४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

विष आक्रमणमा परेकी रूसी गुप्तचरकी छोरी अस्पतालबाट डिस्चार्ज

लन्डन– बेलायतमा विष आक्रमणमा परेकी पूर्व रुसी गुप्तचर सेर्गेई स्क्रिपालकी छोरी युलिया स्क्रिपाल अस्पतालबाट डिस्चार्ज भएकी छन्।

३३ वर्षीया युलिया लन्डनको साल्सबरी जिल्ला अस्पतालबाट सोमबार डिस्चार्ज भएको र सुरक्षित ठाउँमा लगिएको बिबिसीले उल्लेख गरेको छ । उनको सुरक्षालाई मध्यनजर गर्दै बेलायतले सुरक्षित क्षेत्रमा लगेको बताइएको छ।

‘विष आक्रमणमा सख्त घाइते भएकी युलियाको यो पूर्ण उपचार नभए पनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ,’ युलियाको उपचारमा संलग्न अस्पतालले जनाएको छ ।
मार्च ४ का दिन बेलायतको राजधानी लन्डनस्थित साल्सबरीमा युलियासँगै विष आक्रमणमा परेका उनका ६६ वर्षीय बाबु भने अझै पनि अस्पतालमै रहेको र उनको स्वास्थ्यमा युलियाको तुलनामा सुस्त गतिमा सुधार भइरहेको बताइएको छ।

उनको उपचारमा संलग्न चिकित्सकहरुले उनी पूर्ण रूपमा स्वस्थ हुन केही समय लाग्ने बताएका छन् । नोभिचोक नामक विषालु पदार्थ प्रयोग गरेर आक्रमणमा परेपछि रुसका पूर्व गुप्तचर स्क्रिपाल बाबुछोरीलाई अस्पताल लगिएको थियो । साल्सबरीको केन्दमा रहेको एउटा पार्कको बेन्चमा बाबुछोरी घाइते अवस्थामा भेटिएका थिए । घाइते अवस्थामा बाबुछोरी भेटिएपछि घटनास्थल पुगेका विल्टसिर प्रहरी अधिकारी निक बेली पनि उक्त विषका कारण घाइते भएको र उनको पनि उपचारपछि डिस्चार्ज भइसकेको बताइएको छ।

गत साता युलिया स्क्रिपालको तर्फबाट जारी महानगरीय प्रहरीले जारी गरेको विज्ञप्तिमा आफ्नो स्वास्थ्यमा सुधार भइरहेको र आफूले दिन प्रतिदिन साहस बटुलिरहेको बताइएको थियो । युलियाका पिता सेर्गेई स्क्रिपालको पनि साल्सबरी जिल्ला अस्पतालमा उपचार भइरहेको र हाल उनी खतरामुक्त रहेको बिबिसीले उल्लेख गरेको छ।पूर्व रुसी गुप्तचर सेर्गेईको उपचारमा संलग्न चिकित्सक क्रिस्टिन ब्लानसार्डका अनुसार उनको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको छ । ‘छोरी युलियाभन्दा केही सुस्त गतिमा सेर्गेईको स्वास्थ्यमा सुधार भइरहे पनि उनको पनि चाँडै डिस्चार्ज हुनेमा हामी विश्वस्त छौं,’ चिकित्सक ब्लानसार्डलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

मार्च ४ का दिन रुसी गुप्तचर सेर्गेई र उनकी छोरी युलियामाथि भएको विष आक्रमणमा रुसको संलग्नता रहेको बेलायतले आरोप लगाउँदै आएको छ । बेलायती प्रधानमन्त्री थेरेसा मेले पनि उक्त आक्रमणमा रुसी आपराधिक गतिविधि भएको बताएकी थिइन् । सेर्गेई बाबुछोरीमाथि भएको विष आक्रमणमा आफ्नो देशको संलग्नता रहेको भन्ने बेलायतको आरोपलाई मस्कोले भने अस्वीकार गर्दै बेलायतले झुटो कथा तयार पारेको आरोप लगाउँदै आएको छ ।

यसैबीच युलिया अस्पतालबाट डिस्चार्ज भएको खबरलाई बेलायती प्रधानमन्त्री मेले स्वागत गर्दै उनको स्वास्थ्यमा तत्काल सुधार आओस् भनेर कामना गरेकी छन् । उता, रुसले पनि युलिया अस्पतालबाट डिस्चार्ज भएकोमा आफ्नो बेलायतस्थित दूतावासको ट्विटर अकाउन्टमार्फत् बधाई दिएको छ । उसले उनीमाथि के भएको थियो भन्नेबारेमा तत्काल प्रमाण चाहिएको पनि ट्विटमा उल्लेख गरेको छ ।रुसी नागरिक सेर्गेई बाबुछोरीमाथि भएको विष आक्रमणको विषयले रुस र पश्चिमा राष्ट्रबीचको कूटनीति सम्बन्धमा समस्या उत्पन्न भइरहेको छ ।

हालसम्म पश्चिमा राष्ट्रहरुले एक सय ५० भन्दा बढी रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरिसकेका छन् । पश्चिमा राष्ट्रको कदमको प्रतिक्रियास्वरुप मस्कोले पनि त्यस्तै कदम चालिरहेको छ । रुसी कूटनीतिज्ञलाई देशबाट निकाल्ने बेलायती कदम पछ्याउँदै २० भन्दा बढी युरोपेली मुलुकले पनि रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरिसकेका छन्।

रुसले भने पूर्व रुसी गुप्तचर सेर्गेई र उनकी छोरीमाथि भएको विष आक्रमणमा आफ्नो संलग्नता नभएको भन्दै संयुक्त अनुसन्धानमा जोड दिँदै आएको छ । सेर्गेई स्क्रिपाल रुसी सेनाको अवकाशप्राप्त गुप्तचर हुन्। उनलाई बेलायती गोप्य गुप्तचर सेवा ‘एमआइ १६’लाई युरोपमा गोप्य रूपमा काम गरिरहेका रुसी गुप्तचरको विवरण उपलब्ध गराएको आरोपमा मस्कोले अपराधी ठहर गरेको थियो।

उक्त आरोपमा उनलाई सन् २००६ मा १३ वर्ष जेल सजाय तोकिए पनि सन् २०१० एफबिआईले पक्राउ गरेका १० जना रुसी गुप्तरलाई साटासाट गर्ने कार्यक्रमअन्तर्गत रिहा गरिएको थियो । सेर्गेई स्क्रिपाल बेलायत र मस्कोको निरन्तर यात्रा गरिरहन्थे र विष आक्रमणमा पर्नुभन्दा अघिल्लो दिनमात्रै रुसबाट बेलायत फर्किएका थिए ।

 

प्रकाशित: २८ चैत्र २०७४ ०२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App