३० माघ २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनले पनि अमेरिकामाथि लगायो कर

अमेरिकाले आफ्ना वस्तुमाथि कर लगाएपछि चीनले पनि अब जवाफ दिएको छ। चीनले मंगलबार अमेरिकाबाट आयात हुने सामानहरूमा थप कर लगाउने घोषणा गर्‍यो, जसमा कोइला र तरल प्राकृतिक ग्यासमा १५ प्रतिशत, कच्चा तेल, कृषि मेसिनरी, ठूला इन्जिन भएका कारहरू र पिकअप ट्रकहरूमा १० प्रतिशत कर लगाएको हो। 

चीनले सबै चिनियाँ सामानहरूमा थप कर लगाउने अमेरिकी सरकारको निर्णय एकतर्फी कर वृद्धि भनेको छ। यसले विश्व व्यापार संगठनको नियमहरूको गम्भीर उल्लङ्घन गर्ने बुझाइ पनि उसको छ।

चीनमाथि कर लगाउन अमेरिकाले दिएको समयसीमा आज समाप्त भयो। यसअघि चीनले अमेरिकालाई आफ्नो निर्णयमा पुनः विचार गर्न भनेको थियो। तर अमेरिकाले चीनमाथि दश प्रतिशत कर लगायो। 

यसलगत्तै चीनले पनि जवाफी कर घोषणा गरेको चिनियाँ सञ्चारमाध्यमले जानकारी दिएका छन्। यद्यपि, अमेरिकाले मेक्सिको र क्यानडामाथि लगाइएको २५–२५ प्रतिशत कर ३० दिनको लागि स्थगित गरेको छ। 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कुरा गर्न सक्ने बताइएको थियो। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले फक्स न्यूजसँग कुरा गर्दै यसबारे जानकारी गराएकी थिइन्। 

चीनमाथि लगाइएको करको बारेमा ट्रम्पले सीसँग कुरा गर्न सक्ने चर्चाबीच चीनले कर लगाएर जवाफ दिएको हो। चीनले अमेरिकाको यो कदमविरुद्ध विश्व व्यापार संगठनमा मुद्दा दायर गर्न सक्ने बताएको थियो। 

प्रकाशित: २२ माघ २०८१ १२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App