४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

रासायनिक हतियार प्रयोग भएको पुष्टि

सिरियाको पूर्वी गुटास्थित दोमा सहरमा युद्धका कारण भत्किएको भग्नावशेष नजिकैबाट साइकल डोहोर्याउँदै एक मानिस । तस्बिर : रोयटर्स

बेरुत– सिरियामा जारी द्वन्द्वका क्रममा सरकारी सेनाबाट रासायनिक एवं घातक हतियारको प्रयोग गर्दै विद्रोहीविरुद्ध आक्रमण भएको पुष्टि भएको छ।

सिरियाली गृहयुद्धका सुरुवाती दिनहरुमा विद्रोहीले पनि केही स्थानमा सरकारी सेनामाथिको हमलाका क्रममा यस्ता हतियार प्रयोग गरेको भए पनि पछि अधिकारवादी तथा संयुक्त राष्ट्रसंघको आग्रहका कारण विपक्षी विद्रोहीहरुले भने त्यस्तो कार्य रोकेका थिए ।
सरकारी पक्षले रासायनिक हतियार प्रयोग गरेको बारेमा छानबिन गर्नका लागि नयाँ समिति गठन गरेका बताइए पनि हालसम्म कुनै कारबाही नभएको भए पनि त्यस विषयमा प्रमाण जुटाउने काम भने भएको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् ।

  ‘सन् २०१४ बाट सुरु भएका यस्ता आक्रमणमध्ये कम्तीमा पनि ७० वटा आक्रमणमा घातक रासायनिक हमला भएको पाइएको छ,’ रासायनिक हतियारको उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाउन बनेको एउटा संगठन ‘ओपिसिडब्ल्यु’ले गरेको अनुसन्धानमा भनिएको छ । उक्त संस्थाले सन् २०१४ देखि यस्तो हमलाको बारेमा अनुसन्धान थालेको र अनुसन्धानका क्रममा सूचनामा आएका तीन सय ७० वटा आक्रमणका घटनामध्ये ७० वटामा यस्तो घातक पदार्थ प्रयोग गरेको पाइएको जनाएको छ ।  

 सरकारी फौजले गर्ने विद्रोहीविरुद्धयस्ता कारबाहीमा विभिन्न घातक प्रकृतिका ग्यासको प्रयोग भएको अनुसन्धानमा संलग्न राष्ट्रसंघीय अधिकारीले जनाएका छन् ।

 रासायनिक हतियारको प्रयोग गरी नागरिकमाथि घातक हमला गरिएको भन्दै यसले पर्न सक्ने नकारात्मक प्रभावका लागि सरकारलाई कारबाही गर्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको थियो ।  ती हातहतियार र घातक ग्यासको प्रयोग भएको बारेमा अनुसन्धान र निरीक्षण गर्न राष्ट्रसंघले नै एक संयन्त्रको स्थापना गरेको थियो । अनुगमनका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले पनि अनुसन्धान संयन्त्र बनाएको छ ।

  सिरियाली गृहयुद्धको सुरुका केही वर्षमा सरकारी सेनाले विद्रोहीलाई आक्रमण गर्दा यस्ता घातक हतियारको प्रयोग गरेको भन्दै व्यापक मात्रामा गुनासो आएको थियो ।  सो विषयमा केही वर्षअघि नै विज्ञ टोली गठन गरी अनुसन्धान गर्न खोज्दा सिरियाली सरकारले दिएको थिएन । अहिले पनि सिरियाली सेनाले गरेका हमलामा अनुसन्धान गर्न मानवअधिकारवादीको पहुँच कम हुने गरेको छ । विगतदेखि नै यस विषयको अनुसन्धान प्रभावकारी रुपमा अघि बढ्न नसकेपछि राष्ट्रसंघले विभिन्न समयमा टोली नै गठन गरेर अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित: २० चैत्र २०७४ ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App