८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

नाइजेरियामा साम्प्रदायिक हिंसा, कम्तीमा ८६ को मृत्यु

अबुजा– नाइजेरियाको प्लेटू राज्यमा किसान र घुमन्ते गोठालाबीच भएको हिंसामा कम्तीमा ८६ जनाको मृत्यु भएको छ।

बेरोम आदिवासी किसानले फुलानी समुदायका गोठालामाथि आक्रमण गरेपछि गत बिहीबारबाट हिंसा भएको नाइजेरियाली प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

बिहीबारको हिंसापछि शनिबार प्रत्याक्रमण हुँदा थप मानिसको ज्यान गएको बताइएको छ । जमीनका लागि लड्दै आएका आदिवासी समूहबीच सो क्षेत्रमा साम्प्रदायिक हिंसाको दशकौं लामो इतिहास रहेको छ ।

यसअघि मालि भन्ने ठाउँमा भएको फुलानी सम्प्रदायका गोठाला र स्थानीय शिकारीबीचको यस्तै प्रकारको हिंसामा पनि दर्जनौं मानिस मारिएका थिए । शनिबारको घटनापछि प्लेटू राज्यका तीनवटा क्षेत्रमा निषेधाज्ञा र कफर््यू जारी गरिएको बिबिसीले उल्लेख गरेको छ।

घटनापछि प्लेटू राज्यका गाउँहरूमा गरिएको खोजबिनका क्रममा ८६ जना मारिएको र ६ जना घाइते भएको पाइएको सो राज्यका प्रहरी प्रमुख युन्डी एडीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । उनका अनुसार हिंसामा ५० वटा घर र १५ वटा मोटरसाइकल र दुई वटा गाडी पनि जलाइएको छ । प्लेटूमा रहेको पुरानो द्वन्द्व क्रुरताको नयाँ तहमा पुगेको लागोसस्थित बिबिसीका संवाददाताले बताएका छन् । जमीनमा पहुँच र जनावरको चरनको अधिकारलाई लिएर मध्य नाइजेरियामा किसान र फिरन्ते गोठालाबीच झडप हुँदै आएका छन्।

तर आक्रमण र प्रत्याक्रमणका घटना अहिले साम्प्रदायिक लडाइँमा परिणत हुन थालेको बिबिसीले जनाएको छ । गत वर्ष त्यस्ता आक्रमण र प्रत्याक्रमणमा हजारौं मानिसले ज्यान गुमाएका थिए । फिरन्ते गोठाला फुलानी आदिवासी हुन् जसमध्ये अधिकांश मुस्लिम छन् भने किसान मुख्यतया ईसाई धर्मावलम्बी भएको बिबिसीले उल्लेख गरेको छ ।
 

प्रकाशित: १२ असार २०७५ ०३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App