१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

अमेरिकी सेना दक्षिण कोरियामा रहिरहने

सोल – सन् १९५० देखि १९५३ सम्म भएको कोरियाली युद्धको औपचारिक अन्त्य गर्नेबारे दुई कोरियाबीच सम्झौता भएपनि अमेरिकी सेनाको फौज दक्षिण कोरियामा नै रहिरहने दक्षिण कोरियाली सरकारले बताएको छ।

कोरियाली युद्धविरामपछि सन् १९५३ मा अमेरिका र दक्षिण कोरियाबीच भएको सुरक्षा सम्झौताअनुरुप हाल करिब २९ हजार अमेरिकी सेना दक्षिण कोरियामा तैनाथ छन्।

कोरियाली प्रायद्वीपबाट अमेरिकी सेना फिर्ता जाने शर्तमा आफ्नो आणविक हतियार कार्यक्रम त्याग्ने उत्तर कोरियाले यसअघि नै बताइसकेको छ। उत्तरको यस्तो शर्त भएपनि दक्षिण कोरियाली सरकारका प्रवक्ताले दक्षिण कोरियामा अमेरिकी सेना रहनुले दुई देशबीचमा हुने शान्ति सम्झौतामा केही असर नपर्ने बताएका छन् ।

‘दक्षिण कोरियामा तैनाथ गरिएका अमेरिकी सेनाको मुद्दा भनेकोक अमेरिका र दक्षिण कोरियाबीचको गठबन्धनको मुद्दा हो,’ दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनका तर्फबाट बोल्दै किम इवी–केयोमले जनाएका छन्।

दुई कोरियाबीच गत साता भएको ऐतिहासिक वार्तामा दक्षिण कोरियाली राष्ट्रपति मुन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले कोरियाली प्रायद्वीपलाई पूर्ण रूपमा निःशस्त्रीकरण गर्नेतर्फ मिलेर काम गर्ने र युद्धविरामको अवस्थामा रहेको कोरियाली युद्धलाई यसै वर्षभित्र औपचारिक रूपमा अन्त्य गर्नेबारे सम्झौता गरेका थिए। सन् १९५० देखि सुरु भएको कोरियाली युद्ध सन् १९५३ मा युद्धविराममार्फत् रोकिएको थियो । जसको अर्थ दुई कोरिया अहिले पनि प्राविधिक रूपमा युद्धमा नै रहेका छन्।

दक्षिण कोरियाली राष्ट्रपतिका सल्लाहकारले एउटा पत्रिकामा लेखेको स्तम्भमा दुई कोरियाबीच शान्ति सम्झौतामा हस्ताक्षर हुने हो भने अमेरिकी सेनाको तैनाथीबारे प्रमाणित गर्न अप्ठेरो हुने उल्लेख भएको विषयमा प्रतिक्रिया जनाउँदै दक्षिण कोरियाली सरकारले शान्ति सम्झौता भए पनि अमेरिकी सेना दक्षिण कोरियामा बसिरहने प्रष्ट पारेको हो।

‘सुरक्षा ग्यारेन्टी’
दक्षिण कोरियामा रहेका अमेरिकी सेनाबारे उत्तर कोरियाले मुखै खोलेर विगतमा विरोध जनाइसकेको छ। त्यसैगरी अमेरिकी–कोरियाली सेनाको संयुक्त सैन्य अभ्यासले पनि प्योङयाङ रिसाउने गरेको छ। यस्तो परिवेश भएपनि गत साता दुई कोरियाली नेताले जारी गरेको पानमुनजोम घोषणामा यसबारे केही उल्लेख गरिएको थिएन।

उत्तर कोरियाली नेता किमले आफ्नो देशको सुरक्षामा प्रत्याभूति भए आणविक हतियारको आवश्यकता नभएको बताएको दक्षिण कोरियाली अधिकारीहरुले दाबी गर्दै आइरहेका छन्। गत साता दक्षिण कोरियाली राष्ट्रपति मुनसँग शिखर वार्ता गरेका उत्तर कोरियाली नेता किमले अबको केही सातामा नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि शिखर वार्ता गर्दै छन्। ट्रम्प र किमबीच शिखर वार्ता हुने तय भए पनि अझै बैठकका अजेन्डा, मिति र स्थान भने तय भइसकेको छैन। अमेरिकी राष्ट्रपति ट्रम्पले केही समयअघि अमेरिकाले दक्षिण कोरियाली सैन्य उपस्थितिमा किन यति धैरै खर्च गरिरहेको छ भनेर प्रश्न गरेका थिए। उनको यस्तो प्रश्नलाई कतिपयले किमसँगको वार्तामा ट्रम्प दक्षिण कोरियामा तैनाथ अमेरिकी सेनाबारे पनि छलफल गर्न तयार रहेको हुनसक्ने बताएका छन्।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस चिफ अफ स्टाफ जोन केल्लीले राष्ट्रपति कार्यालयबाटै अज्ञात व्यक्तिको नामबाट जारी गरिएको विवरणमाथि प्रतिक्रिया जनाउँदै ट्रम्पले शीतकालीन खेलकुदका बेला सम्पूर्ण अमेरिकी सैनिकलाई दक्षिण कोरियाबाट फिर्ता ल्याउन चाहेको भन्ने विवरणको खण्डन गरेका छन्।

प्रकाशित: २० वैशाख २०७५ ०३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App