८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

चुनाव प्रचारमा भएको घुसपैठको अनुसन्धान गर्न माग

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव प्रचारका क्रममा आफूविरुद्ध घुसपैठ तथा जासुसी भएको पाइएको भन्दै यसको अनुसन्धान गर्न माग गरेका छन्।

उनले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनका समयमा आफूविरुद्धमा राजनीतिक रूपमा प्रभावित भएर गरिएको गुप्तचर र घुसपैठका क्रियाकलाप भेटिएको भन्दै यसको छानबिन हुनुपर्ने बताएका हुन् । अमेरिकाको न्याय मन्त्रालयले पनि राष्ट्रपति ट्रम्पको चुनाव प्रचारको अभियानका क्रममा गैरराजनीतिक निगरानी तथा घुसपैठ गरिएको भन्ने दाबी प्राप्त भएको भन्दै यसमाथि छानबिन गरिने जानकारी यसअघि नै सार्वजनिक गरेको थियो । राष्ट्रपति ट्रम्पले ट्विटमार्फत् आफ्नो चुनावी अभियानका बारेमा छानबिन गर्न न्याय मन्त्रालयसमक्ष माग गरेको बताएका हुन् ।

अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) का प्रतिनिधिहरुले राष्ट्रपतीय निर्वाचनका क्रममा राष्ट्रपति ट्रम्पको चुनावी अभियानमाथि अनुचित तरिकाबाट जासुसी गरिएको भन्ने आरोपका विषयमा अनुसन्धान गरिने बताएका छन् । त्यस निर्वाचनका क्रममा यस्तो गैरकानुनी काम गरे वा नगरेको भन्ने बारेमा पत्ता लगाउन उक्त कार्यालयले अनुसन्धान थाल्ने योजना बनाएको बताएको छ ।अमेरिकाका उपमहान्यायाधिवक्ता रड रोजेन्स्टेनले यस्तो कुनै प्रकारको घुसपैठ भएको भन्ने बारेमा अहिले नै केही भन्न नसकिने भन्दै यदि त्यस्तो भएको प्रमाणित भएमा संलग्नहरुमाथि उचित कारबाही गरिने जानकारी दिएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले यसरी आफ्नो ट्विट अकाउन्टमार्फत् नै अनुसन्धान गर्न भनेपछि संघीय अनुसन्धान ब्युरोका एक प्रतिनिधिले ट्रम्पका प्रचार प्रसार सहयोगीसँग भेटघाट गरेका छन् ।यसअघि गत वर्ष अमेरिकी राष्ट्रपति ट्रम्पलाई सन् २०१६ मा भएको निर्वाचनको प्रचारका क्रममा रुसका अधिकारीहरुले सहयोग गरेको भन्ने विवरण बाहिरिएको थियो । यसरी अमेरिकी निर्वाचनमा रुसी अधिकारीहरुको हस्तक्षेपका बारेमा सन् २०१७ भरि नै अनुसन्धान भएकामा अहिले आफ्नै निर्वाचनका विरुद्धमा यस्तो जासुसी भएको समाचार आएपछि उनले यसको अनुसन्धान गर्न भनेको एएफपीले जनाएको छ ।

एफबीआईका अधिकारीले ट्रम्पको निर्वाचन अभियानका क्रममा रुसी अधिकारीहरुसँग पनि सम्पर्क भएको भन्ने बारेमा पनि केही तथ्यहरु भेटिएको बताएका छन् । त्यसैले ट्रम्पको चुनावी अभियानका विभिन्न पक्षमाथि नै अनुसन्धान सुरु भएको एफबिआईका अधिकारीहरुलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । उनको चुनावी प्रचारप्रसारका क्रममा रुसी गुप्तचरहरुसँग साँठगाँठ भएको भन्ने आरोपको छानबिनको अभियान अमेरिकी सिनेटसम्म नै पुगेको थियो ।

उता राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानमा भएको यस गुप्तचर क्रियाकलापहरुका बारेमा छानबिन गर्न अघिल्लो ओबामा प्रशासनलाई पनि भनेको तर त्यस बारेमा उक्त प्रशासनले एफबीआईलाई आदेश दिए÷नदिएको बारेमा पनि छानबिन गर्न माग गरेको बताएका छन् । यस विषय कुनै पनि राजनीतिक रूपमा प्रेरित नभई विशुद्ध अनुसन्धान मात्र गर्नुपर्ने पनि ट्रम्पले माग गरेका छन् । न्याय मन्त्रालयका एक प्रवक्ताले यस विषयलाई सोही बमोजिम नै अघि बढाइने बताएका छन् ।

प्रकाशित: ८ जेष्ठ २०७५ ०२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App