coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सान्चेज स्पेनका नयाँ प्रधानमन्त्री

म्याड्रिडमा शनिबार स्पेनी राजा फिलिपसँग प्रधानमन्त्रीको पदको सपथ लिँदै पेड्रो सान्चेज (बायाँ अगाडि)। तस्बिर : एजेन्सी

म्याड्रिड – वर्तमान कन्जरभेटिभ प्रधानमन्त्रीलाई स्पेनी संसद्ले अविश्वासको मतद्वारा हटाएपछि स्पेनी राजा फिलिपले समाजवादी नेता पेड्रो सान्चेजलाई नयाँ प्रधानमन्त्रीका रूपमा सपथ गराएका छन्।

नयाँ प्रधानमन्त्री सान्चेजको सपथ ग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री राजोय पनि सहभागी रहेको बिबिसीले उल्लेख गरेको छ।

अनिश्वरवादी सान्चेजले आधुनिक स्पेनको इतिहासमै पहिलो पटक बाइबल वा ‘क्रुसिफिक्स’को नाम नलिई देशको संविधान जोगाउने सपथ लिएको बिबिसीले जनाएको छ ।

अनिश्वरवादी सान्चेजले आधुनिक स्पेनको इतिहासमै पहिलो पटक बाइबल वा ‘क्रुसिफिक्स’को नाम नलिई देशको संविधान जोगाउने सपथ लिएको बिबिसीले जनाएको छ। स्पेनी संसद्को बाँकी रहेको दुई वर्षीय कार्यकालका लागि उनी प्रधानमन्त्री पदमा रहन पाउनेछन् तर संसद्मा उनको दलको एक चौथाइ सिट मात्र छ। आफ्नो मन्त्रिमण्डलमा कसलाई सामेल गराउने भनेर सान्चेजले विचार गरिरहेको बिबिसीले उल्लेख गरेको छ।

उनका पूर्ववर्ती राजोयलाई भ्रष्टचारको अभियोगमा पदबाट हटाउनका लागि सान्चेजले बास्क तथा क्याटलन राष्ट्रवादीहरुसँगै अन्य ६ दलको समर्थन पाएका थिए। राजधानी म्याड्रिडमा रहेको शाही निवासमा भएको सपथ ग्रहणको छोटो औपचारिक कार्यक्रममा ४६ वर्षीय सान्चेजले आफ्नो कर्तव्य विवेकपूर्ण र इमान्दारीपूर्वक गर्ने प्रतिबद्धता गरे। उनले आफू राजाप्रति वफादर रहँदै देशको संविधानको रक्षाका लागि लागिपर्ने समेत सपथ ग्रहणमा बताए। कन्जरभेटिभ पिपल्स पार्टी (पिपी)ले सन् १९९९ देखि २००५ सम्म सञ्चालन गरेको गोप्य आर्थिक अभियानसँग सम्बन्धित स्क्यान्डललाई लिएर देशको संसद्मा अविश्वासको प्रस्ताव दर्ता गर्दै सान्चेजले आफ्नो पूर्ववर्ती राजोयलाई पदमुक्त गराउन सफल भएको बिबिसीले जनाएको छ। राजोय आधुनिक स्पेनी इतिहासमा अविश्वासको मतद्वारा पदमुक्त हुने पहिलो प्रधानमन्त्री भएका छन्।

यसैबीच क्याटलोनियाको नयाँ क्षेत्रीय सरकारको पनि शनिबार नै सपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको बिबिसीले जनाएको छ । नयाँ क्षेत्रीय सरकार गठन भएसँगै सात महिनादेखि जारी म्याड्रिडको प्रत्यक्ष शासन पनि अन्त्य भएको छ।

पदबाट वर्खास्त गरिएको क्याटलोनियाका विखण्डनवादी राष्ट्रपति कार्लेस पुइगडेमन्टको नजिकका व्यक्ति पृथकतावादी नेता क्वीम टोर्रा नेतृत्वमा नयाँ क्षेत्रीय सरकारमा सहभागी हुने मन्त्रीहरुलाई पनि शनिबार नै सपथ दिलाइएको बिबिसीले उल्लेख गरेको छ। सपथ ग्रहण समारोहमा क्याटलोनियाका नवनियुक्त राष्ट्रपति टोर्राले स्पेनबाट क्याटलन क्षेत्रलाई स्वतन्त्र बनाउने अभियानमा आफू लागिरहने प्रतिबद्धता व्यक्त गरेको बिबिसीले जनाएको छ । सपथ ग्रहण समारोहमा टोर्राले मन्त्रिमण्डलमा सामेल गराउन चाहेको तर पृथकतावादी अभियानमा निर्वाह गरेको भूमिकाका लागि थुना वा स्वनिर्वासनमा रहेका चारजना भूतपूर्व क्याटलान मन्त्रीहरुले पठाएको पत्र उनीहरुका आफन्तहरुले पढेर सुनाएका थिए। गत वर्षको अक्टोबर महिनामा क्याटलान सरकारले एकपक्षीय रुपमा स्पेनबाट अलग भएको घोषणा गरेपछि म्याड्रिडले संवैधानिक व्यवस्थाअन्तर्गत क्याटलोनियामा प्रत्यक्ष शासन लागू गरेको थियो। क्याटलोनियाको क्षेत्रीय संसद्ले अवैधानिक रूपमा क्याटलन क्षेत्रलाई स्वतन्त्र भएको घोषणा गरेको भन्दै स्पेनको संवैधानिक अदालतले त्यस्तो घोषणा गैरकानुनी भएको फैसला गरेको थियो।

वार्ताको आह्वान
स्वतन्त्र क्याटलोनिया पक्षधर नेता एवं नवनियुक्त क्षेत्रीय राष्ट्रपति क्वीम टोर्राले स्पेनका नवनियुक्त प्रधानमन्त्री पेड्रो सान्चेजलाई शनिबार वार्ताका लागि आह्वान गरेका छन्।

‘प्रधानमन्त्री पेड्रो सान्चेज कुरा गरौँ । स्पेन र क्याटलोनियाबीचको तनाबलाई सम्बोधन गरौं। तपाईं र हामी मिलेर समस्या समाधानका लागि जोखिम उठाऔं,’ राष्ट्रपति टोर्रालाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

स्पेनको राजनीतिमा अनुभवी राजनीतिज्ञका रूपमा मानिने नेता मारियानो राजोयलाई स्पेनी संसदले अविश्वासको मतमार्फत् पदमुक्त गरेपछि नयाँ प्रधानमन्त्रीका रूपमा सपथ लिएका सान्चेजसँग वार्ता सहज हुने विश्वासका साथ क्याटलोनियाको क्षेत्रीय सरकार प्रमुख टोर्राले वार्ताको प्रस्ताव गरेको विज्ञहरुले अनुमान गरेका छन् । राजोयले करिब सात बर्ष स्पेनी प्रधानमन्त्रीका रूपमा नेतृत्व सम्हालेका थिए।

प्रकाशित: २० जेष्ठ २०७५ ०४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App