८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

प्यालेस्टिनी पत्रकार मारिए

गाजा सहरको पूर्वतर्फ रहेको गाजा–इजरायल सीमा क्षेत्रमा इजरायली सुरक्षा फौजसँग भइरहेको झडपमा आफ्नो अनुहार छोपेका चिकित्सक र प्रदर्शनकारी । तस्बिर : एजेन्सी

जेरुसेलम – इजरायल–गाजा सीमा क्षेत्रमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनको समाचार संकलन गर्दै गर्दा इजरायली सुरक्षा फौजबाट प्रहार भएको गोली लागी घाइते भएका एक प्यालेस्टिनी पत्रकारको शनिबार मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीले जनाएका छन्।

विगत एक सातादेखि भइरहेको इजरायल–गाजा क्षेत्रको प्रदर्शनमा मारिनेमा प्यालेस्टिनी ऐन मिडियाका ३० वर्षीय क्यामेराम्यान यासर मुर्ताजा २९औं व्यक्ति हुन्।

घाइते भएर स्ट्रेचरमा सुतिरहेको मुर्ताजाले कालो ठूलो अंग्रेजी अक्षरमा ‘प्रेस’ लेखिएको गाढा निलो रंगको रक्षात्मक भेस्ट लगाएको तस्बिर सार्वजनिक भएका छन्। प्यालेस्टिनी स्वास्थ्य अधिकारीका अनुसार उनको पेट छेडेर गोली बाहिर निस्केको थियो र उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको थियो।

समाचार संकलन गरिरहेको पत्रकारलाई गोली लागेको विषयमा अनुसन्धान भइरहेकाले तत्कालै यस विषयमा थप प्रतिक्रिया जनाउन नसक्ने इजरायली सेनाका प्रवक्ताले जानकारी गराएका छन्।

‘द ग्रेट मार्च अफ द रिटर्न’ नाम दिइएको पछिल्लो प्रदर्शन इजरायल–गाजा क्षेत्रमा मार्च ३० देखि सुरु भएको हो। राज्यका रूपमा इजरायल गठन हुँदा भागेका वा निकालिएका प्यालेस्टिनी शरणार्थीलाई ती गाउँहरु वा सहरमा फर्किन दिनु पर्ने अधिकार माग गर्दै प्रदर्शन सुरु भएको थियो।

सीमामा अशान्ति फैलाउन नदिन वा सुरक्षाका लागि लगाइएका तारबार तोड्न नदिनका लागि इजरायलले इजरायल–गाजा क्षेत्रमा सार्पसुटरहरु तैनाथ गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

मुर्ताजालाई गोली लाग्दा आफूसँगै रहेको बताउने स्वतन्त्र फोटो पत्रकार असरफ अबु अम्राका अनुसार उनले हेल्मेट र रक्षात्मक भेस्ट लगाएका थिए। अबुका अनुसार मुर्ताजा र उनी दुवै जना पत्रकार भनेर प्रष्टै चिनिन्थे।

‘युवाहरुले टायर बालेको हामीले खिचिरहेका थियौं । हामी सीमा घेराबाट करिब दुई सय ५० मिटर पर थियौं,’ अबु अम्रालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। ‘इजरायली फौजले गोली हान्न सुरु ग¥यो र प्रदर्शनकारीहरु घाइते हुने क्रम सुरु भयो। मुर्ताजा र म दुवै जना घाइतेहरुको अवस्थालाई क्यामेरामा कैद गर्न कुद्दै थियौं, त्यत्तिकैमा मुर्ताजा भुईमा लडे,’ उनले बताए।

‘मुर्ताजा तिमी ठिक छौं भनेर मैले कराएँ तर उनले केही प्रतिक्रिया दिएनन्। ठिक त्यही बेला मैले उनको शरीरमुनि रगत बगिरहेको देखें। मलाई लाग्यो उनी सख्त घाइते भएका छन् र उनीहरुलाई मानिसहरुले लगे,’ अबु अम्राले बताए।

सार्वजनिक भएको भिडियो फुटेजमा मुर्ताजालाई भीडबीचमै रहेको एम्बुलेन्समा राखिएको र प्रदशर्नकारीले बालेको कालो धुवाँको मुस्लो आइरहेको देखिएको छ। घटना दक्षिणी गाजापट्टीको खान योनिसको पूर्वतर्फ भएको बताइएको छ।

इजरायली सुरक्षाकर्मीको गोलीले मृत्यु भएको पत्रकार मुर्ताजा विवाहित रहेको र उनको दुई वर्षीय छोरो रहेको बताइएको छ। उनको शनिबार नै अन्तिम अन्त्येष्टि गरिएको र अन्त्येष्टिमा कैयौं पत्रकारसहित सयौं शोकाकुल व्यक्ति सहभागी रहेको रोयटर्सले जनाएको छ। उनको पार्थिव शरीरमाथि प्यालेस्टिनी झण्डा ओढाइएको र उनको अन्तिम बिदाईका लागि गाजा सहरको सडकबाट उनको घरमा ल्याइएको उनको प्रेस ज्याकेट शवसँगै राखिएको थियो।

‘मैले उसको लागि नास्ता तयार पारिदिएको थिएँ, उसले छिटो छिटो खायो, ऊ काममा जानका लागि हतारमा थियो,’ पत्रकार मर्ताजाकी आमा युस्रालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

अज्ञात स्रोतलाई उद्धृत गर्दै इजरायली रेडियोले जनाएअनुसार मर्ताजाले शुक्रबार ड्रोन क्यामेरा सञ्चालन गरिरहेका थिए । इजरायलको यस्तो भनाइको खण्डन गर्दै अबु अम्रा र अन्य दुई प्यालेस्टिनी पत्रकारहरुले गोली लाग्दा उनले ड्रोन क्यामेरा सञ्चालन नगरेको जिकिर गरेका छन्।

प्रकाशित: २५ चैत्र २०७४ ०७:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App