coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

संयुक्त अनुसन्धान गर्ने रुसी प्रस्ताव ‘जिद्दीपन’ : बेलायत

बेलायतको साल्सबरीमा रहेको पूर्व रुसी गुप्तचर सेर्गेई स्क्रिपालको घरलाई सुरक्षा प्रदान गर्दै सुरक्षाकर्मी। तस्बिर : एजेन्सी

लन्डन – बेलायतको राजधानी लन्डनको साल्सबरीमा एक पूर्वरुसी गुप्तचर र उनकी छोरीमाथि गत महिना भएको विष आक्रमणबारे संयुक्त रूपमा अनुसन्धान गर्नेबारे रुसले राखेको प्रस्ताव ‘जिद्दीपन’ भएको बेलायतले जनाएको छ।

पूर्व रुसी गुप्तचर सेर्गेई स्क्रिपाल र उनकी छोरीमाथि मार्च ४ मा भएको विष आक्रमणका विषयमा छलफल गर्नेबारे मस्कोले आग्रह  गरेबमोजिम ‘ग्लोबल केमिकल विपन्स वाचडग’ मा भएको आपतकालीन बैठकमा बुधबार बेलायती प्रतिनिधिमण्डले यस्तो धारणा राखेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

बेलायतको साल्सबरी सहरमा पूर्व रुसी गुप्तचर स्क्रिपाल र उनकी छोरी युलियामाथि सैन्य ग्रेडको विष आक्रमणमा भएको र त्यसको पछाडि मस्कोको हात रहेको भन्ने बेलायतको आरोपलाई प्रतिक्रिया दिनका लागि मस्कोले ‘ग्लोबल केमिकल विपन्स वाचडग’को नीति निर्माण गर्ने कार्यकारी बैठकको आयोजना गरेको थियो।

उक्त बैठकमा सहभागी भएको बेलायती प्रतिनिधिमण्डलले गरेको ट्विटमा विष आक्रमणको विषयमा संयुक्त अनुसन्धान गर्ने मस्कोको प्रस्ताव जिद्दीपनको उपज र उसको चतुर चाल भएको तथा रुसी प्रशासनले थुप्रै प्रश्नको उत्तर दिनुपर्ने विषय उजागर भएको बताइएको छ। संयुक्त अनुसन्धान गर्नेबारे रुसले राखेको प्रस्ताव युरोपेली संघले पनि खारेज गरिदिएको छ। रुसको यस्तो प्रस्ताव ४१ सदस्य राष्ट्र रहेको ‘अर्गनाइजेसन फर द प्रोहिबिसन अफ केमिकल विपन्स (ओपिसिडब्लू)’को कार्यकारी समितिले पास गर्नुपर्ने प्रावधान भएकाले तत्काललाई यस्तो प्रस्ताव पास हुन असम्भव रहेको कूटनीतिज्ञहरुले जनाएका छन्।

उता, रुसले भने आफ्नो प्रस्तावमा ४१ मध्ये १४ राष्ट्रको समर्थन रहेको बताएको छ। ‘हामी यो समस्या अर्गनाइजेसन फर द प्रोहिबिसन फर केमिकल विपन्सको क्षमताभित्र रहेर कानुनी तबरमै समाधान हुनुपर्ने विषयमा महत्व दिइरहेका छौं,’ उक्त संस्थाका लागि रुसी प्रतिनिधि एलेक्सान्डर सल्गिनलाई उधृत गर्दै रुसी समाचार एजेन्सी ‘टिएएसएस’ले जनाएको छ। शीत युद्धपछि पूर्व–पश्चिम सम्बन्धलाई खराब बनाएको विषयको समाधानका लागि ओपिसिडब्लूले एउटा मार्गचित्र बनाउने पर्ने रुसी राष्ट्रपतिले मंगलबार बताएका थिए।

बेलायतमा बसिरहेका रुसका पूर्व गुप्तचर र उनकी छोरीमाथि भएको विष आक्रमणमा मस्कोकै संलग्नता रहेको आरोप लागेपछि पश्चिम र पूर्वी युरोपबीच कूटनीतिक समस्या उत्पन्न भएको छ। सुरुमा बेलायतले २३ रुसी कूटनीतिज्ञ मस्कोको गुप्तचर निकायको प्रतिनिधि भएको भन्दै देशबाट निकाल्ने घोषणा गरेपछि बेलायतकै बाटो पछ्याउँदै अमेरिकासहित युरोपका २० भन्दा बढी राष्ट्रले सय बढी रुसी कूटनीतिज्ञलाई आफ्नो देश छोड्न निर्देशन दिइसकेका छन्। पश्चिमी राष्ट्रहरुको यस्तो कदमको प्रतिक्रियास्वरुप रुसले पनि ती राष्ट्रका कैयौं कूटनीतिज्ञलाई मस्को छोड्न आदेश दिइसकेको छ।

हाल रुस र पश्चिमा राष्ट्रबीच बदला लिने, जस्तालाई त्यस्तैको व्यवहार गर्ने परिपाटी बढ्दो छ।

बेलायतमा बसिरहेका पूर्व रुसी गुप्तचर र उनकी छोरीमाथि भएको विष आक्रमणमा आफ्नो देशको संलग्नता रहेको भन्ने बेलायतलगायत पश्चिमा राष्ट्रको आरोप रुसले भने अस्वीकार गर्दै आइरहेको छ। उसले बेलायतले पश्चिममा रुसविरोधी भावनालाई बढावा दिइरहेको आरोपसमेत लगाउँदै आएको छ। सन् १९९७ मा भएको रासयानिक हतियार सम्मेलनको निष्कर्षलाई निरीक्षण गर्ने ओपिसिडब्लूले साल्सबरीमा भएको आक्रमणको नमूना संकलन गरेको छ र दुईवटा प्रयोगशालामा परीक्षण गरेर अर्को सातासम्ममा निष्कर्ष दिने बताएको छ।

ओपिसिडब्लूको बैठकमा सहभागी भएका रुसी प्रतिनिधि सल्गिनले यसअघि साल्सबरीबाट संकलन गरिएको विषको नमूना परीक्षणका बेला संलग्न नबनाए ओपिसिडब्लूको अनुसन्धानको निष्कर्ष स्वीकार नगर्ने बताएका थिए।

प्रकाशित: २२ चैत्र २०७४ ०३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App