सोभियत संघ टुक्रिएर तहसनहस भएको जम्माजम्मी आठ वर्षमै भ्लादिमिर पुटिन सन् २००० मार्च २६ मा रुसको राष्ट्रपति बने। त्यो बेला पुटिनको उमेर ४८ वर्ष थियो। यतिबेला पुटिन ७३ वर्षका भए। उनी अझै पनि रुसका राष्ट्रपति नै छन्।
अमेरिकामा यस अवधिमा पाँच राष्ट्रपति परिवर्तन भइसके। राष्ट्रपतिका रूपमा पुटिनले सात पटक अमेरिका भ्रमण गरिसकेका छन्। उनी पहिलो पटक सन् २००० सेप्टेम्बर ६ मा अमेरिका गएका थिए। त्यो बेला उनले अमेरिकी राष्ट्रपति बिल क्लिन्टनलाई भेटेका थिए। पछिल्लो पटक उनी सन् २०१५ मा अमेरिका गएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘रुसले अमेरिकालाई दोस्रो विश्वयुद्धमा साथ दिएको थियो र यसलाई बिर्सन नसकिने’ बताए। ट्रम्पले दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्ष हुन लागेको र यी ८० वर्षमा संसारमा धेरै कुरा परिवर्तन भइसकेको स्मरण गरे। सबैभन्दा महत्वपूर्ण त दोस्रो विश्वयुद्धमा जुन सोभियत संघ अमेरिकासँग उभिएको थियो, सन् १९९१ मा कैयौं टुक्रामा बाँडिँदा अमेरिकाले खुसी मनाएको थियो। यस्तोमा ट्रम्पले दोस्रो विश्वयुद्धमा अमेरिका र सोभियत संघ सँगै थिए भन्नुको कुनै औचित्य रहँदैन।
जुन बेला अमेरिका र सोभियत संघ सँगै मिलेर युद्ध गरिरहेका थिए, त्यो बेला उनीहरूबीच पर्याप्त मतभेद थियो र पनि युद्ध जित्न र हिटलरलाई हराउन एकसाथ अघि बढेका थिए। त्यो बेला मिल्ती सम्भव थियो भने अहिले पनि त्यस्ता मतभेदका बाबजुद अघि बढ्न सकिन्छ भन्ने राय ट्रम्पको हुन सक्ने केही विज्ञको मत छ।
सन् १९१७ मा रुसी क्रान्ति भएपछि अमेरिकासँग रुसको वैचारिक मतभेद बढ्यो। दोस्रो विश्वयुद्ध सुरु हुँदासम्म हिटलरविरुद्ध अमेरिका र सोभियत संघ सँगै अघि बढ्न थाले। चीनलाई चुनौती दिने हो भने रुसलाई अमेरिकाले फकाउनु जरुरी छ। अमेरिका रुस र चीन दुवैसँग एकसाथ भिड्न सक्दैन। ट्रम्पले यही भन्न खोजेको हुन सक्ने र त्यो बेला सँगै अघि बढ्न सकिएको भए अहिले किन सकिँदैन भन्ने धारणा राखेको हुन सक्ने विज्ञको टिप्पणी छ। पुटिन सत्तामा आउनेबित्तिकै रुसले आफ्नो अवस्था स्पष्ट पारिसकेको थियो। ऊ अमेरिकाविरोधी भइसकेको थियो। सरकार मात्र विरोधी भए त एउटा सरकार जान्छ, अर्को आउँछ।
त्यो बेला सम्बन्ध सुधार्ने सम्भावना हुन्छ तर त्यहाँका जनता पनि अमेरिकीहरूप्रति उति सकारात्मक थिएनन्। सन् १९९० को दशकदेखि रुसको मस्कोस्थित सर्भे केन्द्र द लेवाडा सेन्टरले अमेरिकाप्रति रुसीहरूको रुझान कस्तो छ भन्ने सर्भे गरिरहेको छ। द लेवाडा सेन्टरका अनुसार, पहिले रुसीहरू अमेरिका विरोधी थिएनन्। सन् १९९० को दशकको सुरुवातमा अधिकांश रुसीहरू अमेरिकालाई एक्लो महाशक्ति नै ठान्थे। अमेरिका नै संसारको रोलमोडल हो भन्थे। सन् १९९०–१९९१ मा गरिएको सर्भेअनुसार ३९ प्रतिशत रुसी अमेरिकाप्रति रुचि राख्थे। २७ प्रतिशत जापानप्रति झुकाव राख्थे भने जम्माजम्मी १७ प्रतिशतले जर्मनीलाई राम्रो मान्थे।
सोही सर्भेमा पश्चिमका कुन देशमा रुसले राम्रो सम्बन्ध राख्नुपर्छ भन्ने प्रश्नमा ७४ प्रतिशतले अमेरिकासँग भन्ने जवाफ दिएका थिए। अमेरिकाले सन् १९९३ मा इराकमा आक्रमण गरेको थियो। यो आक्रमणले अमेरिकाप्रतिको समर्थनमा केही परिवर्तन ल्याउन थाल्यो। क्रमशः रुसीहरूको रुचि अमेरिकाप्रति घट्न थाल्यो। सन् १९९८–९९ का बीच पश्चिमा मुलुकहरूले केही देशमा गरेको आक्रमणका कारण उसप्रतिको नरमपना हराउन थाल्यो। रुसीहरूको नजरमा अमेरिका गिर्न थाल्यो।
सन् १९९९ मा नेटोले युगोस्लाभियामा बम आक्रमण गर्यो र रुसी सरकारले सो आक्रमणलाई लिएर निकै आपत्ति जनायो। रुसीहरूलाई लाग्यो, अमेरिकाले आफ्नो नेतृत्वमा सारा पश्चिमा मुलुक मिलेर रुसी हितविरुद्ध काम गरिरहेको छ। यसपछि दोस्रो चेचेन युद्ध सुरु भयो र पश्चिमा मुलुकले रुसको आलोचना गर्न थाले। अमेरिकाले यही बेला एन्टी ब्यालेस्टिक मिसाइल सन्धि (एबिएम) बाट आफूलाई मुक्त गर्यो। यसपछि सोभियत संघको पतनपछि पहिलो पटक नेटोलाई विस्तार गर्दै रुस नजिकका देशसम्म पुग्न थाल्यो। एबिएम सन्धि अमेरिका र सोभियत संघबीच थियो। सो सन्धि अन्तर्गत ती दुई देशले एन्टी ब्यालेस्टिक मिसाइल विकास, उत्पादन तथा तैनाथीलाई सीमित गर्नुपर्ने थियो।
क्रमशः सर्भे हुँदै जाँदा नेटोले अफगानिस्तान, इराक, लिबिया र सिरियामा आफ्नो कारबाही बढाउन थालेपछि रुसीहरूबीच अमेरिकाविरोधी भावना बढ्न थाल्यो। यसको अर्थ पुटिन जब रुसी राष्ट्रपति चुनिए, त्योभन्दा पहिले नै अमेरिकाविरोधी भावना जन्मिसकेको थियो। अमेरिकाले २००३ मा एक पटक पुनः इराकमा आक्रमण गर्यो। त्यो बेला जर्ज डब्ल्यु बुस अमेरिकाका राष्ट्रपति थिए र पुटिनले रुस हाँकिरहेका थिए। रुसले अमेरिकाको यस आक्रमणको विरोध गर्यो तर अमेरिका र उसको सैन्य गठबन्धनले उक्त विरोधलाई रतिभर गनेनन्।
सन् २००१ को जुन १६ मा पुटिन र बुसबीच स्लोभेनियामा भेट हुँदा बुसले उनको तारिफ नै गरेका थिए। उनले भनेका थिए, ‘मैले पुटिनको आँखामा हेरेँ। उनी संवेदनशील लाग्यो। उनी खुलेर कुरा गर्ने र भरोसायोग्य देखेँ।’ त्यही बेला बुसले पुटिनबारे भनेका थिए, ‘पुटिन आफ्नो देशप्रति निकै प्रतिबद्ध छन्। उनी आफ्नो देशको हितका लागि सजग देखेँ। खुला रूपमा उनले कुरा गरेकामा म उनको प्रशंसा गर्छु। मलाई पुटिनप्रति भरोसा हुन्थेन भने उनलाई भेटका लागि निमन्त्रणा पनि गर्ने थिइनँ। रुस र अमेरिकाले शीतयुद्धको मानसिकताबाट बाहिर निस्केर नयाँ सिराबाट सम्बन्ध सशक्त बनाउनुपर्छ।’
यतिन्जेल त अमेरिका–रुस सम्बन्ध ठिकै थियो। तर सम्बन्ध क्रमशः बिग्रनुमा नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन अर्थात् नेटो थियो। यो विश्वयुद्धपछि सन् १९४९ मा बनाइएको थियो। यसलाई उभ्याउन अमेरिका, क्यानडा र अन्य पश्चिमा मुलुक थिए। उनीहरूले यसलाई सोभियत संघबाट सुरक्षा दिलाउन बनाएका थिए। त्यो बेला संसार दुई ध्रुवीय थियो। एउटा महाशक्ति अमेरिका थियो भने दोस्रो सोभियत संघ। सुरुमा नेटोका सदस्य देश १२ मात्र थिए। नेटो बनाउनुको मुख्य कारण के थियो भने यदि युरोप या अमेरिकामा कुनै देशले आक्रमण गरे भने नेटोमा संलग्न देशले उसमाथि आक्रमण गरेको ठानिनेछ।
पुटिन मात्र नेटोविरोधी भने होइनन्। उनी पछि यसको विरोधी भएका होइनन्। सन् २००० मा नै ५ मार्चमा बिबिसीका पत्रकार डेभिड फ्रस्टले सोधेका थिए, ‘नेटोबारे तपाईंको धारणा के छ? नेटो सम्भावित साझेदार हो कि प्रतिद्वन्द्वी हो कि दुस्मन हो?’ पुटिनले भनेका थिए, ‘रुस युरोपेली संस्कृतिको हिस्सा हो। म आफैं पनि रुसलाई युरोपभन्दा अलग्गै देख्दिनँ। हामी युरोपको सभ्य संसारको अंश हौं। यस्तोमा नेटोलाई मेरो दुस्मनका रूपमा मान्नु निकै गाह्रो हुन्छ। यस्तो प्रश्न गर्नु पनि रुस र अन्य संसारका लागि राम्रो हुँदैन।
यस्ता प्रश्नले नोक्सान नै गर्छ।’ पुटिनले भनेका थिए, ‘रुस आफ्ना साझेदारहरूबाट बराबरी र न्यायसंगत सम्बन्ध बनाउन चाहन्छ। जुन साझा हितमा पहिलेदेखि नै सहमति छ, तीबाट अलग हुनु मुख्य समस्या हो। खासगरी अन्तर्राष्ट्रिय सुरक्षाका मुद्दा समाधान गर्न अहं छ। हामी बराबरीको सहयोग र साझेदारीका लागि तयार छौं। हामी नेटोसँग सहयोग गर्न त्यो बेला मात्र सक्छौं, जुनबेला हामीलाई पनि बराबरको साझेदारका रूपमा इज्जत दिइन्छ। तपाईंलाई थाहै छ, पूर्वतर्फ नेटो विस्तार हामीलाई मन परिरहेको छैन।’
सन् १९९९ देखि २००३ सम्म नेटोका महासचिव रहिसकेका बेलायती पूर्वरक्षामन्त्री जर्ज रबर्टसनले सन् २०२१ नोभेम्बरमा भनेका थिए, ‘पुटिन रुसलाई सुरुमा नेटोमा मिसाउन चाहन्थे तर सामेल हुनका लागि चाहिने सामान्य प्रक्रिया अपनाउन चाहँदैनथे। पुटिन समृद्ध, स्थिर र सम्पन्न पश्चिमको अंश बन्न चाहन्थे। उसो भए नेटोबाट उनी किन चिढिए त? रोबर्टसन भन्छन्, ‘एक पटक म पुटिनसँग थिएँ। उनले ‘हामीलाई नेटोमा सामेल हुन कहिले बोलाउँछौ?’ भने। मैले उनलाई भनें, ‘यसमा सामेल हुन नेटोले बोलाउँदैन। जो सदस्य हुने हो, उसले निवेदन दिनुपर्छ।’ पुटिनले भने, ‘म त्यो देश होइन कि निवेदन गरेर सामेल होऊँ।’ यसपछि नै पुटिन नेटोविरोधी भएको रोबर्टसनको बुझाइ छ। नेटोले पनि आफूलाई विस्तार गर्दै रुसलाई घेर्न थाल्यो। सन् २००४ मा शीतयुद्धपछि नेटोको विस्तार हुन थाल्यो। यो विस्तारमा एस्टोनिया, लिथुआनिया, लात्भिया, बुल्गेरिया, रोमानिया र स्लोभाकियाजस्ता देश सामेल हुन थाले।
सन् २००३ नोभेम्बरमा जर्जियामा गुलाबी क्रान्ति भयो र त्यो क्रान्ति पश्चिमा देशहरूको पक्षमा भएको थियो। उता सन् २००४ मा युक्रेनका सडकमा रुसी प्रभावविरुद्ध ठुलो संख्यामा मानिस प्रदर्शन गर्न थाले र त्यसलाई सुन्तले क्रान्ति भनियो। प्रदर्शनकारीले रुसको प्रभाव कम गर्दै आफ्नो भविष्य पश्चिमा मुलुकसँग देखिरहेका थिए, खासगरी युरोपेली संघमा सामेल हुने सपना देखिरहेका थिए। सन् २००९ मा क्रोएसिया र अल्बानियाले पनि नेटोमा आफ्नो नाता गाँसे। सन् १९९० फेब्रुअरी ९ मा अमेरिकाका तत्कालीन विदेशमन्त्री जेम्स बेकरले सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभलाई नेटो पूर्वी युरोपका देशतर्फ एक इन्च पनि बढ्ने छैन भनी आश्वस्त पारेका थिए।
अमेरिकी पूर्व कूटनीतिज्ञ जर्ज केननले भनेका थिए, ‘नेटोलाई शीतयुद्धका बेला विस्तार गर्नु अमेरिकाको सबैभन्दा ठुलो गलत विदेशनीति थियो। यस्तो धारणा राख्ने केनन मात्र एक्ला थिएनन्।’ सिनेटर एडवर्ड केनेडी, स्याम नुन, थोमस फ्रेडम्यानले पनि १९९० को दशकमा रुसलाई सामेल नगरी नेटो विस्तार गर्नु भनेको नयाँ शीतयुद्ध सुरु गर्नु हो भनेका थिए। ठिक यतिबेला संसार अर्को शीतयुद्धको तयारीमा छ र यस पटक रुससँगै चीन पनि अमेरिकाको विरोधमा देखिन्छ।
प्रख्यात पत्रिका यरुसलेम पोस्टका पूर्वसम्पादक तथा पुलित्जर पुरस्कार विजेता स्तम्भकार ब्रेट स्टिफेन्सले सन् २०२२ मार्च २९ मा न्यूयोर्क टाइम्समा लेखेका थिए, ‘दोस्रो शीतयुद्ध हामीले कसरी जित्न सक्छौं? पहिलो शीतयुद्धमा सोभियत युनियन र उसका उपग्रहहरूविरुद्ध अमेरिका र हाम्रा सहयोगीसँग एउटा गोप्य हतियार थियो। यो हतियार न त सिआइएले बनाएको थियो न त डिफेन्स एडभान्स्ड रिसर्च प्रोजेक्ट एजेन्सीको ल्याबबाट आएको थियो। यो हतियार कम्युनिज्म थियो।’
डिफेन्स एजेन्सी यस्तो अमेरिकी संस्था हो, जसले अमेरिकी सेनाका लागि नयाँ प्रविधिमा आधारित हतियार बनाउँछ। स्टिफेन्सले लेखेका थिए, ‘रुसी कम्युनिज्मका कारण पश्चिमले ठुलो सफलता पायो किनभने मुक्त बजारका सामु कम्युनिजम टिक्न सकेन। उनीहरूको नीति सोभियत युनियनभित्रै प्रभावहीन भइरहेको थियो। अब अमेरिकासँग त्यो हतियार रहेन।’ स्टिफेन्सका कुरा यतिबेला अझ सशक्त रूपमा बुझिन थालेको छ। रजनीश कुमार/बिबिसी हिन्दी
प्रकाशित: १३ माघ २०८१ ०७:२७ आइतबार