले ५३ प्रतिशत मत प्राप्त गरेको बताइएको छ । उनका प्रतिद्वन्दीहरुले हार स्वीकार गरिसकेको बिबिसीले जनाएको छ । वामपन्थी उम्मेदवार लोपेज अब्राडरले देशमा विद्यमान भ्रष्टाचारविरुद्ध लड्ने प्रतिज्ञालाई आफ्नो चुनावको प्रमुख नारा बनाएका थिए ।

उनी छिमेकी राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख आलोचकसमेत भएकाले उनको जितले अमेरिका–मेक्सिकोबीचको सम्बन्ध नजिकबाट नियालिने सम्भावना रहेको बिबिसीले जनाएको छ । व्यापार र आप्रवासनलाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्पले कडा रूपमा आलोचना गरिरहेकै बेला वासिङ्टनसँगको मेक्सिकोको सम्बन्धमा तनाब बढिरहेको बिबिसीले जनाएको छ । यद्यपी अमेरिकी राष्ट्रपति ट्रम्पले लोपेज अब्राडर मेक्सिकोको राष्ट्रपति पदमा विजयी भएकोमा ट्विटमार्फत् बधाई ज्ञापन गरेका छन् ।

जितपछि लोपेज अब्राडरले के भने ?
६४ वर्षीय लोपेज अब्राडरले आइतबार अबेर आफूले नागरिक स्वतन्त्रताको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दै खुला वा लुकेको कुनै पनि प्रकारको तानाशाह स्थापना गर्ने आफ्नो चाहना नभएको बताएका थिए ।

लोपेज अब्राडरको वामपन्थी र पपुलिस्ट नीतिका कारण अहिले नै मन्द रूपमासमस्यामा परिसकेको मेक्सिकोको अर्थतन्त्र ध्वस्त हुनसक्ने र अर्को भेनेजुएला बन्न सक्ने भन्दै केही विपक्षीले चिन्ता व्यक्त गरेको बिबिसीले जनाएको छ । आन्तरिक राजनीतिका कारण भेनेजुएलाको अर्थतन्त्र पनि गहिरो र अनियन्त्रित संकटबाट गुज्रिरहेको छ । जितको ऐतिहासिक रात्रि आइतबार लोपेज अब्राडरले सबै मेक्सिकन नागरिकलाई मेलमिलाप गर्न आग्रह गरेको बिबिसीले जनाएको छ । भ्रष्टाचारको संकेतका रूपमा लिइएको ऊर्जा सम्झौतालाई पुनरावलोकन गर्ने निर्वाचन अभियानका बेला आफूले व्यक्त गरेको प्रतिबद्धता पूरा गर्नेसमेत नवनिर्वाचित मेक्सिकन राष्ट्रपति लोपेज अब्राडरले दोहो¥याएको बिबिसीले जनाएको छ ।

‘हाँसोन्मुख राजनीतिक शासनको नतिजा भ्रष्टाचार हो । यही खराबी नै देशको सामाजिक र आर्थिक असमानताको मुख्य कारण भएको कुरामा हामी विश्वस्त छौं । त्यत्तिमात्रै हैन, भ्रष्टाचारकै कारण देशमा हिंसा भइरहेको आरोपसमेत लाग्ने गरेको छ,’ लोपेज अब्राडरलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । हतियारधारीसहित भ्रष्टाचारमा संलग्न कसैलाइै पनि नछोड्ने उनले जोड दिएका छन्।

उनका अन्य नीति के छन् ?

लागूऔषधसँग सम्बन्धित हिंसाको बढ्दो रेकर्डसँग जुध्न सुरक्षा क्याबिनेटसँग दैनिक रूपमा बैठक गर्ने लोपेज अब्राडरले नीति बनाएका छन् । त्यस्तो सुरक्षा क्याबिनेट ‘युनिफाइड कमान्ड’ अन्तर्गत आफ्नो नियन्त्रणमा हुने पनि लोपेज अब्राडरलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । निर्वाचन अभियानभर एक सय ३० भन्दा बढि राजनीतिक उम्मेदवार र पार्टी कार्यकर्ता मारिएको आइतबारको निर्वाचन मेक्सिकोले दशकौंपछि भोगेको हिंसात्मक निर्वाचनमध्येको एक हो ।

निर्वाचन अभियानभर ट्रम्पलाई उद्धृत गर्नुपर्दा लोपेज अब्राडरले अमेरिकासँग आमनेसामने हुने खालको भाषा प्रयोग गरेको भए पनि जितसँगै गरेको सम्बोधनमा भने उनले अमेरिकासँग मित्रवत सम्बन्ध चाहेको भन्दै आफ्नो बोली फेरेको बिबिसीले जनाएको छ ।

विजयी सम्बोधनमा उनले देशको व्यापारिक क्षेत्रलाई राष्ट्रियकरण नगर्ने भन्दै विश्वस्त पार्न खोजे । उनले आफ्नो सरकार आर्थिक रूपमा अत्यन्तै अनुशासित हुने र करको दायरा नबढाइने पनि विजयी सम्बोधनका क्रममा बताएको बिबिसीले जनाएको छ । सामाजिक सुरक्षा नीतिअन्तर्गत उनले डिसेम्बर एकमा कार्यालय सम्हालेलगत्तै ज्येष्ठ नागरिकलाई दिँदै आएको पेन्सनमा दुईगुणा वृद्धि गर्ने बताएका छन् ।
 

प्रकाशित: १९ असार २०७५ ०२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App