१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

युएईविरुद्ध कतार अन्तर्राष्ट्रिय अदालतमा

हेग– संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध कतारले बुधबार अन्तर्राष्ट्रिय अदालतमा उजुर गरेको छ ।

युएईले कतारविरुद्ध गरिरहेको प्रतिबन्ध भेदभावविरुद्धको अन्तर्राष्ट्रिय सन्धिका उल्लङ्घन भएको भन्दै नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय न्याय अदालतलाई त्यसविरुद्ध कदम चाल्न आग्रह गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

राष्ट्रहरुबीचको कानुनी विवाद समाधानका लागि स्थापना गरिएको संयुक्त राष्ट्रसंघीय निकाय अन्तर्राष्ट्रिय न्याय अदालत जसलाई अनौपचारिक रूपमा विश्व अदालत पनि भन्ने गरिन्छ, त्यससामु युएईको अव्यवहारिक कदमविरुद्ध तत्काल राहत माग गरेको रोयटर्सले जनाएको छ ।संयुक्त अरब इमिरेट्स, बहराईन र इजिप्टले सानो तर तेलमा धनी राष्ट्र कतारविरुद्ध सन् २०१७ को जुन महिनादेखि प्रतिबन्ध लगाएका छन् ।

जसका कारण कतार र यी राष्ट्रबीचको कूटनीतिक र यातायात सम्बन्धमा समस्या उत्पन्न भइरहेको छ । कतारले आतंकवादलाई सहयोग गरिरहेको आरोपमा युएई, बहराईन र इजिप्टले दोहासँगको कूटनीतिक र पारवहन सम्बन्ध तोडेको बताएका थिए । कतारले भने आतंकवादलाई सहयोग गरिरहेको भन्ने युएईलगायतका राष्ट्रको आरोपलाई अस्वीकार गर्दै आइरहेको छ ।युएईको प्रतिबन्धका कारण कतारी नागरिक र उनीहरुका परिवारमाथि विध्वंसकारी प्रभाव परिरहेको कतारी एजेन्टले अदालतमा बताएका छन् ।

युएईको प्रतिबन्धका कारण अझै पनि इमिरेट्समा रहेका आफ्ना परिवारलाई भेट्न कतारी नागरिक असमर्थ भइरहेकोसमेत एजेन्टले विश्व अदालतसमक्ष भनाइ राखेको रोयटर्सले जनाएको छ । कतारका एजेन्ट मोहम्मद अल–खुलाइफीले अन्तर्राष्ट्रिय न्याय अदालतका न्यायाधीशसामु प्रतिबन्धले युएई र कतारबीचमा राष्ट्रियताका आधारमा कुनै पनि भेदभाव नगर्ने भन्ने सम्झौता र सबै प्रकारको रंगभेदी भेदभाव अन्त्य गर्नेबारेको अन्तर्राष्ट्रिय सम्झौताको उल्लङ्घन भएको जिकिर गरेका छन् ।

कतारको दाबी झुट भएको भन्दै यस विषयमा बिहीबार आफ्नो धारणा दिने युएईले जानकारी गराएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । साउदी अरब, बहराइन र इजिप्टले भने अझैसम्म सबै प्रकारको रंगभेदी भेदभाव अन्त्य गर्नेबारेको अन्तर्राष्ट्रिय सम्झौतामा हस्ताक्षर गरेका छैनन् । त्यसैकारणले पनि कतारले युएईविरुद्ध मात्रै उजुर गरेको बताइएको छ ।कतारविरुद्ध लगाउने राष्ट्रहरुमध्येको एक युएईले कतारी नागरिकलाई देश निकाला गरेको, यातायात रोकेको र दोहा आधारित अल जजिरा न्युज च्यानलको कार्यालय बन्द गरेको दोहाले आरोप लगाएको छ ।

अन्तर्राष्ट्रिय न्याय अदालतमा कतारले दायर गरेको उजुरीको अस्थायी समाधानका लागि युएईले गरेको यस्तो कदमलाई फिर्ता दिलाइदिन मागसमेत गरिएको रोयटर्सले जनाएको छ । अदालते अझै मिति नतोके पनि कतारको उजुरीमा दुई महिनाभित्र अन्तर्राष्ट्रिय न्याय अदालतले अस्थायी रुलिङ गर्न सक्ने बताइएको छ । अदालतसमक्ष आउने विवादको औपचारिक फैसला आउन कैयौं वर्ष लाग्ने गरेको छ ।

 

प्रकाशित: १४ असार २०७५ ०१:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App