उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अहिले आणविक युद्धको ठूलो जोखिम भएको बताएका छन्। उनका अनुसार यसअघि यस्तो खत्तरा कहिल्यै देखिएको थिएन्।
नेता उनले यसका लागि उत्तर कोरियाप्रति अमेरिकाको आक्रामक र शत्रुतापूर्ण नीतिलाई दोष दिएका छन्। अमेरिकी नीतिहरू कहिल्यै परिवर्तन हुन नसक्ने उनको भनाई छ।
उत्तर कोरियाको सरकारी मिडिया केसीएनएलाई उल्लेख गर्दै बीबीसीले भनेको छ, ‘किम जोङ उनले बिहीबार एक सैन्य प्रदर्शनीमा भने–कोरियाली प्रायद्वीपमा युद्धमा संलग्न पक्षहरूले यसअघि कहिल्यै यस्तो खतरनाक संघर्षको सामना गरेका थिएनन्। यो अहिलेसम्मकै सबैभन्दा विनाशकारी थर्मोन्यूक्लियर युद्ध (आणविक युद्ध) मा परिणत हुन सक्छ।’
उनले अगाडि भने, ‘उत्तर कोरियाले अमेरिकासँगको वार्तामा सकेसम्म अघि बढेको छ।’ तर अमेरिकी नीतिमा परिवर्तन नआउँदा आणविक युद्धको खत्तरा बढेको उनको भनाई थियो। उत्तर कोरिया र रुस घनिष्ठ भइरहेका बेला उनको यस्तो टिप्पणी आएको हो।
प्रकाशित: ८ मंसिर २०८१ ०६:३८ शनिबार