८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

सिरियामा अमेरिका, बेलायत र फ्रान्सको संयुक्त आक्रमण सुरु

अंकारा – सिरियामा अमेरिका, बेलायत र फ्रान्सले हवाई आक्रमण थालेका जनाइएको छ। 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शनिबार सिरियाको राजधानी सहर दमास्कस र यसको वरपरका क्षेत्रहरुमा आक्रमणका आवाजहरू सुनिएका छन्। 

ती सैन्य आक्रमणहरुले सिरियाली सरकारी कार्यालय र राष्ट्रपतीय कार्यालय वरपरका क्षेत्रहरूलाई लक्ष्य बनाएको देखिएको छ। 

शनिबारबाटै विशेषगरी सिरियाली राजधानीमा सुरु भएको यो आक्रमण अमेरिकी नेतृत्वमा सुरु भएको बताइएको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा हमलाका लागि आफूले अनुमोदन गरेको जानकारी दिएका छन्। उनले डुमामा सिरियाले रासायनिक हतियार राखेर आक्रमण गरिरहेकोले सो हतियार रहेको भण्डारणमा हमला गरेको बताए। 

उनले आफूहरुलाई बेलायत र फ्रान्सले पनि साथ दिएको र संयुक्त सेनाले सो हमला गरेको बताएका छन्। यी तीन देशका सेनाले संयुक्त रुपमा आक्रमण थालेका विश्वका सञ्चारमध्यमहरूले जनाएका छन्। 

आक्रमण शनिबार बिहानबाट मात्र सुरु भएकोले त्यसको क्षति र अन्य विवरणहरु भने प्राप्त भइसकेको छैन। तर दमास्कास वरपर सुनिएको ठूलो आवाज र आकासमा धुवाँको मुस्लोका कारण त्यहाँ ठूलो मात्रामा क्षति भएको अनुमान गरिएको छ। 

रासायनिक हतियार हमला गर्नेलाई कारबाही हुन्छ 
यसैबीच सिरियाको राजधानी दमास्कसनजिक रहेको पूर्वी गुटा क्षेत्रमा रासायनिक हतियारबाट हमला भएको हुनसक्ने अन्तर्राष्ट्रिय विज्ञहरुले जनाएका छन्। 

विज्ञहरुका अनुसार उक्त गुटा तथा विद्रोहीहरुको कब्जामा रहेको भनिएको अर्को क्षेत्र डुमामा पनि यस्ता हतियारहरुको आक्रमण भएको अनुमान गरिएका विवरणहरु आएका छन्। 

त्यस घटनाको अन्तर्राष्ट्रिय स्तरमा नै निन्दा भइरहेको छ। साथै यसमा संलग्नहरुलाई कडाभन्दा कडा कारबाहीका लागि संयुक्त राष्ट्रसंघलाई विशेष आग्रह गरिएको छ। 

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्तो हमला आतंककारी सरह हो भन्दै यस्तो अविवेकी हमलाका लागि सिरियाली राष्ट्रपति बसर अल असद जिम्मेवार रहेका बताएका छन्। 

यसका साथै उनले सिरियाली सरकारका साझेदारहरु राष्ट्रहरु रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरान पनि यसको दोषी हुन् भनेका छन्।
 
राष्ट्रपति ट्रम्पले, यस्तो क्रुर कार्यका लागि सिरियाली सरकार र उनीहरुका सहयोगीहरुले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएका छन् ।

हालैमात्र भएका भनिएका गुटा र डुमाका यी हमलाका कारण सयौँ मानिसको ज्यान गएको बताइएको छ। ती क्षेत्रमा ठूलो संख्यामा बालबालिका पनि निकै क्रुर रुपमा भएको हमलाको शिकार बनेका छन्। 

सिरिया सरकारले ठूलो मात्रामा यस्ता हतियारको प्रयोग जारी राखेकोले उसले यसका लागि ठूलो मूल्य चुकाउनुपर्ने धारणा विश्व समुदाय र संयुक्त राष्ट्रसंघले पनि राख्दै आएका छन्। 

प्रकाशित: १ वैशाख २०७५ ०५:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App